गृहपृष्ठ » चर्चाका चार » बैशाखका चर्चित व्यक्तिहरु

बैशाखका चर्चित व्यक्तिहरु

 Posted by Itahari Fm | error | १५९८ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार,विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
नयाँ बर्षको पहिलो महिना बैशाख निकै उचार चढावका गतिविधिसँगै वित्यो । विशेष गरी राजनितिक घटनाक्रम र चर्चाहरु बढि भए । स्थानिय तहको निर्वाचनको माहोल उत्कर्षमा पुग्दै गर्दा बदलिएको राजनितिक निर्णयसँगै पुनः सुस्ताउन पुग्यो । बैशाख ३१ गतेको चुनाव जेठ ३१मा पुग्यो । बैशाख ३१ लक्षित रहेर केही दलले आफ्ना उम्मेद्धार घोषणा गरे भने अन्य दलले सार्वजनिक गर्न नपाउँदै मिति सर्यो । घोषणा कार्यक्रम पनि सर्यो ।
राजनितिक घटनाक्रमसँगै भष्ट्राचारको भण्डाफोर भएको महिना पनि हो । कोशी अञ्चल यातायात कार्यालयमा भएको राजश्व भष्ट्राचारको घटनाले इटहरी मात्रै नभएर पुरै देशभर तरगं ल्याईदियो । यातायात घोटाला काण्डका कारण देशभरमा इटहरी खोजीको विषय बन्यो । ५७ करोड राजश्व भष्ट्राचार गरेको घटना सेलाउन नपाउँदै सोही कार्यालयका अर्का एक कर्मचारी ५ हजार घुस सहित पक्राउ परे । पूर्वकै घुसिया अखडाको रुपमा यातायात कार्यलय देखियो ।
बैशाख महिना नयाँ बर्षको महिना भएकाले खुसी उमगं साटासाट गर्ने महिना पनि भयो । विभिन्न मठमन्दिरमा मेला महोत्सवले चर्चा पाए । योसँगै पूर्वमै पहिलो पटक इटहरीमा फेसन परेटको आयोजना गरियो । पहिरन बुटिककी निलिमा थुलुगं पराजुली र अन्य व्यक्तिहरुको पहलमा भएको फेसन परेटले राम्रै चर्चा पायो । फेसन परेटमा क्याटवर्क गर्न विभिन्न शहरबाट सुन्दरीहरु इटहरी आए, परेट खेलेर गए । रोसन श्रेष्ठ सहितको टिमले फेसन परेटको कोरियोग्राफ गरेका थिए ।
संविधान संसोधनको माग गर्दै लिम्बुवानीदलहरुले आयोजना गरेको लाठी जुलुसले पनि इटहरीमा निकै चर्चाको विषय बन्यो । योसँगै बैशाख महिनामा अघिल्लो महिना इन्भारो केयर प्रा.लिले करिव ८ करोड क्षतिपूर्ति माग गरेको घटना पनि थामथुम भयो । निर्वाचनको मुखैमा अभिष्ट पुरा नहुने भएपछि ८ करोड पैसा मागेको घटनालाई भित्र भित्रै थामथुम पारियो जुन पुनः कहिले निस्कने हो टुंगो छैन । यो केशमा राजनितिक दलहरु तैँ चुप मैँ चुप भएर बोल्दै नबोलेरै टारे ।
समग्रमा यी र यस्तै घटना क्रमसँगै महिना वित्यो । यो महिना भएका चर्चित घटना मध्येका बढि चर्चामा आएका व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
सुरेश अधिकारी
सुरेश अधिकारी इटहरीमा खासै चिनिएको नाम होइन । तर बैशाख महिनामा उनी सवैको चर्चा तथा खोजीको पात्र बने । कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीमा विगत ५ बर्ष देखी हुँदै आएको भष्ट्राचार भण्डाफोर भएपछि उनी चर्चामा आएका हुन । यातायात कार्यलयमा करिव ५७ करोड राजश्व भष्ट्राचार गर्ने प्रमुख योजनाकार रहेको यातायात व्यवस्था विभागले सार्वजनिक गर्यो । लेखापाल रहेका अधिकारी र कार्यलय प्रमुख सहित ५ जनालाई विभागले निलम्बन गर्यो । सफ्टवेयर मार्फत जम्मा हुने राजश्व सरकारको ढुकुटीमा जम्मा नभएर उनको गोजीमा जाँदो रहेछ ।
जब घटना सार्वजनिक भयो तव इटहरीमा मात्रै नभएर देशैभर तरंग उत्पन्न भयो । यातायात विभागमा समेत भुकम्प नै गयो । एउटा लेखापालले कसरी त्यत्रो ठुलो रकम भष्ट्राचार गर्न सक्यो भन्ने भित्री तथ्यहरु अझै छलंग हुन सकेको छैन । बैकिंग प्रणाली मार्फत जाने रकम कसरी उनको गोजी सम्म पुग्यो यो खोजी कै विषय रहेको छ । बैंकको भुमिका पनि यहाँ शंकाको रुपमा हेरिएको छ । तर स्थानिय तथा राष्ट्रिय सञ्चार माध्यमहरुले अधिकारी र घटनाका विषयमा जुन तथ्यहरु सार्वजनिक गरे, त्यो आश्चर्य र पत्याउनै गाह्रो लाग्ने छन् ।
अधिकारीको नेतृत्वमा एउटा गिरोहो नै सक्रिय रहेछ । अधिकारीको टिमले संकलन गरेको रकम इटहरी देखी काठमाण्डौँ सम्म पुग्दो रहेछ । लामो समय इटहरी बसेका अधिकारीलाई सरुवा गर्न खोजे, ठुला दलका नेताहरुले सरुवा नगर्न दवाव दिँदा रहेछन् । यी र यस्ता चर्चाहरु एक पछि अर्को गर्दै सर्वाजनिक भए । इटहरीमा आर्थिक सहयोग नलिने त नेतै छैन भन्ने सम्म सुनियो । पैसाको खोलो नै बगाउने अधिकारीले घटना हुने केही दिन अघि मात्रै पनि पूर्वकै एक ठुला दलका नेता मार्फत दवाव दिएको सुनियो ।
उनको चरित्र पनि उस्तै, ऐयासी जिवन । ३ श्रीमतीलाई छुट्टा छुटै स्थानमा घर बनाएर राखेका । कान्छी श्रीमतिलाई इटहरीको रानीमहलमा राखेका छन् भन्ने चर्चा इटहरी बजारमा राम्रै चल्यो । विराटनगर र काठमाण्डौँमा पनि उनको घर रहेको पाइयो । घरमै बार र डिस्को रहेकोे, अघिपछि गुण्डा लिएर हिड्ने यस्ता चर्चाहरु इटहरीमा राम्रै छायो । दैनिक पैसा बाँड्ने एैयासी, मौजमस्तीमा रमाउने अधिकारी घटना सार्वजनिक भएसँगै फरार छन् । देशको ढुकुटी रित्याएर अधिकारी बैशाख महिना चर्चामा रहे ।
ठमनाथ लम्साल
ठमनाथ लम्साल इटहरीका परिचित व्यक्ति नै हुन् । चुनावी माहोल तातिरहेको समयमा उनी थप चर्चाको पात्र बनेर आए । हस्तलिखित प्रेस विज्ञप्ती मार्फत पाटीको साधरण सदस्य समेत नरहने गरी पाटी परित्याग गरेको घोषणा गरेपछि उनी एकाएक चर्चामा आए । निर्वाचनको मुखैमा नेकपा एमाले २ नम्बर क्षेत्रीय सचिव समेत रहेका लम्सालले पाटी परित्याग गरेपछि पार्टि भित्र ठुलै हल्लखल्ली मच्च्यिो ।
उनले आफु पाटी भित्र सुकुम्बासी बन्नुपरेको बताए । पाटीमा इमान्दार व्यक्तिको काम नरहेको, पाटिले निष्ठा छोडेको, नीति भन्दा गुट हावी भएको र पाटि भट्टिबाट सञ्चालन हुन थालेको जस्ता संघिन आरोप लम्सालले लगाए । उनको राजिनामासँगै एमाले पाटी भित्रको अन्तरविरोध सार्वजनिक भयो भन्ने बजारमा चर्चा भयो । पाटी भित्र उम्मेद्धारका आकाक्षीहरु धेरै भएको समयमा उनको राजिनामाले थप संकट ल्याएको थियो ।
उनले राजिनामा दिएपछि एमाले भित्र रातारात धेरै बैठक भए । राजिनामा दिएसँगै पाटी भित्रको गुट दुई चिरा हुने आशंकाहरु पनि गरिए । लम्सालको राजिनामालाई दुई तरिकाले औँल्याए । एक उनले पदका लागि बार्गेनिगं गरेको । अर्को उनी साँच्चै पाटि भित्र सुकुम्बासी थिए । चर्चा त के पनि चल्यो भने लम्सालले इटहरी ५का लागि वडाध्यक्षमा आफु हुनुपर्ने बताएका थिए । तर उनको नाम सिफारीसमा समेत नपरेपछि आक्रोशित भएका लम्सालले धम्क्याउन राजिनामा दिएको भन्ने चर्चा एमाले भित्रैबाट आएको थियो । उनी काम गर्न नसक्ने पद मात्र ओगट्ने व्यक्ति भएको एमालेकै कतिपय नेताहरुले सार्वजनिक स्थलका चिया चौतारीमा बताउने गरेका थिए । इटहरी ५कै काव्यवाटिकामा पनि अध्यक्ष भएर पद ओगटेको तर काम केही नगरेको,पुष्टिका लागि उदाहारण हुन्थ्यो ।
राजिनामासँगै उनको कार्यशैलीको विषयमा पनि चर्चा हुने गरेको थियो । उनको कार्यशैली जे जस्तो भएपनि राजीनामा प्रकरणले पाटी भित्र अप्ठ्यारो पार्न सक्ने र नराम्रो सन्देश जाने भन्नेमा नेताहरु विश्वस्त थिए । यहि कारण चौतर्फी दबाव आएपछि संगिन आरोप लगाएका लम्साल पुनः तिनै आरोपहरु लिँदै पाटीमा फिर्ता भए ।
अमृता सुब्बा
अमृता सुब्बा इटहरीमा चिरपरिचत नाम हो । उनी इटहरीमा बारम्बार चर्चामा आईरहने महिला मध्येमा पर्दछिन् । विशेष गरी उनको चर्चा सहकारीसँग जोडिएर आउने गर्छ । कहिले राजनितिसँग पनि जोडिने गर्छ । पछिल्लो पटक भने दुवै विषयसँग जोडिएर उनको चर्चा भयो । बैशाखको सुरुवाती तिर उनको नाम नेकपा एमालेको तर्फबाट उपमेयरको रुपमा चर्चामा आयो । उपमेयरको रुपमा चर्चा हुँदा उनका श्रीमान् तथा पूर्व मेयर सर्वध्वज साँवासँग पनि जोडिने गर्दथ्यो ।
तर केही पछि उनको नाम विभिन्न विवादमा मुछिएर आयो । महिला बचत तथा ऋण सहकारी संस्थाको आर्थिक हिनामिनाको विवादसँगै अमृता चर्चामा आईन् । पूर्वमै राम्रो मध्येमा पर्ने महिला बचत सहकारी संस्था भित्र लुकेको आर्थिक हिनामिना बाहिर छताछुल्ल भयो । संस्थाकी व्यवस्थापक यसोदा सेनेलाई संस्थाले बर्खात गर्यो । महिला बचतकी अध्यक्ष रहेकी अमृताले व्यवस्थापक सेनले ठुलो रकम हिनामिना गरेको आरोप लगाउँदै बर्खास्त गरिन् । व्यवस्थापक सेने सहित अन्य केही व्यक्तिले आफुखुसी पैसा लगेको संस्थाले पछिल्लो पटक गरेको अडित रिपोर्टमा पनि देखिएको सञ्चार माध्यमले लेखे । आर्थिक हिनामिनामा जोडिएकी लेखापाल निरु श्रेष्ठले आफुले तिर्नुपर्ने रकम तिर्ने भन्दै राजिनामा दिएकी छिन् । यो घटना सञ्चार माध्यममा सार्वजनिक भएपछि अहिले अध्यक्ष अमृता र व्यवस्थापक सेने दुवै चर्चामा छन् ।
आर्थिक विवाद त छँदै थियो तर यो विषयले राजनितिक मोड लिए पछि थप चर्चा पायो । दुवै नेकपा एमालेमा आवद्ध व्यक्ति हुन । तर अहिले दुई व्यक्तिलाई दुई गुटले पक्षपोषण गरेको चर्चा बजारमा छ । व्यवस्थापक सेने एमालेकै एक गुट लिएर अमृताको सेखी झार्ने पक्षमा रहेको विभिन्न सञ्चार माध्यमहरुले खवर लेखेका छन् । पेशागत महासंको सहयोग लिएर अमृता विरुद्ध सेने उत्रिएकी छिन् । यहि मौकामा अमृतलाई उपमेयरमा पनि छेक्ने अन्यको दाउ रहेको चर्चा पनि बजारमा छायो ।
अमृता भने आर्थिक हिनामिना गरेको देखादेखी चुप नबस्ने कारबाही गराएरै छाड्ने दाउमा छिन् भन्ने चर्चाहरु बजारमा सुनियो । केही समय अघि अमृताको विवाद पूर्व अध्यक्ष गिता श्रेष्ठसँग पनि थियो । अमृताले गितालाई पछि पार्दै अहिले संस्थाकी अध्यक्ष बनेकी हुन । जे होस् वादविवादका विच पनि अृमता चर्चामा भने आईरहकी छिन् ।
हिरा आचार्य
इटहरीबासी हिरा आचार्य राम्रै छवि बनाएका व्यक्ति हुन् । पछिल्लो समय ट्वीटेरिन युवा सर्कललाई लिएर उनले इटहरीमा सामाजिक गतिविधि गर्दै आएका छन् । बैशाख महिनामा आर्चायको चर्चा भयो । सवैले दुर्घन्धित भनी हेला गरेको टेगं्राखोलाको फोहोर टिप्न थालेपछि उनी चर्चामा आए । दैनिकजसो आचार्य दुर्घन्धित फोहोर टिप्न टेँग्राखोला भित्र पस्छन्, ट्युटे युवालाई लिएर । उनको यो दैनिकीले अहिले इटहरी बजारमा राम्रै चर्चा पाईरहेको छ ।उनीसँगै फोहोर टिप्न पछि अरु पनि थपिएका छन् । उनको यो अभियानले यस कारण पनि चर्चा पायो । जव इटहरीमा फोहोर संकलन गर्न पैसा लिने इन्भारो केयर प्रा.लिले ८ करोड क्षतिपूर्ति माग गर्दै फोहोर संकलन गर्न बन्द गर्यो । पैसा लिने कम्पनी घुर्की देखाउँदै फोहोर उठाउन छाड्ने तर पैसा नलिनेहरु फोहोर उठाउने खोला भित्र पस्ने ।
फोहोर उठाउन थालेपछि खोला केही सफा जस्तो देखिएको छ । तर यो अभियानले जति चर्चा पाएको छ, आलोचना पनि सँगै भैरहेको छ ।आलोचना गर्नेहरुले सफा गर्ने नाममा फेसन चलाएको आरोप लगाएका छन् । फेसबुकमा फोटो हाल्नका लागि गरिएको हो भन्ने चर्चा पनि बजारमा राम्रै चलेको छ । चर्चा यो पनि छ कि पछि मिसिएका केही अभियन्ता भन्नेहरुले फोहोर टिपेको देखाएर एनजिओ तथा आई एनजिओमा भजाउँदै छन् ।
चर्चा दुवै तरिकाले भएका छन् । काम राम्रो हो तर नीति पनिसँगै लिएर अघि जानुपर्छ भन्ने आवाज पनि उठ्न थालेका छन् । चर्चा जे होस् । तर आचार्यको अभियानले शहर सफा गर्ने ठेक्का लिएको इन्भारो र उपमहानगरपालिकालाई टेंग्राखोला पनि उपमहानगरपालिका भित्रै पर्छ र यो पनि सफा गर्नुपर्छ भन्ने आभास चाँही गराईदिएको छ । जेहोस् आचार्य खोला भित्रै पसेरै चर्चामा रहे ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook