गृहपृष्ठ » News » मतदाता नामावलीमा ठुलो संख्या छुट्यो भन्नु भ्रम मात्र

मतदाता नामावलीमा ठुलो संख्या छुट्यो भन्नु भ्रम मात्र

 Posted by Itahari Fm | error | १६७ पटक

निर्वाचनमा सहभागी हुन चौतर्फी दवाब बढ्दै जानु र जनता पनि मतदान गर्न उत्साहित बन्न थाले पछि मधेषीवादी दल अप्ठ्यारो अवस्थामा पुगेका छन् । निर्वाचन टार्न उनीहरुले मतदाता नामावलीमा नाम छुटेको भन्दै अड्को थापेका छन् । तर उनीहरुले दावी गरे जस्तो नभएको सुनसरीका जिल्ला निवार्चन अधिकृत बताउँछन् । फोटोसहितको मतदाता नामावली संकलन कार्य बर्षभरी जस्तो नै जारी रहेको, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय सहितका सरकारी कार्यालय र विभिन्न ठाउँमा घुम्ती शिविर चलाएरै मतदाता नामावली संकलन गरिएको बताउँदै जिल्ला निर्वाचन अधिकृत जानकी कर्ण ठुलो संख्यामा नामावलीमा छुटेको छ भन्नु गलत हो ।
उनको कुरालाई मतदाताको बढेको संख्याले पनि पुष्टि गर्छ । तथ्याङ्कलाई हेर्ने हो भने सुनसरीमा अहिले मतदाताको संख्या बढेको छ । २०७० सालमा मतदाताको संख्या ३ लाख ७२ हजार ७९ रहेको थियो । जसमा महिलाको संख्या १ लाख ८७ हजार ५ सय ६४ रहेको थियो भने पुरुषको संख्या १ लाख ८४ हजार ५ सय १५ रहेको थियो ।
अहिले निर्वाचन कार्यालयले मतदाताको संख्या ४ लाख२१ हजार ८ सय १० रहेको बताएको छ । यहि तथ्याङ्क केन्द्रिय निर्वाचन कार्यालयमा पठाएको थियो । यसका अधारमा ३ बर्षमा भोट हाल्ने मतदाताको संख्या ४९ हजार ७ सय ४१ले बढेको देखिन्छ ।
यसमा १६ बर्ष पुगेर फोटोसहितको नामावलीमा अरु थप केहीले नाम दर्ता गराएका छन् । यो तथ्याङ्कलाई पनि हेर्ने हो भने यो संख्या केही बढ्न सक्छ । मतदान गर्न १८ बर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ ।
थोरै जो देश बाहिर थिए तिनीहरुको मतादाता नामावलीमा नाम छुटेको हुन सक्छ तर त्यो त्यत्रो ठुलो संख्यामा नहुने निर्वाचन अधिकृत कर्णले बताए । यहि एउटा आधारमा ठुलो संख्या छुट्यो भन्नुको अर्थ नहुने उनको भनाई छ । पुनः राजनितिक सहमतिमा मिती पर सारियो भने त्यसले अरु पछिका निर्वाचनलाई असर गर्ने उनको भनाई छ ।
सुनसरी, संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको गृह जिल्ला हो । २०७० सालको संविधान सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ५ बाट यादवले विजयी हाँलिस गरेका थिए । राजनितिक दाउपेजमा उनले अघि सारेको यो मुद्धा उनकै जिल्लाबाट असत्य भएको पुष्टि हुन्छ ।
तत्काल निर्वाचन नचाहेको मधेषवादी दल, मधेषका जनता भोट हाल्न आतुर भएपछि आत्तिएका हुन ।

सुनसरीमा निर्वाचनको तयारी तिव्र

जिल्ला निर्वाचन कार्यलय सुनसरीले निर्वाचनको तयारी तिव्र पारेको छ । मतदाताको संख्या, मतदान स्थल लगायतका विषयमा निर्णय गरी केन्द्रिय निर्वाचन कार्यलयमा पठाई सकेको छ । जिल्लामा १ सय ६५ वटा मतदान स्थल रहनेछन् । यो संख्या अघिल्लो निर्वाचनको भन्दा १३ बटा बढि हो ।
यता जिल्लामा मतदाता शिक्षा कार्याक्रम सञ्चालन तयारी अन्तिम अवस्थामा पुगेको निर्वाचन अधिकृत जानकी कर्णले बताए । बैशाख पहिलो हप्ता बाट जिल्लाका गाँउ तथा वडा वडामा मतदाता शिक्षाका लागि समुदाय परिचालकहरुलाई पठाईने छ । यसका लागि चैत्र अन्तिम सम्म उनीहरुलाई प्रशिक्षण दिने काम सकिने निर्वाचन अधिकृत कर्णले जानकारी दिए ।
केन्द्रिय निर्वाचन कार्यालयबाट मतदान केन्द्र र निर्वाचन अधिकृतको नाम आएपछि सवै क्षेत्रमा पठाईने उनले बताए ।
निर्वाचन कार्यालयले जिल्लाका राजनितिक दल, सुरक्षा निकायका प्रमुखसँग निरन्तर छलफल गरी निर्वाचनको तयारी गरेको बताएको छ । आफ्नो तर्फबाट निर्वाचनको तयारी तिव्र भएपनि बाहिर दलहरुको तर्फबाट भने अपेक्षाकृत रुपमा निर्वाचनको वातावरण बन्न नसकेको निर्वाचन अधिकृत कर्णले बताए । तर पछिल्लो समयमा भने दलहरुमा उम्मेद्धार छनौट गर्ने क्रम सुरु भएको तथा विभिन्न सभाहरु पनि गर्न थालेकाले अव वातावरण बन्ने अपेक्षा गरेको उनले बताए ।
सुनसरी जिल्लामा २ वटा उपमहानगरपालिका, ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । २ वटा उपमहानगरपालिकाको मतदाताको संख्या लगभग उस्तै उस्तै देखिएको छ । जिल्ला निर्वाचन कार्यालयले केन्द्रिय निर्वाचन कार्यालयमा पठाएको तथ्याङ्क अनुसार जिल्लाका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाको तथ्याङ्क निम्नानुसार रहेको छ ।
उपमहानगरपालिका
इटहरी                  ७८,१२८
धरान                     ७८,१०४
नगरपालिका
इनरुवा                 ३६,३३४
रामधुनी               ३०,५१३
दुहवी                    ३०,८२२
बराह                    ४७,६७६
गाउँपालिका
बर्जु                     १८,६६०
हरीनगरा             २०,६७०
गडी                     १९,७३८
भोक्राहा               १८,९६०
कोशी                  २२,५४८
देवानगञ्ज         १९,६९७
निर्वाचन कार्यलयबाट अन्तिम नामावली आउन बाँकी नै छ । यो तथ्याङ्कमा केही तलमाथी हुने सक्ने बताइएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




दील्लीमा बोल्दै देउबा

Like us on Facebook