गृहपृष्ठ » अर्थतन्त्र » डा. नेपाल गभर्नर हुनुका पाँच कारण

डा. नेपाल गभर्नर हुनुका पाँच कारण

 Posted by Itahari Fm | २०७१ चैत्र ६ | ३१५ पटक

२८ वर्ष प्राध्यापक पेशामा विताएका डा. चिरञ्जिवी नेपाल एक त्यस्तो भाग्यशाली नेपाली हुन्, जो एक दशकयता कुनै न कुनै सरकारी नियुक्ति खाइरहेका छन् ।

एक वर्ष धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष बनेका डा. नेपाल उनको शैक्षिक पृष्ठभूमिभन्दा विल्कुलै फरक क्षेत्रको नियुक्ति खाइरहे । जस्तो कि, ०६६ सालमा सुजाता कोइराला परराष्टमन्त्री हुँदा उनको सल्लाहकार समेत भए । त्यसपछि उनी नोबेल कलेजको प्रिन्सिपल भएर केही समय विताए ।

लगत्तै कर्मचारी मन्त्रिपरिषद्मा शंकर कोइराला अर्थमन्त्री हुँदा उनी प्रमुख आर्थिक सल्लाहकार बन्न पुगे । सुशील कोइराला प्रधानमन्त्री भएपछि उनको आर्थिक सल्लाकारको रुपमा काम गरिरहेका थिए । राज्यमन्त्रीको सेवा सुविधा लिइरहेका डा. नेपालले नेपाल राष्ट्र बैकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीसँग प्रतिष्पर्धा गरी सजिलै गर्भनरको पदमा पुगे ।

०५६ सालमा गर्भनरमा डा. तिलक रावलको नियुक्तियता नेपाल राष्ट्र बैंकसँग कुनै न कुनै रूपमा जाेडिएका व्यक्ति मात्रै गर्भनर भएका थिए । भलै उनीहरु फरक–फरक राजनीतिक पृष्ठभूमिका किन नहुन् । अनौठो त के भने, नेपाल राष्ट्र वैंकको इतिहासमै अर्थतन्त्रको ‘कोर’ विषयमा ज्ञाता नभइकनै पहिलोपटक गर्भनर बन्ने सौभाग्यसमेत पाए डा. नेपालले ।

नेपाल राष्ट्र बैंकको १६ औं गभर्नरको रुपमा डा. नेपालले यही हप्तादेखि पदभार सम्हाल्दैछन् । अबको केही महिनामै उनको हस्ताक्षरसहितको नोटहरु नेपाली बजारमा देख्न पाइनेछ ।

झट्ट हेर्दा यिनी सजिलै गभर्नर बनेको देखिन्छ । यद्यपि, त्यो सत्य होइन । उनी गभर्नर हुने खास पाँच कारणहरु छन्, जसले केही व्यक्ति–व्यक्तिको दीर्घकालिन स्वार्थपूर्ति गर्न उनलाई सजिलै यो उच्चपदमा पु¥याएको हो ।

१. सुशील र सुजताको आर्शिवाद
राष्ट्र बैंकमा १० वर्षपछि आफू निकटको व्यक्तिलाई गभर्नर बनाउन सफल भएको छ कांग्रेस । प्रधानमन्त्री कोइरालाको इच्छामा अहिले डा. चिरञ्जिवी नेपाल राष्ट्र बैंकको नेतृत्वदायी पदमा पुग्न सफल भएका छन् ।

विद्यार्थी जीवनबाटै कांग्रेस निकट राजनीतिमा लागेका उनी पछिल्लो समयमा सुशील कोइराला निकट रहेर काम गरिरहेका थिए । त्यस बाहेक उनलाई शक्तिशाली पदमा पु¥याउन कांग्रेस नेतृ सुजाता कोइरालाको मूख्य हात रहने गरेको छ ।

२. कोइराला परिवारलाई दीर्घकालिन सपोर्टका लागि

कोइराला नेतृत्वको सरकार बनेसँगै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद खाली भएको थियो । उक्त पदमा आफूलाई नियुक्ति गराउन नेपालले निकै दौड धुप गरेका थिए । तर, अर्थमन्त्री डा. रामशरण महत यसमा सहमत नभएपछि प्रधानमन्त्रीले गभर्नरको आश्वासन देखाएर थामथुप पारेका थिए । त्यसबेला छिमेकी मुलुक भारतमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारलाई गभर्नर बनाएको सन्दर्भ ताजै थियो ।

यसैलाई हेरेर पनि डा. नेपालले योजना आयोगको उपाध्यक्षको दावेदारी छाडेका थिए । करीब २ महिना अघि उनकै घरमा भएको कुराकानीमा नेपालले भनेका थिए, ‘छिमेकी मुलुकमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारलाई गभर्नर बनाइएको नजिर छ । यहाँ पनि त्यसको केही न केही प्रभाव पर्छ । आर्थिक सल्लाहकारलाई नै गभर्नर बनाउँदा सरकारलाई सजिलो हुन्छ ।’ यसले प्रष्ट बुझाउँछ–उनको गभर्नर पद कोइराला परिवारको दीर्घकालिन लाभसँग जोडिएको छ ।

३. महामन्त्रीसँग गभर्नर पद साटासाट
अर्थमन्त्री डा. रामशरण महत डा. नेपाललाई गभर्नर बनाउने पक्षमा थिएनन् । डा. नेपाल कर्मचारी अर्थमन्त्री शंकर कोइरालाको प्रमुख आर्थिक सल्लाहकार रहेको समयदेखि नेपाल र महतको सम्बन्ध चिसिएको थियो । देशको अर्थतन्त्र प्रभावकारी ढंगले अघि बढाउनको लागि अर्थमन्त्री र गभर्नरको सम्बन्ध निकै सुमधुर हुन आवश्यक छ । यी दुई बीचको सम्वन्ध त्यति सहज नभएका कारण महत नेपाललाई गभर्नर बनाउने पक्षमा थिएनन् ।
तर, प्रधानमन्त्रीले गभर्नर सिफारिस गर्दा डा. नेपालको नाम जसरी पनि समावेश गर्न अर्थमन्त्रीलाई दवाव दिइरहे । यही कारण नयाँ गभर्नरको नाम छनौट गर्न अर्थमन्त्री संयोजक रहेको समितिलाई एक महिना लागेको थियो । अन्ततः कोइरालाले अर्थमन्त्री महतलाई पार्टीको आगामी महाधिवेशनमा संस्थापन पक्षको तर्फबाट महामन्त्रीको उम्मेदवार बनाउने आश्वासन दिएपछि अर्थमन्त्री महत डा. नेपाललाई गभर्नर बनाउन तयार भएको स्रोतको जिकिर छ । पार्टीभित्र वौद्धिक व्यक्तिको रुपमा महतको चर्चा हुने गरे पनि उनलाई माथिल्लो पदमा पु¥याउनको लागि आवश्यक मत महतसँग छैन । यही कारण अर्थमन्त्री महत कोइरालाको आश्वासनमा परेको स्रोतको दाबी छ ।

४. पदका लागि भक्तिगान
डा. नेपाल सधै पदमा रहिरहन चाहने चरित्रका व्यक्ति हुन् । उनको पृष्ठभूमि विश्वविद्यालयको प्राध्यापक भए पनि उनी करिब डेढ दशकदेखि शक्तिशाली पदमा आसिन छन् । पदका निम्ति शक्ति केन्द्र धाउने चरित्र नेपालको रहेको उनका निकटस्थहरु बताउँने गर्दछन् ।
श्रम र अर्थतन्त्रको सम्बन्धमा विद्यावारिधि गरेका नेपाल २८ वर्षदेखि प्राध्यापन पेशामा छन् । उनी ६ वर्ष काठमाडौ विश्वविद्यालयको भिजिटिङ प्रोफेसर भइसकेका छन् ।

अहिले नेपाल आर्थिक संघका उपाध्यक्ष रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्सको प्रमुख सल्लाहकार समेत भइसकेका छन् । त्यसैगरी, नेपाल उद्योग परिसंघको विज्ञ सदस्यको रुपमा पनि उनले काम गरेका थिए । बनेपा रहेको आईटी पार्कको पहिलो प्रमुख बनेका उनी नेपाल औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यकारी निर्देशक पनि बनेका थिए ।

यस बाहेक धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष समेत बनेका नेपाल सुजाता कोइराला परराष्ट मन्त्री हुँदा उनको सल्लाहकार समेत बनेका थिए । त्यसबेला पदबाट विचैमा राजिनामा दिएर हिडेका नेपालले त्यसपछि नोबेल कलेजको प्रिन्सिपल भएर पनि केही समय विताए ।

त्यसैगरी, शंकर कोइराला अर्थमन्त्री हुँदा प्रमुख आर्थिक सल्लाहकार बनेका नेपाल सुशील कोइराला प्रधानमन्त्री भएपछि उनको आर्थिक सल्लाकारको रुपमा काम गरिरहेका थिए । यसले के देखाउँछ भने उनी पदका लागि जुुनसुकै शक्तिकेन्द्र भक्तिगान गाउन पछि पर्दैनन् । होइन भने एउटै व्यक्ति जीवनमा यति धेरै ‘भर्सटायल’ नेतृत्वमा पुग्न असम्भव नै हुन्छ ।

५. सजिलो गोटी
नवनियुक्त गभर्नर डा. नेपाललाई नजिकबाट बुझ्नेहरु भन्छन्– उनी राजनीतिक नेतृत्वले भनेको वा निर्देशन दिएको कुरा कहिल्यै टार्न सक्दैनन् । आफूलाई बनाएको व्यक्तिप्रति उनी सदा वफादार रहने प्रयास गर्दछन् । त्यसैले पनि राष्ट्र वैंककै सक्षम डेपुटी गनर्भरलाई पन्छाएर डा. नेपाल नै प्रधानमन्त्री कोइरालाको पहिलो रोजाइमा परेका हुन् । कोइरालालाई यो पनि थाहा छ कि, डा. नेपाललाई जहिल्यै आफ्नो स्वार्थ अनुकुल प्रयोग सकिन्छ ।

डा. नेपाललाई गभर्नर बनाउनमा राजनीतिक नेतृत्वबाहेक बाह्य चलखेलले पनि ठूलै काम गरेको छ । जस्तो कि, निर्वतमान गभर्नर डा. युवराज खतिवडाको निर्णयबाट प्रताडित भएका घर–जग्गा व्यवसायीहरुका लागि डा. नेपाल उपयुक्त र सजिला पात्र हुन् । त्यसैगरी, डा. खतिवडाले आफ्नो अन्तिम कार्यकालमा विना स्रोत विदेशबाट आएको चर्चित व्यापारी अजेय सुमार्गीको नौं अर्वौ रुपैयाँ रोक्का गरेका थिए । यो रकम फुत्काउन सुमार्गीले राजनीतिक तहमा कुरा मिलाइसके पनि डा.खतिवडा बाधक बनेका थिए ।

यी विविध कारणले डा. नेपाललाई कुबेर थुप्रो जिम्मा लगाएको भए पनि उनलाई पदमा पु¥याउनेहरुको स्वार्थ अनुकुल काम गर्न भने सहज छैन । किनभने, एक्लो गभर्नरले राष्ट्र वैंकमा सबै निर्णय कार्यान्वयन हुँदैन । राष्ट्र बैंकका अनुभवी डेपुटी गभर्नरसहितको उच्चपदस्थ नीति निर्माता तहलाई एक्लो गभर्नरले क्रस गर्र्र्र्नै सक्दैन । त्यसैले डा. नेपालको वास्तविक परीक्षाका दिन अब सुरू भएका छन् ।

(नेपालीपत्रमा राखिएको उद्धब थापाको बिचार)


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook