इटहरीको मुख्य चौकको पूर्व लाइनमा रहको सुविधा मार्केट भित्रका दुई घरहरुमा भएको भिषण आगलागीबाट १२ करोड १४ लाख रुपैयाको क्षति भएको प्रारम्भीक तथ्यांक बाहिर आएको छ । आगलागीबाट दुई घर धनीको घर र ५ व्यापारीको पसलमा क्षति पुग्दा १२ करोड बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले जानकारी दिनुभयो ।
आगलागीबाट घर धनीहरु कालीप्रसाद पोखरेल र राजकुमार लिम्बुको घर, व्यापारीहरु रिता पाल, श्यामबहादुर भण्डारी, नवराज घिमिरे, टंक खत्री र राजेन्द्र कुमार बिमलीको पसलमा क्षति पुगेको हो ।
चौकको पूर्व लाइनमा रहेको फेसन महल भएको राजकुमार लिम्बुको घर र जनता उच्च मावि अगाडिको कालीप्रसाद पोखरेलको घरमा हिजो दिउसो ५ बजेदेखि राती अबेरसम्म आगलागी भएको थियो । आगलागी राती करिब साढे ११ बजेतिर नियन्त्रणमा आएको हो ।
आगो नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय खटिएका थिए भने इटहरी, बिराटनगर, धरान, इनरुवा, दमक, बिर्तामोड, राजविराज, धनकुटा र लाहानका दकमल प्रयोग गरिएपछि मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । एकै पटक आठ वटा भन्दा बढी दमकलको मद्धतमा छ घण्टा भन्दा बढी समयसम्म प्रयास गरेपछि बल्ल आगो नियन्त्रणमा आएको हो ।
सुरुमा नियन्त्रणको प्रयास गरेपनि बन्द रहेको सटर र साँघुरो गल्लीका कारण नियन्त्रणमा लिन समस्या भएको थियो । जेसिबि लगाएर सटर फुटाएपछि भित्र रहेको आगो नियन्त्रण थालिएको थियो । बिहिबार इटहरी बन्द हुने भएकाले पनि आगो लागेर सटर बाहिर मात्र देखिएपछि मात्र स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
कालीप्रसाद पोखरेलको घरमा रहेको अरुण पालको कपडाको होलसेल पसलबाट अचानक आगालागी सुरु भई फैलिदा दुई घरमा रहेका अन्य पसल र गोदाम घरमा आगो लागेको थियो । पोखरेलको घरमा रहेको अरुण पालको पसल र पछाडि रहेको कपडाको गोदाम घर इटहरी चौकको पूर्व लाइनतर्फ रहेको राजकुमार लिम्बुको घरसँग जोडिएकाले पोखरेलको घरबाट सुरु भएको आगो लिम्बुको घरमा सल्कीएको जनाईएको छ । पाल होलसेल कपडाको पूर्वकै ठूला व्यापारी भएको बताईएको छ । पालको गोदाममा रहेका करोडौका कपडा जलेर नष्ट भएका छन् भने लिम्बुको घरमा रहेको श्याम भण्डारीको पसलमा समेत क्षति पुगेको व्यवसायीहरुले जानकारी दिएका छन् ।
चौक क्षेत्रकै घरमा आगलागी भएपछि इटहरीको मुख्य चौक हुदै जाने पूर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको एक किलोमिटर क्षेत्रमा गाडि चल्न नदिइ वैकल्पिक मार्गबाट चलाएर मुख्य चौक क्षेत्रमा उच्च सतर्कता अपनाई दकमल र अत्यावशेक सवारी मात्र चल्न दिइएको थियो । यस्तै विद्युत प्राधिकरणले पनि इटहरीमा विद्युत काटेको थियो ।
आगलागी भएपछि हजारौंका संख्यामा इटहरीबासीहरु आगो निभाउन र आगो लागेको हेर्न जम्मा भएका थिए । बन्द सटरबाट आगो लागेकाले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।।
सुरेश घिमिरे






