गृहपृष्ठ » चर्चाका चार » चैत्र महिनाका चर्चित व्यक्तिहरु

चैत्र महिनाका चर्चित व्यक्तिहरु

 Posted by Itahari Fm | error | २७४ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार जनालाई यहाँ प्रस्तुत गर्ने गरिन्छ । सार्वजनिक स्थल, कार्यक्रम अनि विभिन्न सञ्चार माध्यममा आएका समाचारका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
चैत्र महिना पनि उतार चढावमै वित्यो । आसन्न बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनले बढि चर्चा पायो । स्थानिय तहको निर्वाचनमा मेयर, उपमेयर र विभिन्न वडाध्यक्षका आकाक्षी देखिए । यो चर्चामा व्यक्ति भन्दा पनि पाटिको चर्चा बढि भयो । कुन पाटिले कुन नेतालाई मेयरमा वा उपमेयरमा उठाउँदै छ भन्ने सवैको चासो र चर्चाको विषय बन्यो ।
राजनितिक चर्चासँगै इटहरीमा अर्को सामाजिक विषयले पनि निकै चर्चा पायो । त्यो हो इटहरीको फोहोर व्यवस्थापन । फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको इन्भारो केयर प्रा.लिले फोहोर उठाउन छाडेर उल्टै करिव ९ करोड क्षतिपूर्ति माग गरेपछि यो विषय एकाएक चर्चामा आयो । काम पनि राम्रो नगर्ने अनि उल्टै सम्झौताको समय सकिन लाग्दा ठुलो परिमाणमा क्षतिपूर्ति माग गरेपछि इटहरीबासी त्रसित भए । चुनाब केन्द्रित भएका राजनितिक दल यस बिषयमा तैँ चुप मै चुप देखिए ।
चैत्र महिनामै आयोजना गरिएको क्षेत्रीय स्तरको प्रथम अन्डर १९ क्रिकेट प्रतियोगिताले पनि चर्चा पायो । इटहरी क्रिकेट एकेडेमीले आयोजना गरेको क्रिकेटले पनि निकै चर्चा पायो ।
यी र यस्तै चर्चाहरु भए चैत्र महिनामा । तर अन्य चर्चा मध्ये राजनितिक चर्चा नै धेरै भयो । त्यसमा पार्टी भित्रका व्यक्तिको बढि चर्चामा भयोे । कुन पाटिले कसलाई मेयर पदमा उठाउँदै छ भन्ने सवैको खोजीको विषय बन्यो । २० बर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा कुन पाटिले बाजी मार्ने भन्ने चर्चाले प्राथमिकता पायो । चर्चामा आएका पाटि र तिनका चर्चित नेताहरुलाई यस पटक चर्चाका चारमा प्रस्तुत गरिएको छ ।
नेकपा एमाले
एमाले इटहरीको मजबुत संगठनवाला पार्टी हो । इटहरीमा उसका तिन हजार भन्दा बढि संगठित सदस्य छन् । हरेक टोलमा पार्टी र भातृसंगठनका टोल कमिटी छन् । यी सबै संगठन परिचालन गर्ने र आफ्नो विरासत कायम राख्ने एमालेको तयारी छ । तर लामो समय चुनाब नभएकाले नेताको जाम लागेको छ । पार्टी भित्र गुटबन्दी पनि छ महत्वकाक्षा पनि छ । यी विविध कारणले एमालेलाई उमेद्ध्वार छान्नै कठिन भएको छ । २० बर्ष अघि मेयर भएका सर्बध्वज साँवादेखि पार्टीको जिल्ला अध्यक्ष भैसकेका द्वारीकलाल चौधरी मेयरको दौडमा छन् । विगतमा एमालेले नै जितेको ठाँउ र संगठन पनि राम्रो भएकाले पार्टीबाट टिकट लिन सके फ्याट्टै मेयर भै हालीने ठानेर अहीले पार्टी भित्र टिकटकालागि कडा प्रतिष्पर्धा चलेको छ । ५४ सालको चुनाबमै मेयरका आकांक्षी भएका अहिलेका नगर इन्चार्ज राम प्रसाद चौलागाइ र पुर्व नगर अध्यक्ष याम सुब्बा पनि मेयरको टिकट लिने प्रतिष्पर्धामा छन् । चार जना प्रतिष्पर्धी मध्ये अहिले द्धारिक चौधरी र राम प्रसाद चौलागाइ मध्ये एक जना हुने बढि चर्चा छ । युवा र बौद्धिक सर्कलले रामप्रसाद चौलागाइको नाममा सहमति जुटाउने पहल गरेका छन भने जातीय कुरा उठाउनेहरुले थारु समुदायको बाहुल्य रहेको ठाँउ भन्दै द्धारीक चौधरीलाई साथ दिएका छन् ।
२० बर्ष अघि एमालेले जिते पनि अहिले एमालेलेनै जित्ने त्यस्तो कुनै ठोस आधार छैन । इटहरी पहाडे मानिसहरु बसाइ सर्दै आएर भरिएको शहर हो । यहाँ विभिन्न विचारका मानिस आएका छन्, त्यसैले खानेपानीको चुनाव र २० बर्ष अघिको इतिहास काम लाग्दैन, चुनाव जित्न योग्य व्यक्ति चाहिन्छ भन्नेहरु पनि छन् । काँग्रेसले दह्रो उम्मेद्धवार अघि सारी दियो भने हारिन्छ की भन्ने एमाले भित्र त्रास पनि देखिएको छ र एमाललेले थारु समुदायको सहानुभुती प्राप्त गरेर चुनाव जित्ने दाउमा द्धारीकलाई अघि सार्दै छ भन्ने चर्चा पनि सुनिन्छ । हार्ने मानसिकता नभएको भए जातीयताको विरोध गर्ने एमालेले जातीय रुपमा उम्मेरद्धार खोज्ने थिएन भन्ने चर्चा पनि छन् । जे होस इटहरीमा पछिल्लो समय द्धारीक र रामप्रसादको चर्चा छ । र सँगसँगै केही एमाले कार्यकर्ताले रेवती भण्डारीको पनि नाम चर्चामा ल्याएका छन । अन्य पाटि वीच एलायन्स हुन सक्ने र त्यसलाई जित्नका लागि भण्डारी चाहिने तर्क गर्ने हरु पनि छन् ।
एमालेमा उपमेयरका लागि पनि आकाक्षीहरु उत्तिकै देखिएका छन् । लक्ष्मी गौतम, विष्णु शर्मा नेपाल, अमृता सुब्बा तिव्र आकाक्षी देखिएका छन् । हुन त लक्ष्मी गौतमले आफुलाई मेयरकै दावी गरेकी हुन्, तर त्यो विषय ओझेल पर्दै उपमेयरमा पुगेको हो । एमालेमा उम्मेद्धार छान्ने देखि लिएर आफ्नो साख जोगाउन सकस परेको खवरले इटहरीमा राम्रै चर्चा पायो ।

