गृहपृष्ठ » चर्चाका चार » इटहरीमा सर्वाधिक चर्चामा रहेका व्यक्तिहरु

इटहरीमा सर्वाधिक चर्चामा रहेका व्यक्तिहरु

 Posted by Itahari Fm | २०७२ मंसिर २ | २८६१ पटक

चर्चाका चार हामी हरेक महीना प्रस्तुत गर्छौ । इटहरीसंग सरोकार राख्ने बिषयसंग जोडिएर महीनामा सबै भन्दा धेरै चर्चा भएका व्यक्ति यहाँ प्रस्तुत गरिन्छ । सार्बजनिक ठाँउमा हुने चर्चा परिचर्चा र सन्चार माध्याममा आएका समाचारका आधारमा इटहरी एफ.एम.को समाचार टिमले चर्चीत ब्यक्तिको छनौट गर्ने गर्छ । चर्चाका चार प्रस्तुत गर्नुको हाम्रो उदेष्य सबै व्यक्तिलाइ समाजको हित अनुकुल लाग्न प्रेरणा मिलोस् र समाजको हित विपरित काम गर्नेहरु निरुत्साहित हुन् भन्ने हो । भर्खरै सकिएको कात्तिक महिनामा इटहरीमा सर्वाधिक चर्चामा रहेका व्यक्तिहरु यस्ता छन् :-

केशव दाहाल
kesab-dahalकेशव दाहाल इटहरीका लागि मात्र होइन देशकै लागि नौलो नाम होइन । स्वतन्त्र राजनितिक विश्लेषकका रुपमा उनको पहिचान छ । यसअघि विभिन्न एनजिओ र आइएनजिओ प्रभावकारी सञ्चालनमा सक्रिय रहदा पनि उनी इटहरीका हर्ताकर्ताकै रुपमा चिनिन्थे । अहिले भने उनको चर्चा एमाओवादीबाट अलग भएका नेता बाबुराम भट्टराईसँग जोडेर हुन थालेको छ । नयाँ शक्तिको बहस सुरु हुदादेखि नै बाबुराम भट्टराईसँग निकट देखिन थालेका दाहाल अहिले भट्टराई एमाओवादीबाट अगल भएपछि त्यहि नयाँ शक्ति निर्माणमा सक्रिय रहेको भन्ने चर्चा छ । यसअघि नै वैकल्पिक विचार मञ्च गठन गरी दाहालले भट्टराईसँग विभिन्न कार्यक्रमहरु समेत गरेका थिए । बाबुरामको नेतृत्वमा बन्ने नयाँ शक्तिमा प्रभावशाली विचारक र नेताका रुपमा उनको उपस्थिति हुन सक्ने चर्चा अहिले बजारमा छ । वैकल्पिक विचार मञ्चकै सदस्यहरुले समेत बाबुराम र मञ्चबिच नयाँ शक्ति निर्माणको बहस बाक्लिएको स्वीकार गर्दै एक हुन सक्ने अभिव्यक्ति सार्वजनिक गरेपछि दाहालको चर्चा अझै चुलिएको छ ।

राजेश श्रेष्ठ
rajesh shresthaराजेश श्रेष्ठ इटहरीका एक प्रभावशाली, बुद्धिजीवि र समाजसेवी व्यक्तिका रुपमा चिनिन्छन् । नागरिक समाजका पूर्व अध्यक्ष समेत रहेका र अहिले पनि विभिन्न एक दर्जन बढी संघसंस्थाका सल्लाहकार समेत रहेका श्रेष्ठ उनको अटेरी व्यवहारले आलोचित हुदै चर्चामा छन् । कुरा उनको निर्माणाधिन भवनकै विषयमा केन्द्रित छ । जहाँ उनले इटहरीको मुख्य चौकदेखि पूर्वतर्फको पैदल यात्रु हिड्ने बाटो र ट्याक्सी रोक्ने ठाउँ कब्जा गर्दै आफ्नो निर्माण सामग्री थुपारेका छन् । भवन निर्माण गर्दा ठाउँ नहुदा जो सुकैले पनि सडक प्रयोग गर्ने गर्छन् नौलो होइन । तर सडक नै बिगारेर, चार महिना भन्दा लामो समयदेखि लगातार र विभिन्न समूह र इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत समेतले बारम्बार हटाउन भन्दा पनि अटेर गरेर कानमा तेल हालेका कारण भने उनको आलोचना बढी भएको हो । बाटोमा निर्माण सामग्री राखेर उनले गरेको अवरोध र त्यसले पारेको असरका विषयमा लोकलदेखि राष्ट्रियस्तरका मिडियाहरुमा समेत बारम्बार समाचारहरु आइसके । यसअघिका कार्यकारी अधिकृतले, केआईसी इटहरीले समेत बारम्बार हटाउन आग्रह गरे तर समाजसेवी, बुद्धिजीवि र नागरिक समाजका पूर्व अध्यक्षले नटेरेको देखेर भने सबै तिनछक परेका छन् ।

हेम घिमिरे
hem-ghimireहेम घिमिरे इटहरीका एक व्यवसायी हुन् । तर उनको परिचय यत्ति मात्र भन्यो भने उनीमाथि अन्याय हुन्छ । घिमिरे इटहरीका एक सामाजिक विकास अभियन्ता पनि हुन् । उनकै महत्वपूर्ण पहलमा इटहरीमा बुढी जमुना मुक्तिघाट निर्माण सम्पन्न भएको हो । जुन घाट पूर्वमै नमुना घाटका रुपमा रहेको छ । अहिले पनि उनी बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिका अध्यक्षका रुपमा घाट रहेकै क्षेत्र वरपर वृहत्तर योजना सहितको विकास अभियानमा सक्रिय छन् । सो क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्र र सम्पूर्ण मानव मात्रको तिर्थस्थल बनाउनका लागि उनी लागि परेका छन् । भर्खरैबाट बुढी खोलामा डुंगा सञ्चालन गर्ने काम सुरु भएको छ भने मुक्तिघाटमा ३३ प्रकारका देवी देवताका मुर्ति स्थापना गर्ने, बुढी खोलाको कटान नियन्त्रण गर्ने लगायतका विभिन्न विकास निर्माणका काम नागरिकस्तरबाट गर्ने योजनाका साथ उनी सक्रिय छन् । विकास अभियानको उनको नेतृत्वदायी सक्रियता अहिले चर्चाको विषय बनेको छ ।

राजु केसी

raju kcराजु केसी भन्नासाथ अहिले संगीत साधाना प्रतिष्ठानको नाम जोडीने गरेको छ । नेपालमै पहिलो पटक नागरिकस्तरबाट निर्माण भइरहेको संगीत विद्यालय, सांस्कृतिक सम्पदा संग्रहालय र अत्याधुनिक संगति गृह निर्माणको उनको निरन्तर पहल र सक्रियता चर्चाको विषय बनेको हो । नेपाली लोपउन्मुख वाद्यवाधन, संगीतको जोगेर्ना, संगीतको अनुसन्धान, अन्वेषण सहितको महत्वकांक्षि योजनाले अहिले सबैलाई लोभ्याइरहेको छ । जसले केसी सहितका टिमले थालिरहेको प्रतिष्ठान निर्माण अभियानमा महत्वपूर्ण सहयोग पनि जुटिरहेको छ । सात करोडको लगानी जुटाउन उनी नागरिक स्तरबाट लागेको देखेरै पनि धेरै दंग पर्ने गरेका छन् । तर अहिले शिक्षालय निर्माण सुरु भएपछि उनको अभियानले सार्थकता पाउने अपेक्षा गर्दै धेरैले केसीको प्रसंसा गर्न थालेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook