गृहपृष्ठ » चर्चाका चार » मंसिर महिनाका चर्चीत व्यक्ति

मंसिर महिनाका चर्चीत व्यक्ति

 Posted by Itahari Fm | error | २६९२ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौ । इटहरीसँग सरोकार राख्ने बिषय, इटहरीबासी जनताले सोधीखोजी गर्ने विषय र यी विषयसँग जोडिएर चर्चामा आएका व्यक्तिहरु मध्ये चार जना व्यक्तिहरुलाई हामी यहाँ प्रस्तुत गछाँै ।
महिना भरमा भएका घटना, इटहरीसँग जोडिएका जनचासोका विषयहरु जसको बढि चर्चा भयो, ती कुराहरुसँग जोडिएर आउने व्यक्तिहरु चर्चाका पात्रहरु हुन । सार्वजनिक स्थल, कार्यक्रम अनि विभिन्न सञ्चार माध्यममा आएका समाचारका आधारमा इटहरी एफएमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
मंसिर महिनामा इटहरीका धेरै विषय वस्तुहरु चर्चामा आए । विस्तारै बढेको चिसोले जनजिवन प्रभावित बनायो । मंसिर महिनामा गित संगित,मेला महोत्सव, र्याली सामाजिक कार्यक्रमहरुले धेरै चर्चा पाए । महिनाको सुरुवात तिरै पूर्वमै पहिलो पटक आयोजना गरिएको विपुल क्षेत्रीको सभ्य र भव्य कन्सर्टले चर्चा पायो । अहिलेका उम्दा गायकको छवि बनाएका विपुललाई हेर्न पूर्वका विभिन्न शहरका युवाहरु इटहरी आएका थिए । नेपाल म्यूजिक फेस्टीबल मुख्य आयोजक रहेको कन्सर्टलाई पूर्वमा भएका हाल सम्मका कन्सर्ट भन्दा ठुलो र आधुनिक रहेको भन्ने चर्चाले पनि राम्रै प्राथमिकता पायो । विपुलको कन्र्सटले इटहरीलाई संगितमय बनाई दिएको थियो ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुले आयोजना गरेका कोठे कार्यक्रमले पनि राम्रै चर्चा पायो । दुलो पसेका, झोले संस्थाहरुले पनि बाहिर देखिनलाई महिला हिंसा विरुद्धका औपचारिक कार्यक्रम गरेर अलि अलि भएको बजेट पचाए भन्ने चर्चाहरु सार्वजनिक स्थल, चिया चौतारीहरुमा छायो । मंसिर महिना एनजिओकर्मीहरु सलबलाएको महिना पनि भयो ।
यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरीले आयोजना गरेको घरेलु बस्तुहरुको प्रर्वधन तथा व्यापार मेलाले निकै चर्चा पायो । यो व्यापार मेलाको चर्चाको कारण थियो । मेला आयोजककै विवाद र झुर व्यापार । अपेक्षाकृत रुपमा मेला सफल हुन सकेन । व्यवसायीहरुले खर्च नै उठाउन नै सकेनन् ।
प्याब्सन सुनसरीको भवन उद्घाटन र जिल्ला अधिवेसनले पनि राम्रै चर्चा पायो । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले जिल्ला अधिवेसन उद्घाटन गरेकाले पनि चर्चा पाएको हो । योसँगै प्याब्सन सुनसरीको अध्यक्षमा निर्वाचित सुमित थापाको पनि राम्रै चर्चा भयो । यस्तै महिनाको अन्य तिर इटहरीको सय बर्ष अघिको इतिहास समेटिएको वृत्तचित्रको प्रर्दशनीको चर्चा चिया पसल देखी सार्वजनिक कार्यक्रमहरुमा भयो । यी र यस्तै विषयवस्तुको चर्चाले मंसिर महिना वित्यो । यी विषयसँगै जोडिएर आएका र धेरै चर्चा पाएका व्यक्ति मध्ये चार जनालाई यहाँ प्रस्तुत गरिएको छ ।
राजेन्द्र केसरी घिमिरे 536857_357191174339634_1557768819_n
राजेन्द्र केसरी घिमिरे इटहरीका लागि परिचित नाम हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरीका अध्यक्ष हुन, उनी । मंसिर महिनामा उनी इटहरीमा चर्चाको पात्र बने । उनलाई चर्चामा ल्याउने काम भने घरेलु तथा साना उद्योग महासंघ सुनसरीले आयोजना गरेको एक नम्बर प्रदेश स्तरीय घरेलु बस्तुहरुको प्रर्दशनीले गर्यो । महासंघ प्रमुख आयोजक र अरु थुप्रै सहआयोजक भएर आयोजना गरिएको व्यापार मेलाको जनु रुपमा एक नम्बर प्रदेश स्तरीय भनेर प्रचार गरियो तर त्यो अनुरुप केही पाईएन । कमजोर र फितलो व्यवस्थानका कारण व्यापार मेला झुर मेलाको रुपमा दरियो । यो मेलाले यस अघि इटहरीमा हुने मेला महोत्सवको जुन पहिचान थियो त्यसलाई पनि घटाई दियो भन्ने कुराहरु व्यापारी तथा व्यवसायीहरुले नै बजारमा कुरा गरेको सुनियो । मेलाको विषयलाई लिएर आयोजक र त्यसमा पनि अध्यक्ष भएको हिसाबले राजेन्द्र केसरी त्यसको निसानामा परे ।
उनी यसरी आफ्नै व्यापारी व्यवसायी साथीहरुको आलोचनाको निसानामा पर्नुको कारण पनि उनी हुन भन्ने चर्चा पनि बजारमा सुनियो । घरेलु महासंघका सदस्य मात्र रहेका वेदनाथ भेटवाललाई प्रर्दशनी कार्यक्रमको संयोजक बनाएपछि अन्य पदाधिकारीहरु रुष्ट बनेका थिए । घिमिरेले अन्य वरिष्ठ जिम्मेवार व्यक्तिहरुलाई पाखा लगाउँदै भेटवाललाई काखी च्याप्दै संयोजक बनाएका थिए । त्यसपछि कार्यसमितीकै अन्य सदस्यहरुले मेला असफल बनाउन असहयोग गरेका थिए भन्ने चर्चाहरु व्यवसायीहरुले सार्वजनिक कार्यक्रममा गर्ने गरेका थिए ।
घरेलु बस्तुहरुको प्रर्दशनी भनिए पनि अटो टेम्पोका स्टल पनि राखिएका थिए । भुकम्प प्रतिरोधी घर भन्दै चितवनका सामाग्रीहरु पनि प्रर्दशनीमा राखिएका थिए । प्रर्दशनी स्थलका धेरै स्टलहरु खालि थिए । स्टल लिएका व्यवसायीहरु पनि व्यापार नभए पछि निरास भएका थिए भने आयोजक प्रति रुष्ट । ५ दिन सम्म चलेको प्रर्दशनीबाट स्टल खर्च र आते जाते खर्च पनि धान्न धौ धौ परेको भन्दै व्यवसायीहरुले गुनासो गरेका थिए ।
अस्तव्यस्त प्रर्दशनी आयोजना गरेर इटहरीको मेला महोत्सवको साख गिर्यो भन्दै व्यापारीले नै आलोचना गरे । राम्रो काम गर्ने भन्दै सुरु गरिएको घरेलु बस्तुहरुको प्रर्दशनी अध्यक्ष घिमिरेका लागि टाउको दुख्ने काम भयो । घिमिरेले आफ्नो मान्छेलाई काखी च्याप्दा तलको धोती फुस्कियो भन्ने कुराले खुवै चर्चा पायो ।

सुमित थापा 12279218_1034061929972096_879118632865234486_n
सुमित थापा शैक्षिक क्षेत्रका परिचित व्यक्ति हुन । उनी मंसिर महिनामा चर्चाको पात्रको रुपमा धेरैका खोजीका व्यक्ति बने । विशेष गरी शैक्षिक क्षेत्र र सञ्चार माध्यमले उनलाई खोजका थिए भने इटहरीबासीले चासो पूर्वक हेरेका थिए । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) सुनसरीको अध्यक्षमा निर्वाचित भएपछि थापा चर्चित बनेका हुन । मंसिरमा सम्पन्न प्याब्सनको जिल्ला अधिवेसनबाट थापा अध्यक्षमा निर्वाचित भएका थिए । यो अधिवेसन र चुनाव विगतका भन्दा अलि फरक रह्यो । काँग्रेस सभापति शेर बहादुर देउवा र निर्वाचनको परिणामले फरक अनुभुति दिएको थियो । प्याब्सनलाई हाँक्न थापा र जिवन गुरागाईको दुई प्यानल निर्वाचनमा होमिएको थियो । तर त्यसमा थापाले बाजी मारे । बाजी पनि यसरी मारे की लगभग सवै उनकै प्यानलबाटै परे । विपक्षीको तर्फबाट एक जना मात्र सदस्यमा परे भने अरु सवै उनकै प्यानलकै निर्वाचित भए । अघिल्लो कार्यसमितीका उपाध्यक्ष रहेका थापाले पहिले देखी नै अध्यक्षमा दावेदारी दिँदै आएका थिए । उनी अध्यक्ष भएसँगै प्याब्सनको नेतृत्व इटहरी आएका कारण पनि इटहरीमा उनको चर्चा धेरै भएको हो । उनी अध्यक्षमा निर्वाचित भएसँगै प्याब्सनको आगामी कार्यकाल कस्तो हुने हो भन्ने चर्चाले पनि स्थान पाएको छ । अघिल्ला बर्षहरुमा निजी विद्यालयहरुले स्कुल परिसरबाटै किताव, कापी, ड्रेस लगायतका शैक्षिक सामाग्री बेचेको आरोप खेप्दै आएका अवस्थामा सुमितले यसलाई कसरी व्यवस्थापन गर्लान भन्ने चर्चाहरु पनि सँगै जोडिएर भए । उनी अध्यक्ष भएपछि यो समस्या समाधान गर्लान् वा झन् बढेर जाला भन्ने आशंकाहरु पनि गरिएका छन् । प्याब्सन सुनसरीमा केही नयाँ सुरुवात गर्छन् की अरुले जस्तै प्याब्सनको भित्तामा टाउको मात्रै झुण्डियाएर जान्छन् त्यो भने हेर्न बाँकी नै छ । यी यस्तै चर्चा परिचर्चाका वीच सुमित थापा मंसिर महिनामा चर्चामा आईरहे ।
लक्ष्मी गौतम 14925253_1046122148830251_2375783795906802447_n
लक्ष्मी गौतम इटहरीबासीका लागि परिचित नाम हो । इटहरीकी केही सिमित महिला नेतृहरु मध्ये उनको नाम पनि पहिलो दोस्रो तिरै आउँछ । नेकपा एमालेकी नेतृ लक्ष्मी बेला बेला चर्चामा आईरहने व्यक्ति हुन । विशेष गरी राजनितिक गतिविधीका कारण उनी चर्चाको पात्र बन्ने गर्छिन । एमाले भित्रको आन्तरिक गुटगत राजनिति, र त्योसँगै जिल्ला नेतृत्वलाई लिएर उनको चर्चा राजनितिक बजारमा निकै सुनिन्छ । अरु बेला राजनितिक कुराहरुका कारण चर्चामा आउने लक्ष्मी गौतम मंसिर महिनामा भने एनजिओकर्मी र महिला सञ्जालकी नेताको रुपमा चर्चामा आईन । महिला हिंसा विरुद्धको १६ दिने अभियानले उनलाई महिनाभर चर्चामा ल्याईरह्यो । महिला सञ्जाल इटहरीकी अध्यक्ष समेत रहेका कारण पनि उनी खोजीकी पात्र बनिरहिन् । विशेष गरी सञ्चार माध्यमहरुले महिला बारे जानकारी लिन उनलाई खोजे । योसँगै उनको चर्चा एनजिओको कोठे कार्यक्रमसँग जोडेर पनि भयो । लक्ष्मी यो महिना भर एनजिओको कार्यक्रममा व्यस्त रहिन् भन्ने चर्चाहरु बजारमा सुनिन्थ्यो । व्यस्त पनि कस्तो भने एकै दिन उनले ८ । ९ वटा कार्यक्रममा भ्याउनु पर्ने । हुन पनि, उनको पनि आफ्नै एनजिओ छ । पार्टिसँग जोडिएका थुप्रैका छन् । अनि अरु पार्टिको पनि र झोलामा संस्था बोकेर हिँड्नेहरुले पनि यो १६दिने दिवसमा त कार्यक्रम गर्ने नै भए सवैकोमा अलि अलि पुग्नै पर्यो । बजारका सार्वजनिक स्थल तथा चिया चौतारीमा यी कुराहरुले राम्रै ठाउँ पाए ।अरु बेला चुप बस्नेहरु यस्ता दिवसहरुमा भने सक्रिय हुन्छन्, अनि भएको बजेट पचाउँछन् भन्ने चर्चाहरु चिया चौतारीका पण्डितहरुलाई राम्रै खुराक भयो । राजनितिक कारणले चर्चामा आउने लक्ष्मी गौतम मंसिर महिना एनजिओका कारण चर्चामा आईन् ।

रन्जन ओझा 1614468_10152912282741411_7548533634506872487_o
मंसिर महिना इटहरी संगितमय भयोे । अहिलेका उम्दा र युवाहरुका ढुकढुकी गायक विपुल क्षेत्रीको सांगितीक कार्यक्रमले इटहरीलाई संगितमय बनाईदियो । यो कार्यक्रम पूर्वमै अहिले सम्म भए मध्येको सभ्य भव्य र आधुनिक रहेको चर्चा इटहरीमा खुवै सुनियो । गायक विपुल इटहरी आएसँगै त्यो कार्यक्रमको आयोजक र त्यसका प्रमुखको खोजी भयो । नेपाल म्यूजीक फेस्टीवल संस्थाका अध्यक्ष रहेका रन्जन ओझा इटहरीमा चर्चामा छाए । पूर्वमै ठुलो कार्यक्रम र त्यसमा पनि चल्तिका गायक विपुललाई इटहरी ओराल्न सकेका रन्जनको चर्चा धेरै भयो । तर जव रन्जन अन्यकतै बाहिरका युवा नभएर इटहरीमै हुर्कि बढेका युवा भएको थाहा पाएपछि उनको चर्चाको पारो अझ बढेको थियो ।
रन्जनको स्थायी घर इटहरीको छिमेकी सुन्दरदुलारीको गणेशपुर हो । उनले इटहरीकै सेकेण्डरी बोर्डिगं स्कुल पढेका हुन । डेनमार्कबाट एम वि ए गरेका रन्जनले उतै हुँदा सांगितीक कार्यक्रम गरी एकै पटक ठुलो संख्यामा पर्यटकहरुलाई आकर्षण गर्न सकिने कुरा देखेका थिए । पढाई सकेर नेपाल आएका रन्जनले नेपाल म्युजिक फेस्टिबल नामको संस्था सञ्चालनमा ल्याएर सागिंतिक इभेन्टहरु सञ्चालन गर्दै आएका छन् ।उनले काठमाण्डौँमा नेपाल स्कुल अफ इन्टरपेनरसिप कलेज पनि सञ्चालन गर्दै आएका छन् । काठमाण्डाँैमा भईरहेका यस्ता इभेन्टहरुलाई पूर्व र त्यसमा पनि इटहरी ल्याउन उनकै महत्वपूर्ण योगदान रहेको छ । आफु हुर्के बढेको ठाउँमा बृहत्त कार्यक्रम सम्पन्न गरेर रन्जनले नयाँ इतिहास बनाएका छन् ।
इटहरीमा हुने मेला महोत्सवमा ट्राक बजाउने र मुख चलाएर जाने गायक र आयोजकहरुलाई सांगितक कार्यक्रम यस्तो पनि हुन्छ भन्ने देखाईदियो भन्ने चर्चाहरु इटहरीमा छायो । त्यो किसिमको साउण्ड सिस्टम, लाईट इफेक्ट र लाईभ प्रफोमेन्सले इटहरीबासी रोमान्चीत भएका थिए । अनि यसको श्रेय भने रन्जनले पाएका थिए । उनले सुरु गरेको सांगितीक कार्यक्रमले इटहरीमा अन्य यस्ता ठुला कार्यक्रमहरु आयोजना हुने आशा पनि गर्न थालिएको छ । जे होस् इटहरीमै हुर्कि बढेका रन्जन आफ्नै ठाउँमा सांगितिक कार्यक्रम गरी चर्चाको पात्र बने ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook