गृहपृष्ठ » चर्चाका चार » बैसाख महीनाका चर्चीत अनुहार

बैसाख महीनाका चर्चीत अनुहार

 Posted by Itahari Fm | error | २३०४ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौ । इटहरीसँग सरोकार राख्ने बिषयसँग जोडिएर महिनामा सबै भन्दा धेरै चर्चामा आएका व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । सार्वजनिक ठाउँमा हुने चर्चा परिचर्चा र विभिन्न सञ्चार माध्यममा आएका समाचारका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्ने गर्छ । चर्चाका चार प्रस्तुत गर्नुको हाम्रो उद्देश्य सवै व्यक्तिहरुलाई समाजको हित अनुकुल लाग्न प्रेरणा मिलोस अनि समाजको हित विपरित काम गर्नेहरु निरुत्साहित हुन भन्ने हो । ०७३ सालको सुरुवाती महिना बैसाखमा पनि केही व्यक्तिहरु चर्चामा आए । जस मध्ये बढि चर्चा भएका चार ब्यक्ति यहा प्रस्तुत गरिएको छ ।

 

इश्वरी पराजुली

iswari इश्वरी पराजुली इटहरीका गन्तीकै ब्यक्ति हुन । तर बैसाख महीनामा भने उनको चर्चा उद्योग बाणिज्य संघको चुनाबले एकाएक बढ्यो । आउदो असार २३ गते नया नेतृत्व चयनकालागि उद्योग बाणिज्य संघ इटहरीको चुनाब हुने निष्चित भए पछि अहीले बरिष्ठ उपाध्यक्ष रहेका पराजुलीको भाबी अध्यक्षकारुपमा चर्चा बढेको हो ।
पहिलेनै संभाबित अध्यक्षको उमेरद्धवारका रुपमा हेरिए पनि भर्खरै सम्पन्न उद्योग बाािणज्य संघको साधारण सभामा पराजुलीले अध्यक्षकालागि सहयोग गर्न व्यवसायीहरुलाई औपचारिक आग्रह गरेपछि ब्यबसायी माझ उनी चर्चाको पात्र भैरहेका छन । इटहरीका प्राय सबै जसो ब्यबसायीसंग निकट र परिचित हुनु, अहीले उद्योग बाणिज्य संघको अगुवाइ गरि रहेका धेरै जसो ब्यक्तीहरुको समर्थन देखिनु र सामाजिक काममा यस अघिको उनको सकृयतालाइ उनको चुनाब जित्ने आधार देखाइएको छ । यसका साथै यस अघिका निर्बाचनमा अरु भन्दा लोकप्रीय मत ल्याएका कारण पनि पराजुली सम्भाबित अध्यक्षका रुपमा हेरिएका छन । उद्योग बाणिज्य संघको अध्यक्ष बन्नलाई पराजुलीले राष्ट्रिय जागृति क्वलको अध्यक्ष पनि छाडी सकेका छन् । काग्रेस निकट ब्यबसायी भएकाले उनलाइ काग्रेसको पनि सर्मथन रहने अनुमान लगाउन सकिन्छ । इटहरीका अरु ठाँउमा एमालेको पकड भए पनि उद्योग बाणिज्य संघ लगायतका सामाजिक संघ सस्थामा नेपाली काग्रेस निकट ब्यक्तिलेनै नेतृत्व गरि रहेका छन । यस पटक यही निरन्तर हुने संभावना यस कारण पनि छ की एमाले निकटका युबा ब्यबसायीहरु पनि पराजुलीसंग निकट छन र उनलाइ जिताउन भित्रि रुपमै भए पनि लागि पर्न सक्छन । तर एमालेले पनि उद्योग बाणिज्य संघको नेतृत्वलाइ आफ्नो प्रतिष्ठाकै बिषय बनाएको छ । यस अघि एमालेको नगर कमिटिमा रहेका लिलम बस्नेत यस पटक उद्योग बाणिज्य संघमा उठ्नकैलागि नगर कमिटिमा गएनन् । बस्नेत पनि अध्यक्ष बन्नकालागि हात जोड्दै बजारमा भोट माग्न थाली सकेका छन । लिलम बस्नेत पनि स्ट्रोग उमेरद्धार मानिन्छन ।
भोली चुनावमा कसले बाजी मार्ला त्यो हेर्न त पर्खनै पर्ला तर बैसाखमा भने चुनाबी चर्चामा पराजुली अगाडी देखिएका छन ।

