गृहपृष्ठ » इटहरी अपडेट » पूर्वमा क्रिकेटको गिर्दो साख जोगाउने प्रयास

पूर्वमा क्रिकेटको गिर्दो साख जोगाउने प्रयास

 Posted by Itahari Fm | error | १९५ पटक

एक समय थियो, जतिबेला नेपाली राष्ट्रिय टिमका १४ खेलाडी मध्ये ७। ८ जना पूर्वका खेलाडी हुन्थे । पूर्व, क्रिकेटका लागि उर्वरभूमि हो । वान डे खेलमा १० विकेट लिएर गिनिज बुक अफ वल्र्ड रर्कडमा नाम दर्ता गराएका मेहवुव आलमको त्यो विगत देखी हालकी चर्चित महिला क्रिकेटर रुविना क्षेत्रीले यो पुष्टि गरिसकेका छन् ।
यस्तै लाक्पा लामा, मनोज कट्वाल, दिपेन्द्र चौधरी, युनिल श्रेष्ठ जस्ता खेलाडीले पूर्वको प्रतिनिधित्व गर्दै राष्ट्रिय र अन्र्तराष्ट्रिय खेल खेली सकेका छन् । मन्जिद श्रेष्ठ, सिद्धान्त लोहनी, ललितनारायण राजवंशी, सन्दिप पुन, अविनाश कर्ण जस्ता अहिलेका उदयमानी खेलाडी पूर्वकै हुन ।
विगतको त्यो उत्कृष्ठ अवस्था अहिले भने केहि धरमराएको छ । अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पूर्वका खेलाडीहरुको उपस्थिती कम छ । राष्ट्रिय टोलीमा पश्चिम र सुदुरपश्चिम क्षेत्र हावी भएको पाईन्छ ।
२०५८ ।०५९ देखी हाल सम्म पूर्वमा क्रिकेटका प्रतियोगिता तथा गतिविधि शुन्य जस्तै भयो । भौतिक पूर्वाधारको अभाव, ठुला प्रतियोगिताहरु आयोजना नहुनु र खेल भित्रको आन्तरिक राजनिति नै प्रमुख जिम्मेबार हुन्, पूर्वका खेलाडी पछि पर्नुमा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेट पछि भने कछुवा गतिमा गतिविधि सुरु भएको छ ।
अहिले क्रिकेटका गतिविधि सवै काठमाण्डौ केन्द्रित गरिएको छ । यसको प्रभाव नयाँ खेलाडीको उत्पादनमा परेको छ । तर पश्चिम तथा सुदुर पश्चिमा क्रिकेट गतिविधि बढेकै कारण त्यस क्षेत्रबाट खेलाडीहरु प्रतिनिधित्व बढेको हो ।
पूर्वमा अहिले सम्म कुनै सुविधा सम्पन्न स्टेडियम छैन । पूर्वाधार सहितको क्रिकेट मैदान छैन । खेलाडीले राम्रो अभ्यास गर्न पाएकै छैनन् । भर्खर भर्खर नेट बक्समा अभ्यास सुरु भएको अन्डर १९ पूर्वाञ्चलका टिम क्याप्टेन मिनस थापा बताउँछन् । प्रतियोगिता सवै काठमाण्डौमा हुन्छ, काठमाण्डौको एक दुई दिनको क्याम्पको अभ्यासले खेलाडीले खेल देखाउन नसक्ने उनको भनाई छ ।
आन्तरिक रुपमा कोठाभित्र जतिसुकै अभ्यास गरे पनि खेलाडीलाई आफ्नो क्षमता देखाउन मैदान नै चाहिन्छ । पूर्वमा प्रतियोगिता नभएकै कारण खेलाडी क्षमता भए पनि देखाउने अवसर नहुँदा खुम्चेर बस्नुपर्ने पूर्वाञ्चल क्षेत्रीय प्रशिक्षक प्रदिपराज पाण्डे बताउँछन् । अहिलेको अन्डर १९मा पनि पूर्वमा राम्रा खेलाडी छन् । राम्रो अभ्यास पाए राष्ट्रिय टोलीमा पर्न सक्ने उनको भनाई छ ।
अहिले पनि नेपाली महिला क्रिकेट टिम पूर्वकै खेलाडी रुविना क्षेत्रीले सम्हाली रहेकी छिन् । यस्तै राष्ट्रिय टोलीमै रहेका सवनम राई, संगिता राई, काजोल श्रेष्ठ पनि पूर्वकै उत्पादन हुन् । पूर्वमा ट्यालेन्ट खेलाडीको कुनै कमी नभएको पूर्व राष्ट्रिय खेलाडी तथा हाल अन्डर १९ टिम पूर्वाञ्चलका प्रशिक्षक रहेका लाक्पा लामा बताउँछन् । पूर्वका खेलाडीको क्षमता बाहिर ल्याउन गुणस्तरीय खेल पूर्वाधार, गुणस्तरीय स्टेडियम, उमेर अनुसारका प्रतियोगिताहरु निरन्तर हुनुपर्ने लाक्पा बताउँछन् ।
पूर्वमा खस्कदै गएको क्रिकेटको साख जोगाउन इटहरी क्रिकेट एकेडेमीले क्रिकेट गतिविधि गर्न थालेको छ । पूर्वलाई लक्षित गर्दै इटहरीमा एकेडेमी सुरु गरिएको अध्यक्ष कैलाश विष्टले बताए । एकेडेमीकै प्रयासमा अहिले पूर्वमै पहिलो पटक क्षेत्रीय स्तरको अन्डर १९ क्रिकेट प्रतियोगिता सञ्चालन भईरहेको छ । सवै क्षेत्रीय टिमका अन्डर १९ खेलाडीहरु इटहरीको खेलमैदानमा आफ्नो क्षमता देखाउँदै छन् ।
पूर्वका खेलाडीहरुलाई प्रशिक्षण दिने, देशका ठुला क्रिकेटरहरुलाई इटहरी ल्याएर जुनियरलाई प्रशिक्षण गराउने, साना ठुलो प्रतियोगिता आयोजना गरेर खेलाडीहरुलाई दक्ष बनाउने एकेडेमीका सचिव सिपी पौडेल बताउँछन् । तत्कालै नभए पनि अव ५ बर्ष भित्रमा राम्रा र उत्कृष्ठ क्रिकेटर उत्पादन गर्ने पौडेल बताउँछन् ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पछि खेलकुद गतिविधि केही बढेको छ । सातौँमा महिला क्रिकेट प्रतियोगिता आयोजना पछि इटहरीमै प्रधानमन्त्रि कप महिला क्रिकेट प्रतियोगीता आयोजना भएको थियो ।
पूर्वबाट नयाँ राम्रा खेलाडी उत्पादन गर्न खेलकुदका गतिविधि बढाउँदै पूर्वकै केन्द्र विन्दुको रुपमा रहेको इटहरीलाई स्पोट्स सिटीको रुपमा विकास गरिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घोष गरेका छन् । पछिल्ला खेल गतिविधिबाट पूर्वमा खस्कँदै गरेको क्रिकेटको विकास हुने अपेक्षा गरिएको छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook