गृहपृष्ठ » चर्चाका चार » माघ महिनाका चर्चीत व्यक्ति

माघ महिनाका चर्चीत व्यक्ति

 Posted by Itahari Fm | error | २८७ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय, इटहरीबासी जनताले सोधीखोजी गर्ने विषय र यी विषयसँग जोडिएर चर्चामा आएका व्यक्तिहरु मध्ये चार जना व्यक्तिहरुलाई हामी यहाँ प्रस्तुत गछाँै ।
महिना भरमा भएका घटना, इटहरीसँग जोडिएका जनचासोका विषयहरु, जसको बढि चर्चा भयो, ती कुराहरुसँग जोडिएर आउने व्यक्तिहरु चर्चाका पात्रहरु हुन । सार्वजनिक स्थल, कार्यक्रम अनि विभिन्न सञ्चार माध्यममा आएका समाचारका आधारमा इटहरी एफएमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
माघ महिनामा खासै धेरै उतारचढाव भएन । नियमित रुपमै हुने सामान्यखाले कुराहरु मानिसहरुको चर्चाको विषय बन्यो । महिनाको सुरुवात मै सार्वजनिक भएको इटहरी उपमहानगरपालिकाको बजेटले चर्चा पायो । झण्डै ४२ करोडको बजेटको प्राथमिकता पूर्वाधार विकास नै छ । पहिलो पटक हुन लागेको निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन)को प्रदेश सम्मेलनले पनि चर्चा पायो । नजिकिदैँ गरेको विद्यार्थीको चुनावले पनि इटहरीमा राम्रै चर्चा पाएको छ । विद्यार्थीको चुनावले इटहरीको माहोल निरन्तर तातिदै गएको छ । यसले अझै केही समय निरन्तरता पाउने छ ।
प्रहरीले गरेको कारबाहीले पनि निकै चर्चा पायो । खनारमा भएको लुटेरा समुह र प्रहरी वीचको गोली हानाहानले इटहरीमा मात्रै नभएर देश भरमै चर्चा पायो । सुनसरी र मोरगंका विभिन्न ठाउँमा लुटपाट आतंक मच्चाउने समुहलाई पक्राउ गर्न सफल भएपछि प्रहरीवृत्तमै ठुलो सफलताको रुपमा हेरिएको छ । इटहरीका सार्वजनिक ठाउँहरुमा यो खवरले राम्रै चर्चा पायो । क्षेत्रीय देखी लिएर राष्ट्रिय स्तरका मिडियाले पनि प्राथमिकता दिएर समाचार लेखे ।
घुस लिँदै गर्दा यातायात कार्यालयका कर्मचारी पक्राउ परेको घटनाले पनि चर्चा पायो । लामो समय देखी सर्वरका कारण देखाउँदै बन्द भएको लाईसेन्स वितरण कार्यालयका कर्मचारीले ४० हजार घुस लिएको खवरले राम्रै चर्चा पायो ।
यी र यस्तै खवरहरुले इटहरीमा यो महिना चर्चा पाए । यी र यस्तै विषयसँग जोडिएका व्यक्तिहरु मध्ये यी व्यक्तिहरुलाई चर्चाका चारका रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

प्रेमप्रसाद भट्टराई
प्रेमप्रसाद भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यलयका प्रमुख हुन् । भर्खरै सरुवा भएर आएका भट्टराई परिचत व्यक्ति नै हुन । स्थानिय विकास अधिकारी भएर सुनसरी सकेका भट्टराई यस क्षेत्रका जानकार व्यक्ति हुन । उनै भट्टराई अख्तियारको क्षेत्रीय प्रमुख भएर आएसँगै उनको इटहरीमा चर्चा बढेको हो । उनको चर्चा यस कारण पनि भयो, उनी आएको केही समयमै सवारीचालक अनुमति पत्र(लाईसेन्स) वितरण कार्यालयका कर्मचारी ४० हजार घुस सहित पक्राउ परे । कर्मचारी रकम लिँदा रंगेहात पक्राउ परेका कर्मचारी भुपेन्द्र कट्वालको चर्चा पनि धेरै भयो । तर उनको चर्चा भएसँगै जोडिएर प्रेम प्रसाद भट्टराईको चर्चा भयो ।
हुन त अख्तियार चर्चा भईरहने सरकारी कार्यालयमै पर्छ । अख्तियार नियमन, आर्थिक पारदर्षी बनाउने निकाय अनि प्रेम प्रसाद भट्टराई । यी दुवैको संयोजनलाई लिएर चर्चा हुने गरेको थियो । सुनसरी बस्दा उनले गरेका काम, उनको छवि र अहिलेको नियमकारी निकायको प्रमुख भएपछि उनको भूमिका कस्तो होला भन्ने चर्चाहरु पनि भईरहेकाछन् । उनको छवि र बहाल रहेको कार्यालयको प्रमुखको जिम्मेवारीलाई लिएर बढि नै चर्चा हुने गरेको छ ।

थानेश्वर गुरागाई
थानेश्वर गुरागाई कहलिएको नाम हो । अनुहारले कमैले चिनलान् तर नाम भन्ने वित्तिकै उनलाई नचिन्ने मान्छे कमै हुन्छन् । खनार घर भएका २६ बर्षिय प्रतिभाशाली यी युवा देश तथा विदेशमा परिचित छन् । १४ वटा फरक फरक विधामा गिनिज बुक अफ वल्ड रेर्कडस्मा आफ्नो नाम लेखाउन सफल रहेका उनै थानेश्वर माघ महिनामा पुनः चर्चामा आए । थानेश्वरले १५ औँ वल्ड रेकर्डका लागि प्रफोमेन्स गरेसँगै एकाएक चर्चाको उचाईमा पुगे । काठ काट्ने चेन मेसिनलाई आफ्नो चिउँडोले ५ मिनेट ७ दशमलव ७७ सेकेण्ड सम्म आकाशमा ठ्याएर सवैलाई अचम्मति बनाउँदै उनले नयाँ रकर्ड बनाए । इटहरीको विश्व आर्दश कलेजमा गरिएको प्रस्तुतीमा उनले ७ केजी तौल भएको चेन मेसिनलाई चिउँडोले लामो समय सम्म अड्याएका थिए । विश्वमा त्यति तौलको चेन मेसिन १ मिनेट सम्म मात्रै ड्याएको रेकर्ड कायम रहेको उनले बताए ।थानेश्वरले भने भएकै रेर्कडको भन्दौ झण्डै चार गुना बढि समय सम्म ड्याएका छन् । उनको यो रर्कड गिनिज वुकले रेकर्ड गरेपछि औपचारिक रुपमै १५ औँ रेकर्ड हुनेछ । विश्वलाई नै आश्चर्यमा पार्ने युवाहरुका प्रेरणाका स्रोत थानेश्वर माघ महिनामा चर्चीत व्यक्ति बने ।

नरेशराज सुवेदी
इलाका प्रहरी कार्यालयका प्रमुख हुन नरेशराज सुवेदी । इटहरीको शान्ति सुरक्षाको विषयलाई लिएर उनको चर्चा इटहरीमा हुने गरेको छ ।सुवेदी माघ महिना पनि चर्चामा आए । सुनसरी र मोरगंका विभिन्न ठाउँमा लुटपाट, धाकधम्की, गोली हान्ने समुह र प्रहरी वीचको गोली हानाहान काण्डसँगै उनको पनि चर्चा सुरु भएको थियो । खनारमा लुटेरा समुह र प्रहरी वीच झडप भई ३ जनालाई नियन्त्रणमा लिन प्रहरी सफल भयो । यो घटनाले प्रहरी वृत्तमै ठुलो हंगामा ल्याईदियो । अशान्त बनेको सुनसरी र मोरगं क्षेत्रलाई शान्त बनाउन प्रहरी सफल भएको निश्कर्ष संगठनले नै निकाल्यो । हुन पनि हो । काम भएकै हो । इटहरीको क्षेत्राधिकार भित्र रहेका कारण श्रेय त इटहरी प्रहरी र त्यसमा पनि प्रमुख नरेशराज सुवेदीलाई गयो ।
अपराधि पक्राउ गर्न सफल भएपछि प्रहरी उपरिक्षक सुवेदीको चर्चा ह्वात्तै बढेर गयो ।तर त्यसको जस लिन पूर्व क्षेत्रीय प्रहरी संगठन नै अगाडि देखियो । डिआईजीले पत्रकार सम्मेलन गरेर ठुलो उपलब्धी भएको भन्दै जस लिए । मिडिया तिर ठुलो उपलब्धी भन्दै प्रतिक्रिया पनि दिए । क्षेत्रीय कार्यलयले विज्ञप्ती निकालेर सार्वजनिक गरे पछि, सुवेदीले पनि इटहरीमा पत्रकार सम्मेलन नै गरी ठुलो उपलब्धी हाँसिल गरेको पत्रकारलाई बताए । उनी पनि मिडियामा छाए ।
इटहरीको शान्ति सुरक्षालाई लिएर चिन्ता देखाउने व्यापारीहरुले पनि यो घटना पछि सुवेदीको चर्चा गरेका थिए ।राम्रो काम गरेको भन्दै सवैले उनको चर्चा गरे । शान्ति सुरक्षा कमजोर भएको विषयमा चर्चामा आएका डिएसपी सुवेदी वान्टेड सुचीका अपराधी पक्राउ गरी पुनः चर्चामा आए ।
रामु पोख्रेल
रामप्रसाद पोख्रेल( रामु) इटहरीबासीका लागि चिरपरिचित नाम हो ।पछिल्लो समय उनको नाम लिएर खुवै चर्चा हुने गर्छ । यो महिना पनि पुनः उनी चर्चामा आए । राप्रपा र राप्रपा नेपाल वीच एकिकरण पछिको पहिलो नगर अधिवेसनबाट उनी पुन नगर अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएपछि उनको चर्चा भएको हो । यस अघि पनि उनी नै अध्यक्षमा रहेका थिए । उनलाई अध्यक्षमा धक्का दिन सक्ने अन्य कोही नभएको चर्चा पनि पार्टि भित्र र सार्वजनिक स्थलमा हुने गरेको पाईन्छ । इटहरीमा राप्रपा भन्नेवित्तिकै रामु पोख्रेल भन्ने चर्चाहरु बजारमा सुन्ने गरिएको छ ।
निकै वाठा र चतुर रहेका पोख्रेल सँधै शक्ति र सत्ताको नजिकै रहँदै आएका छन् । रामकुमार सुब्बाको दाहिने हात रहेका पोख्रेलको पार्टि भित्र पनि निकै राम्रो सम्बन्ध छ । पूर्वमा हुने पार्टि गतिविधि र राजासंस्थाका क्रियाकलापमा उनकै प्रमुख भूमिका रहँदै आएको छ ।
इटहरीमा ठुला पार्टिको दबदबा रहेकै अवस्थामा पनि भित्रभित्रै धार्मिक एजेण्डा मार्फत उनले पार्टिको संगठन दह्रो बनाएको चर्चाहरु पनि बजारमा सुनिन्छ । जे होस आफ्नै व्यक्तिगत प्रभावलाई निरन्तरता दिँदै रामु समय समयमा चर्चामा आईरहन्छन् ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook