गृहपृष्ठ » पेड न्युज » पशुको दिसाले घर किन लिप्छन नेपाली ?

पशुको दिसाले घर किन लिप्छन नेपाली ?

 Posted by Itahari Fm | २०७१ पुष ६ | २०५ पटक

धेरै बर्ष अघि एकजना विदेशीले म सँग सोधेका थिए — नेपालीहरुले घरको भुइँभरि किन पशुको दिशा दल्छन? उनको प्रश्न गाईको ब्याक्टेरियाग्रस्त गोबरले भुइँ लिप्ने चलन प्रति लक्षित थियो । हिन्दू चलन अनुसार गाइको गोबरले लिपेको शुद्द हुन्छ भन्ने बाहेक म संग उत्तर थिएन । गाई जतिसुकै शुद्द मानिए पनि ब्याक्टेरिया त पक्कै हानिकारक नै होला, कति बिमार त यसैबाट पनि हुँदो हो भन्ने लाग्यो ।

धर्म र संस्कृतिसंग जोडिएको हुनाले होला, इन्डिया तिरका विद्वानहरुको धेरै जसो “बैज्ञानिक” व्याख्या अलि पक्षपाति लागे — यसो उसो गरेर गुण मात्र निष्कर्ष निकाल्न खोज्ने । अवश्य पनि रोगि गाईबस्तुको दिशा बाट इ-कोलाई र साल्मोनेल्ला जस्ता ब्याक्टेरिया सर्ने जोखिम रहन्छ, तर सानै देखि ब्याक्टेरियाग्रस्त गोबरमै खेल्दै हुर्कन कुनै गार्हो नभएको पनि देखिएकै छ ।

कुरा खासमा के रहेछ भने सुक्ष्मजीवहरु हाम्रा ठुला शत्रु पनि, नभई नहुने मित्र पनि । मानवजातिकै बिकास देखि नै हामीसंग रहँदै आएका, हाम्रो लागि अपरिहार्य सुक्ष्म-जीवको बारेमा धेरै कुरा बल्ल बुझिदै छ । आउनुहोस यहि प्रसंगबाट यस्ता केहि अचम्मका तथ्यहरु छोटकरीमा चर्चा गरौँ ।

खरबौं सुक्ष्मजीवहरुको हाम्रो शरीर

धेरैलाइ थाह नहुन सक्छ — हाम्रो शरीरमा हाम्रै आफ्ना कोषहरुको संख्या भन्दा दश गुणा बढी त ब्याक्टेरिया र आर्किया जस्ता सुक्ष्म जीवहरुका कोषहरु हुन्छन । यस्तो सुक्ष्म-जीवहरुको समुहलाइ आजकल “microbiome” भनिन्छ — नेपालीमा सुक्ष्मजीवमण्डली भनौं । कति बाहिर छाला बस्छन त कति पेट भित्र । भनेपछि तपाईसंग खरबौं अरु जीवहरु पनि आश्रित हुने रहेछन । तर उनीहरुमध्य धेरैलाई सित्तैमा पाल्नुभएको छैन — यिनीहरु तपाईको खाना पचाउन सहयोग गर्ने देखि लिएर रोगको प्रतिरोध सम्म गरिदिने रहेछन । खासगरी पेटको जीवमंडलीले हाम्रो शारीरिक स्वास्थ्य मात्र नभएर दुखाइ कम गर्ने या अझ मानसिक स्वास्थ्यमा पनि ठुलो भूमिका खेल्न सक्ने देखिएकोले गर्दा यो अहिले स्वास्थ्य-बिज्ञान सम्बन्धि अनुसन्धानको हट-टपिक बनेको छ ।

मान्छे गुनाका मण्डली

तपाइका यी सुक्ष्म नन्दी-भ्रिंगी समूहको संरचना अरुसँग मिल्दैन । त्यसैले त अपराध अनुसन्धानमा समेत व्यक्तिको सुक्ष्म-जीवमण्डलीको संरचना हेरेर पनि अनुसन्धान गर्न सकिन्छ। वातावरण, खानपिन र दैनिक व्यवहारले समेत यस्तो संरचना उथल-पुथल भने पार्न सक्छ ।

मैलो कति खराब?

पश्चिमी मुलुकहरुमा एन्टी-ब्याक्टेरिअलले सफा-सुघ्घर रहने, शुद्द बनाउने चलनले या खाना प्रशोधित गर्नाले पक्कै पनि धेरै बिमारहरुबाट बचाएको छ तर यसको नराम्रो साइड-इफेक्ट अहिले आएर बल्ल थाह हुँदै छ । पूर्णत शुद्द वातावरणमा हुर्किएकाहरुमा एलर्जी बढी देखिएको छ भने धेरै प्रशोधित खानाहरुले क्यान्सर लगायतका अरु बिमारहरु पनि देखिन थालेका छन् । त्यहि भएर केटाकेटीहरुलाई केहि भएपनि धुलो मैलोमा खेल्न दिने र किटनाशक नहालिएका अर्ग्यानिक खाना खान तिर जोड दिइएको पाईन्छ ।

सामान्य प्रसव कि सिजेरियन बच्चा?

सिजेरियन सेक्सनबाट बच्चा जन्मिदा बाटो फरक हुनाले सुक्ष्म जीवमण्डलीको संरचना फरक पर्ने रहेछ र यस्तो संरचना सामान्य अवस्थामा आउन बच्चालाई केहि बढी समय लाग्ने रहेछ । त्यस्तै दुध चुसाउने सट्टा बोतल बाट खुवाउने गर्दा पनि फरक पर्ने रहेछ ।

एन्टी-बायोटिक कि प्रो-बायोटिक?

कुनै ब्याक्टेरिआ असाध्यै घातक हुन्छन । टाइफ़ाइड, टिबी जस्ता डरलाग्दा बिमारदेखि पिनास र टन्सिलसम्मको उपचारमा एन्टी-बायोटिकको जादु त देखिएकै छ । यस्ताखालका बिमार ठिक पार्दा घुन पिसीए झैँ पिसिने रहेछन् हाम्रा पेट मा रहेका साथि सुक्ष्म-जीवहरु । यस्ता औषधिको सेवनले पेट दुख्ने, पखाला लाग्ने लगायतका कति साइड-इफेक्ट त सुक्ष्म-जीव-मण्डलीको तहस-नहसले हुने रहेछ । आजकल सुक्ष्म-जीवमण्डलीको संरचना सामान्य अवस्थामा राख्नलाई प्रो-बायोटिकको चलन पनि चलेको छ (तर ख्याल गर्नुहोस – बजारमा पाइने धेरै जसो यस्ता सप्लिमेन्ट अतिरन्जित दाबि गरिएका हुन्छन)।

दिशाले उपचार !
कसैको जीवमण्डलीको संरचनामा रोग-प्रतिरोध गर्ने जीवाणुको मात्रा कम भएको खण्डमा स्वस्थ मान्छेको दिशाबाट राम्रो संरचनाको जीव-मण्डली पठाएर उपचार गरिन्छ ।

राम्रो संरचनाको लागि के गर्दा राम्रो ?

सुक्ष्मजीवमण्डलीमा धेरैजसो सुक्ष्मजीवहरु खास कुनै कामकै पनि नहुन सक्छन । यी खरबौं सुक्ष्मजीवहरुको मण्डलीमा कसले ठ्याक्कै के काम गर्छन, थाह हुन अझै निकै वर्ष लाग्नेछ । त्यसैले सुक्ष्मजीवमण्डलीको संरचना दुरुस्त राख्न बिशेषज्ञको सुझाव के रहेछ भने खानामा विविधता ल्याउने — अर्थात किटनाशक प्रयोग नगरिएका थरि थरिका खानाहरु, थरिथरिका सागपात, फलफूलले थरिथरिका सुक्ष्मजीवहरु भित्र्याउन सहयोग गर्छन ।

माइ सन्सारबाट

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Like us on Facebook