नेपाली काँग्रेस
इटहरीमा लामो समयदेखी कायम एमालेको बश्र्चव तोड्ने पार्टीको रुपमा काँग्रेसको चर्चा भएको छ । काँग्रेसले उम्मेद्धवार छनौटमा बुद्धि पुर्यायो र एक ढिक्का भएर चुनावमा होमियो भने जित्न सक्ने आँकलन भैरहेका छन् । काँग्रेसले कसलाई मेयरको टिकट दिन्छ ? र भावनात्मक रुपमै कतिको मिलेर जान्छ ? परिणाम त्यसैमा भर पर्ने चर्चा हुने गरेको छ । इटहरीको मेयर पदमा नेपाली काँग्रेसमा पनि आकाँक्षी धेरै देखिएका छन् । नेपाली काँग्रेसमा मेयरका लागि २ नम्बर क्षेत्रीय सभापति मणिराम श्रेष्ठ, नगर सभापति हेमकर्ण पौडेल र इटहरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रोहित प्रसाई चर्चामा आए । उपमेयरमा काँग्रेसकी जिल्ला सदस्य विमला ढकाल र महाधिबेसन प्रतिनिधी गिता श्रेष्ठको नाम चर्चामा रहेको छ । हेमकर्णले मेयरको टिकट पाए उपमेयरमा गिता श्रेष्ठ हुने र रोहित प्रसाई वा मणिराम श्रेष्ठले मेयरको टिकट पाए विमला ढकाल उपमेयरको उम्मेरद्धवार हुने चर्चा छ ।
राप्रपा
इटहरीमा राष्ट्रिय प्रजातान्त्र पाटिको पनि चर्चा छ । दुई राप्रपाको एकीकरणले पाटिको प्रभाव राम्रो भएको विश्लेषणहरु भएका छन् । इटहरीको खनार, पकली, एकम्बा, साविक इटहरीका केही वडामा राप्रपाको राम्रो प्रभाव छ भन्ने चर्चाहरु बजारमा आएका छन् । त्यसमा पनि विशेष गरी रामकुमार सुब्बाको थारु, मुसलमान लगायतका जातिमा राम्रो प्रभाव रहेको पाईन्छ ।
अन्य ठुला पार्टिहरु राप्रपासँग एलायन्स गरेर आफ्नो जित सुनिश्चित गर्न पनि चाहिरहेका चर्चा छ । राप्रपामा अन्य पाटिमा जस्तो पदका लागि धेरै आकाक्षी देखिएका छैनन् । राप्रपाले अन्य पाटिले जस्तो हो हल्ला र खैला वैला गरेको छैन । उ मौन बसेर दाउ खोजी रहेको देखिन्छ ।
राप्रपाले यस अघि नै मेयरका लागि खनारका रोहीत कार्कीको नाम अघि सारेको छ । उपमेयरमा भने पूर्व उपमेयर गितानिधि रायमाझीकी श्रीमतिको नाम आएको छ । अन्तिम समयमा आएर राप्रपा कुनै पाटिसँग एलायन्स गरेर उपमेयर लिन सक्ने विश्लेषण तथा आशंकाहरु गरिएका छन् । जेहोस इटहरीमा शक्तिको हिसाबले राप्रपा तेस्रो शक्तिको रुपमा देखिएको छ ।
माओवादी केन्द्र
अघिल्लो चुनावमा आफ्नो शक्ति गुमाएको माओवादीले इटहरीमा कसरी आफ्नो शक्ति जगाउने हो भन्ने चर्चाहरु इटहरीमा हुने गरेको छ । पहिलो पटक स्थानिय तह लड्दै गरेको माओवादी केन्द्र यस पटक जसरी पनि मुख्य पदमा पुग्ने दाउमा छ । इटहरीमा विगत देखि नै एमालेको दवदवा र त्यसलाई तोड्न खोज्ने काँग्रेसका वीचबाट माओवादी केन्द्र अगाडि जाने दाउमा रहेको चर्चा छ ।
इटहरीको मेयरका लागि माओवादी केन्द्रबाट आकाक्षीहरुको रुपमा धेरैको नाम चर्चामा आएको छ । नगर अध्यक्ष सागर सुवेदी र सरस्वति पोख्रेल (शारदा)को नाम चर्चामा छ । यी नाम मध्ये सागर सुवेदीको नाम बढि चर्चामा छ । माओवादी केन्द्र पहिले पहिचानवादीसँग एलायन्स गर्ने र अन्तिम समयमा आएर कुनै एउटा पाटिसँग एलायन्स गरेर उपमयर जित्ने दाउमा रहेको छ । यस्तो परिस्थिती बनेमा सागर सुवेदी उपमयेर हुन सक्ने चर्चाहरु बजारमा आईरहेका छन् । शक्ति समिकरण र प्रभावका हिसाबले हेर्दा माओवादी केन्द्र अहिले चौथो शक्तिको रुपमा देखिएको छ । एलायन्स गरेर भएपनि पद लिने उसको दाउ रहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




दील्लीमा बोल्दै देउबा

Like us on Facebook