 

महेशराज तिम्सिना

mahesh इटहरी उपमहानगरपालिका कार्यकारी अधिकृत हुन महेशराज तिम्सिना । इटहरीमा सरुवा भएर आए देखी नै उनी समय समयमा चर्चामा आईरहेका छन् । चर्चाका लागि विषय फरक छन । तर चर्चाको क्रम रोकिएको छैन । कोही कोहीले के के….. भन्छन । तर बढि चर्चा उनको सरुवा हुने हल्ला र सिटी सफारीसँग जोडिएर भैरहेको छ ।
तिम्सिना इटहरी सरुवा भएर आएको केही महिना पछाडि नै उनको सरुवा हुने र पुरानै कार्यकारी अधिकृत पशुपति खतिवडा आउने हल्ला चलेको थियो । तर उनको सरुवा पनि भएन । हल्ला चल्न पनि छाडेन । निरन्तर चलिनै रह्यो । पछिल्लो महिना पनि उनको सरुवा आजै भयो भोली नै भयो भन्दै सार्वजनिक स्थलमा चर्चाका विषय बने ।
उपमहानगरपालिका कर्मचारी र उनको  काम गर्ने तरिका नमिलेका कारण पनि यस्ता हल्लाहरु बाहिर आएको धेरैले भन्ने गरेका छन् । मुखको भरमा कार्यालय सञ्चालन नभई सिस्टमले चल्नुपर्छ भन्ने उनी कर्मचारीको रुचिमा परेका छैनन् भन्ने चर्चा छ ।
यस्तै चर्चाका बिच शहरमा सिटी सफारीले समस्या बढाईरहेका बेला पुन नयाँ दर्ता खुल्ला गरेपछि उनी थप चर्चामा आए । राजनितिक दलले तिव्र दवाव दिएपछि आफुले दर्ता खुलाएको उनले बताउने गरेका छन् । तर सिटी सफारीले दुर्घटना बढाइ रहेका बेला दलको दबाबमा कार्यकारीले निर्णय लिदा उनी आलोचनाको पात्र बने । सरुवाको हल्ला त अब सदाबहार हल्ला नै भयो सडक अस्त ब्यस्त भैरहेका बेला सिटी सफारी थप्ने निणर्य गर्दा चै खै कतै केही भएर पो यस्तो भयो की भन्ने पनि सुनिन्छ । यी कुरा खुल्दै जालान । अहीलेका लागि त यस्ले चर्चाको पात्र मात्र बनाइ रहेको छ ।

 

केशव विष्ट

kesab केशव विष्ट इटहरीका लागि मात्र परिचित व्यक्ति होइनन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब भए पछि उनी राष्ट्रिय रुपमै परिचीत र चर्चीत छन । राष्ट्रिय चर्चाले इटहरीमा प्रभाब नपार्ने भन्ने कुरै भएन । केसब बिष्ट यो महिना इटहरीमा पनि चर्चाकै पात्र बने । पछिल्लो पटक अन्तरराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथी प्रतिबन्ध लगाएपछि सदस्य सचिव विष्ट पुन चर्चामा आएका हुन ।
नेपाली खेल क्षेत्रमा क्रिकेटले एक पछि अर्को गर्दै सफलता पाईरहेको अवस्थामा नेपाली क्रिकेट क्षेत्र खस्कीने गरि भएको यो प्रतिबन्ध नेपालका लागि घातक बन्दैछ । क्यानमा प्रतिबन्ध लाग्नुको कारण राष्ट्रिय खेलकुद परिषद नै भएपछि यसका सदस्य सचिव विष्ट अहिले चर्चामा आएका हुन । क्रिकेटको के्रज बढिरहेको अवस्थामा आएको यो समस्यालाई उनले कसरी समाधान गर्नेछन् भनेर सवैको खोजीको विषय बनेको छ । तर उनी समाधान तर्फ भन्दा आफै राखेप मार्फतनै क्रिकेट गराउने तयारीमा लागेका छन । खेलप्रेमीहरुले उनको तिव्र आलोचना गर्न थालेका छन् । आलोचनाको गति बढि रहेको छ । क्यान माथीको प्रतिबन्ध केशव विष्टका लागि फलामको चिउरा झैँ भईरहेको छ । यदि पहिलेनै यो समस्या समाधान गरेको भए उनी हाइहाइृ पनि बन्न सक्थे । तर उनी खेलकुद परिषदको सदस्य सचिब भन्दा पार्टी कार्यता बढि भएको आरोपको सामना गर्न बाध्य छन ।
हुन त उनको नियुक्ति नै विवादका वीच भएको थियो र समय समयमा उनी यसरी नै विवादमा तानिएका छन् । जे होस, जसरी भएपनि केशव विष्ट यो महिना भर चर्चामा आए र आईरहेकै छन् ।

 

हेमसागर तिम्सिना

hemबर्षको सुरुवाती महिना त्यसमा पनि शैक्षिक क्षेत्रमा कमाउ महिना । यो महिना शैक्षिक क्षेत्रमा धेरै विवाद तथा चर्चाहरु बाहिर आए । ति विवादले केही व्यक्तिहरुलाई चर्चित बनायो । यसअघि जनता कयाम्पसको बिबादले चर्चामा आएका हेमसागर तिम्सिना बैसाख महिनामा पनि लेनदेनकै बिषयमा इटहरीमा चर्चामा आए । पछिल्लो पटक उनको चर्चा विद्यार्थी संगठनले गरेको आन्दोलनसँग जोडिएर आएको हो ।
उनी आवद्ध भएको विद्यार्थी संगठनको जिल्ला तहले इटहरीको बेविलोन बोर्डिगंमा तालाबन्दि गरेको थियो । स्विकृती लिएको भन्दा माथीको कक्षा सञ्चालन गरेको, विद्यालय परिषरबाटै किताव विक्रि गरेको विषयमा अखिल क्रान्तिकारीले तालाबन्दि गरेको थियो ।
यो तालाबन्दिसँगै आर्थिक विषयमा तिम्सिनाको नाम जोडिएपछि उनी चर्चामा आएका थिए । बेविलोनका सञ्चालकले आर्थिक विषयमा संगठन र उनको नाम जाडेपछि विवादमा परेका थिए । आर्थिक विषय र हेमसागर तिम्सिनाको चर्चाले संगठनको आन्दोलन पनि निल्नु न ओकल्नुमा परेको थियो । आन्दोदन त्यसै सेलाएर गयो । अखिल क्रान्तिकारीले बेविलोनमा लगाएको ताला पछि विद्यालय प्रशासनले आफै फुटायो । बिद्यालय प्रसासनले तिम्सीनालाइ पैसा मागेको र नदिँदा ताला लगाएको आरेप लगायो । यस अघि जनता क्याम्पसमा पनि पैसाको कुरा आउनासाथ तिम्सीनाको नाम आएकाले उनी यस पटक पनि चासो र चर्चाको पात्र बने ।
जिल्ला अदालत सुनसरीमा मेलमिलापकर्ताको काम गर्ने तिम्सीनालाइ पैसाको बिषयमा यसरी पटक पटक आरोप लाग्न थाले पछि उनले मेलमिलापका क्रममा मा के गर्लान भन्ने प्रश्नले पनि बजार पायो । तिम्सीनामाथी विद्यार्थीलाई उचालेर आन्दोलन गर्न लगाउने गरेको आरोप पनि लाग्ने गरेको छ । बिद्यार्थी राजनितबाट माथी उक्सी सकेका तिम्सीनाले यस्ता आरोपलाइ हासी मजाकको रुपमा पनि लिने गरेका छन । आरोपलाइ हासी मजाक गरेर चर्चामा आइ रहनु भन्दा आफ्नो भबिष्यमा दाग लाग्न नदिनु बुद्धिमानी होला । तर तिम्सीना के गर्छन त्यो उनै जानुन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook