गृहपृष्ठ » चर्चाका चार » माघ महिनामा चर्चामा रहेका ब्यक्तिहरु

माघ महिनामा चर्चामा रहेका ब्यक्तिहरु

 Posted by Itahari Fm | २०७२ फागुन ६ | ११८६ पटक

चर्चाका चार हामी हरेक महीना प्रस्तुत गर्छौ । इटहरीसंग सरोकार राख्ने बिषयसंग जोडिएर महीनामा सबै भन्दा धेरै चर्चा भएका व्यक्ति यहाँ प्रस्तुत गरिन्छ । सार्बजनिक ठाँउमा हुने चर्चा परिचर्चा र सन्चार माध्याममा आएका समाचारका आधारमा इटहरी एफ.एम.को समाचार टिमले चर्चीत ब्यक्तिको छनौट गर्ने गर्छ । चर्चाका चार प्रस्तुत गर्नुको हाम्रो उदेष्य सबै व्यक्तिलाइ समाजको हित अनुकुल लाग्न प्रेरणा मिलोस् र समाजको हित विपरित काम गर्नेहरु निरुत्साहित हुन् भन्ने हो । माघ महिनका चर्चितहरु

हेमकर्ण पौडेल
हेमकर्ण पौडेल बारम्बार चर्चामा आउने व्यक्ति हुन । कहिले कुन विषय त कहिले कुन विषयका कारण उनको इटहरीमा चर्चा भईरहन्छ ।पछिल्लो समय नेपाली काँग्रेसको १३ औँ महाधिवेसनका कारण उनी पुन इटहरीमा चर्चित बने । अधिवेसनमा नगरसभापति जितेर उनी चर्चित बने । सवैले सोचेको भन्दा फरक र अत्यधिक मतले विजयी भएपछि सवैलाई आश्चर्यमा बनाए । उनले आफुसँगै विद्यार्थी राजनितिबाट आएका इटहरीका अर्का प्रभावशाली युवा विकास केसीलाई कडा चुनौती दिँदै झण्डै दोब्बर मतको अन्तरले विजयी भए । hemkarna
यो जित उनको लागि स्वभाविक थिएन । इटहरीकै एक व्यक्तिलाई अपहरण गरेको मुद्दा खेप्दै आएका उनलाई जिल्ला अदालत सुनसरीले अधिवेसनको मुखैमा ३ बर्ष ६ महिना कैद फैसला सुनाएको थियो । यो फैसला उनका लागि चुनावमा हराउने ठुलो कसी बन्न सक्थ्यो । फैसलाको मानसिक तनाव, अर्को तर्फ इटहरीका बढे काँगे्रस भनेर चिनिएका सवै हस्तीहरु उनको विपक्षमा लागेका थिए । यस्तो विषम परिस्थितिमा पौडेलले मैदान छाड्ने र नछाडे नराम्रो हार व्यहोर्नुपर्ने आकलन समेत केहीले गरेका थिए ।
तर उनले फैसलाबाट सहानुभुती चै पाए । उनलाई मत आउनमा पछिल्लो समयमा इटहरी उपमहानगरपालिकाको बजेट निति तथा कार्यक्रमका क्रममा उनले खेलेको भुमिकाले काम गरेको एक थरिको विश्लेषण पनि छ । योजना छनौट र अन्य कार्यमा जनतासँगको लगातारको सम्पर्क उनलाई जित दिलाउने कसिलो कडी बनेको हो भन्ने कतिपय विश्लेषकहरुको भनाई छ ।
जसरी होस पौडेल इटहरीमा लगातार चर्चामा रहने व्यक्ति बनेका छन् । जुन विषयका कारण भएपनि उनी महिनाभर इटहरीबासीका लागि चर्चा गर्ने व्यक्ति बने । इटहरीका लागि राजनितिक सेलिव्रेटि बनेका छन् हेमकर्ण पौडेल ।

धनु याख्या
धनु याक्खा इटहरीमा धेरैले चिनेका ब्यक्ति होइनन् तर यो महीना उनी एका एक चर्चित बन्न पुगे । कला साहित्यको क्षेत्रमा चासो राख्ने कतिपयले उनलाई चिने पनि इटहरीको ताल तलैयामा आयोजित एकता मुर्तिकला कार्यशालाले उनलाई इटहरीमा परिचित बनाई दियो । अहिले कार्यशालामा आयोजित मुर्तिहरुको चर्चा हुने गरेको छ । त्यति नै चर्चा यो कार्यशालालाई इटहरीमा ल्याउने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको मुर्तिकला विभागका प्रमुख धनु याख्खाको हुने गरेको छ । mmm
धनु याख्खा पदिय हिसावले नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको मुर्तिकला विभागका प्रमुख हुन । तर यो भन्दा पनि उनी इटहरीका स्थायी बासिन्दा पनि हुन । इटहरीको वडा नम्बर ३ स्थायी घर भएका याख्खा इटहरीमा बसेर मुर्तिकलाको क्षेत्रमा लागेका थिए । तर पछि उनी काठमाण्डौँ गएपछि इटहरीबासीले विर्सिएका थिए । इटहरीका अर्का मुर्तिकार विक्रमश्रिसँगै उनले इटहरीमा मुर्तिकलाको क्षेत्रमा काम गरेका थिए । इटहरीमा विगतमा पनि उनले ठुलो योगदान पुर्याएका थिए ।
मुर्तिकला विभागको प्रमुख नै बनेपछि र उनकै पहलमा अन्तराष्ट्रिय स्तरको मुर्तिकला कार्यशाला आयोजना भएपछि उनी एकाएक चर्चित बन्न पुगेका थिए । एकता अन्तराष्ट्रिय मुर्तिकला नाम दिएर आयोजना गरेको कार्यशालमा विदेशी ५ जना सहित नेपालका २१ जना कलाकारहरुले मुर्ति बनाएका थिए । आयोजकका प्रमुख रहेका उनले स्वयंम पनि छुट्टै एउटा मुर्ति बनाएका थिए ।
कार्यशालामा विभिन्न आश्चर्यजनक मुर्तिहरु निर्माण गरिएका छन् । जसको यतिवेला सर्वत्र चर्चा हुने गरेको छ र धेरै मानिसहरु मुर्तिको अवलोकनका लागि आउने गरेका छन् । एउटा बनभोज खाने र घुम्ने ठाउँ बनेको ताल तलैयालाई मुर्तिकला कार्यशाला मार्फत मुर्तिकलाको खुल्ला संग्राहलय बनाएको भन्दै सवै इटहरीबासीले उनलाई महिना भर सम्झीरहे ।

वियोग सापकोटा
फरक क्षमता भएका कवि वियोग सापकोटा यो महिना चर्चामा आए । राम्ररी लेख्न र बाोलन नसक्ने वियोगको तेस्रो कविता संग्रह वियोगका कविता पुस्तक सार्वजनिक भएपछि उनी चर्चामा आएका हुन । वियोग सापकोटा शारिरीक रुपमा अशक्त रहेपनि बौद्धिक हिसावले क्षमतावान कवि हुन । वियोग बोल्न सक्दैनन्, उनका हात खुट्टाले काम गर्न सक्दैनन् । तर उनको क्षमता अद्भत छ । उनले जे बोल्यो त्यो साहित्य बन्छ । उनले विस्तारै लरबरिदै बोलेको कुरा कविता, कथा, निवन्ध बन्छ । उनीसँग यस्तो अद्भतु शक्ति छ जुन अरुमा सायदै हुन्छ । उनी भित्र प्रष्फुटित भएका कुराहरु उनी संग्रह गरेर राख्न सक्छन्, जस्तो की कुनै मेमोरीमा डाटा स्टोर गरेर राखिन्छ । यसै गरि उनी मनभित्रका कुराहरुलाई संग्रह गरेर राख्नसक्छन् । आफुसँग नजिक भएका र आफुले बोलेको बुझ्न सक्ने कसैको साहरामा त्यसलाई लिपीबद्द गर्छन् । biyog
यसरी नै उनका दुई सन्तान छोराछोरीले लेखिदिएर तयार भएको कविता संग्रह इटहरीमा सार्वजनिक भएको थियो । यस अघि वियोगका दुई कविता संग्रह सार्वजनिक भई सकेका छन् । उनका खुकुरी र खुल्ला पानामा छरिएका अक्षरहरु सार्वजनिक भएका छन् ।
उनको साहित्यक अभिव्यक्तिलाई साहित्यकारहरु अब्बल दर्जाको मान्दछन् । उनको चर्चा मदनपुरस्कार विजेता साहित्यकार झमककुमारी सँग गर्ने गरिन्छ । उस्तै शारिरीक क्षमता भएका कारण उनको झकमसँग तुलना गर्ने गरिएको हो । तर झमक आफ्नो कुरा खुट्टाले लेख्न सक्छीन तर वियोग त्यो पनि गर्न सक्दैनन् ।
वियोग आफ्नो साहित्यीक क्षमताको अभिवृद्धिका लागि मोरगंको बेलबारीबाट इटहरी आएका थिए । तर पनि उनी अझै ओझेलमा पर्दै आएका छन् । नाम चलेका साहित्यीक व्यक्तिहरुले पनि सहि मार्ग दिन सकेका छैनन् ।
तर माघ महिना वियोगका लागि फलदायी बन्यो । प्रगतिशिल लेखक संघले उनको तेस्रो कविता प्रकाशन गरिदियो । तेस्रो कविता संग्रह सर्वाजनिक भएपछि ओझेल परेका वियोग फेरी एक पटक उज्यालोमा आएका छन् । उनका कविताको सवैले तारिफ गरेका छन् । यसरी उनी चर्चामा आए ।
केशव दाहाल
नया शक्तीले केशव दाहाललाइ फेरी चर्चामा ल्याएको छ । स्वतन्त्र राजनितिक विश्लेषकका रुपमा पहिचान बनाएका उनी बाबुराम भट्टराईको नयाँ शक्तिको अन्तरिम केन्द्रिय परिषदमा परेपछि चर्चित बनेका हुन । हुन त उनी नयाँ शक्तिको बहस सुरु भएदेखी नै चर्चामा थिए । बाबुरामको नयाँ शक्तिसँग नजिक रहेर वकालत गर्दै आएका उनलाई सवैले नयाँ शक्तिमा आबद्ध हुन्छन् भन्ने अनुमान गरेकै थिए । तर उनले भने मुख खोलेका थिएनन् । अन्नत उनी नयाँ शक्तिको अन्तरिम केन्द्रिय परिषदका सदस्य तथा कार्यलय व्यवस्थापन तथा अनुगमन विभागका संयोजक बनेका छन् । kesab-dahal
यसअघि नै वैकल्पिक विचार मञ्च गठन गरी दाहालले पूर्वका विभिन्न ठाउँमा कार्यक्रम पनि गरि सकेका थिए । विभिन्न एनजिओ र आइएनजिओ प्रभावकारी सञ्चालनमा सक्रिय रहदा पनि उनी इटहरीका हर्ताकर्ताकै रुपमा चिनिन्थे । निकै चतुर व्यक्तिको रुपमा उनलाई लिन गरिन्छ ।
उनको नयाँ शक्तिको प्रवेशलाई आश्चर्यको रुपमा नलिए पनि सवैले चर्चा गर्ने व्यक्ति भने बनेका छन् । वैकल्पिक विचार मञ्चका अन्य केही व्यक्तिहरु पनि नयाँ शक्तिमा गएका छन् । यो सँगै उनकै प्रभावमा अन्य थुप्रै व्यक्तिहरु पनि नयाँ शक्तिमा जाँदै छन् भन्ने चर्चाले पनि निकै व्यापकता पाएको छ । हरेक क्षेत्रमा हुने नयाँ शक्तिको चर्चामा केशव दाहालको चर्चा हुने गरेको छ । यो सँगै उनले अव को को मानिसहरु लाने हुन भन्ने आशंकाहरु व्यक्त हुन थालेका छन् । जे होस् केशव दाहालको चर्चा चुलीदै आएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook