गृहपृष्ठ » इटहरी अपडेट » अनुगमनको हाँउगुजी, सांसदकै फोन आए पछि अधिकृत नै गायब

अनुगमनको हाँउगुजी, सांसदकै फोन आए पछि अधिकृत नै गायब

 Posted by Itahari Fm | error | १८० पटक

बजार अनुगमन समय समयमा व्यापारीका लागि हाउँगुजी मात्रै हुने गरेको छ । सोमबार इटहरीमा गरिएको बजार अनुगमन यस्तै भयो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग काठमाण्डौबाट आएका दुई शाखा अधिकृत त्यतिकै संख्यामा प्रहरी लिएर बजार अनुगमन गर्दै गरेको भेटिए । इटहरीको हटिया लाईन स्थित शिव शंकर ट्रेड्समा आफुलाई आपूर्ति मन्त्रालय अन्र्तगतका शाखा अधिकृत बताउने लोक बहादुर कार्की अर्का एक अधिकृतसहित अनुगन गर्दा भारतीय ब्राण्डको कम तौल भएको, उत्पादन मिति नलेखिएको चामल भेटियो । अन्य केही सामानहरु पनि त्यस्तै भेटिए ।
चाचा चौधरी ब्राण्डको चामल २५ केजीको बोरामा १ सय ५० ग्राम कम भेटियो । यस्तै भारतीय ब्राण्डकै अर्को एक चामल पनि उस्तै भेटियो । दुवै चामल गोदाममा २५ । ३० बोरा थिए । अधिकृत कार्कीले अव चामल जफत गर्ने बताए । यस्तो कैफियत देख्दादेख्दै त्यसै छाड्न नसकिने भन्दै प्रहरीलाई गाडिमा चामल लोड गर्न निर्देशन दिए । त्यतिबेलै पसलकी सञ्चालिका गिता साह आईपुगिन र चामल नलान भन्दै झगडा गर्न लागिन । त्यति बेला सम्म सडकमा भिडभाड जम्मा भई सकेको थियो । अनुगमनमा आएका अधिकृत कार्की आत्तिन थाले । आत्तिएका अधिकृत सडकको अर्को किनारमा बसेर सुनसरीका सिडिओलाई फोन गर्न थाले । त्यो भन्दा अघि उनले इटहरीका डिएसपी नरेसराज सुवेदीलाई थप बल पठाईदिन भन्दै फोन गर्न भ्याईसकेका थिए ।
त्यति नै बेला इटहरीका एक व्यवसायी,उपमहानगरपालिका कर्मचारीसँगै थिए । मोबाइलमा बोल्दै गरेका ति व्यक्तिले अधिकृतलाई बोल्न भन्दै फोन दिए । अधिकृतले को भने ? यस क्षेत्रको सांसद, फोन दिने व्यक्तिले भने । सांसदकै फोन आए पछि अधिकृतको अनुहार रातोपिरो भयो । सांसदले के भने बुझिएन । तर अधिकृतले आत्तिदै म मिलाएर गर्छु हजुर । मिलाएरै गर्छु, म व्यवासायीलाई दुःख दिन्न, हजुर भने ।
त्यसै पनि आत्तिएका अधिकृत सांसदकै फोन आएपछि सातो गयो । त्यतिबेलै सुनसरीका सिडियोको फोन आयो १ सय ५० ग्राम कम रहेछ अहिलेलाई छाड्दिनु भन्ने आदेश आयो भन्दै अधिकृतले त्यहि अनुसार गर्न निर्देशन दिए । फिल्मी शैलीमा झैँ देखिने दृष्यहरु एकपछि अर्को गर्दै भईरहेको थियो ।
यति भईसक्दा इटहरीका व्यापारीको भिड लागिसकेको थियो । उद्योग वाणिज्य संघको प्रतिनिधि भन्दै राजेन्द्र केशरी घिमिरे आए । हामीलाई थाहै नदिई अनुगमन गर्ने भन्दै अधिकृतसँग झर्किन थाले । म पनि उद्योगी हुँ मलाई पनि थाहा हुन्छ के के गर्नुपर्छ भन्दै अधिकृतसँग समन्वय नगरेको भन्दै कराउँदै थिए ।
आफुलाई थाहा नभई आएको बताउने उपमहानगरपालिका कर्मचारीले उपमहानगरपालिकासँग समन्वय नगरेको बताए । पसलका सञ्चालक भरत साहका अनुसार उनले ति भारतीय ब्राण्डका चामलहरु इटहरीकै न्यू दुर्गा स्टोर इटहरीबाट ल्याएको बताउँदै बिल देखाए । दुहबीको सेन्चुरी मिलले सवै व्यापारीहरुलाई भारतीय ब्राण्डका चामलहरु विक्रि गर्ने गरेको सञ्चालक साहले बताए ।
यी सवै दवाव खेप्न नसकेका ति अधिकृत अर्को ठाउँमा जाने भन्दै बा २ झ २१३८ नम्बरको सरकारी गाडि चढे र टाप कसे ।
अधिकृतको शंकालु व्यवहार ।
आपूर्ति मन्त्रालयका अधिकृत बताउने लोक बहादुर कार्की धरानमा आयोजना गरिएको एक कोठे कार्यक्रमका लागि आएका थिए । आईतबार कार्यक्रम सम्पन्न भएको थियो ।सोमबार खाली समयको बेला अनुगमनमा निस्किएको उनी बताउँदै थिए । सोमबार धरान बन्द हुने भएकाले टोली बजार अनुगमन गर्ने भन्दै इटहरी आएको थियो ।
बजार अनुगनका लागि स्थानिय जिम्मेवारी पाएका निकायसँग उनले कुनै समन्वय गरेका थिएनन् । इटहरीका २ जना प्रहरी लिएर उनी बजार अनुगमनमा निस्किएका थिए । बजार अनुगमनको प्रमुख जिम्मेवारी पाएको घरेलु कार्यालयका कुनै प्रतिनिधि उनीसँग थिएनन् । उनले सामान्य जानकारी मात्र गएको भन्दै थिए । यता सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पनि उनले राम्ररी जानकारी नगराएको उनको लगातारको फोन कुराकानीबाट स्पष्ट हुन्थ्यो ।
बजार अनुगमन जानकारी गराए त पक्कै हुँदैन तर जानकारी गराउनु पर्ने र समन्वय गर्नुपर्ने निकायसँग पनि उनले कुनै समन्वय नगरेको देख्दा उनको कार्यशैली निकै शंकालु थियो । कार्यक्रमका लागि तराई झरेका बेला यसो गोजी पनि भरि पो हाल्छ कि भन्ने आंशका गर्ने थुप्रै ठाउँ उनको व्यवहारमा देखिएको थियो ।
अपेक्षै नगरेको व्यवसायीको दवाव, प्रमुख जिल्ला अधिकारीको आशा विपरित निर्देशन र सांसदकै फोन खेप्नुपरे पछि अधिकृत कार्की अनुगमन नै छाडेर भाग्नुपर्ने अवस्था आएको थियो ।
व्यवसायीको त्रसित मानसिकता
सामान्य बजार अनुगमनमा आएका अधिकृतलाई सांसदकै फोनको दवाव दिएर व्यवसायीले आफ्नो शक्ति देखाएका छन् । सामान्य कुरामा शक्ति देखाउनु व्यवासायीहरुको त्रसित मानसिकता हो । यसबाट व्यवसायीहरु आफै कतै त्यस्तै गतिविधिमा त छैनन् भन्ने आशंका उब्जाईदिएको छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook