गृहपृष्ठ » News » विद्या मन्दिर अगाडि बिषको व्यापार

विद्या मन्दिर अगाडि बिषको व्यापार

 Posted by Itahari Fm | २०७१ माघ १८ | ४३० पटक

जिम्मेवार निकाय गैरजिम्मेवार
सुरेश घिमिरे
विद्या आर्जन गर्ने विद्यालयको एक सय मिटर वरपर धुम्रपान एवं मदिरा जन्य वस्तु बिक्रि वितरण गर्न नपाइने नियम भएपनि सुन्दरदुलारी नगरपालिका क्षेत्रका अधिकांश सामूदायीक तथा संस्थागत विद्यालय अगाडि खुलेआम धुम्रपान तथा मदिरा जन्य वस्तु बिक्रि वितरण हुदै आएको छ । विद्यालय जस्तो विद्या मन्दिर अगाडि नै मन्द बिष मानिएका धुम्रपान र मदिरा जन्य वस्तुहरुको बिक्रि वितरण भइरहेपनि विद्यालय व्यवस्थापन समीती, श्रोत केन्द्र, जिल्ला शिक्षा कार्यालय र प्रहरी प्रशासनले समेत त्यसलाई हटाउन कुनै पहल गरेका छैनन् । विद्याको मन्दिर अगाडि भइरहेको धुम्रपान र मदिराका पसल हटाउने जिम्मेवारी कसको भन्ने सम्बन्धमा राखेको जिज्ञासामा एकले अर्कालाई देखाएर पन्छिने प्रयास गरेका छन् ।
सुन्दरदुलारीका अगुवा तथा नमुना विद्यालयहरु सुन्दरदुलारी ७ स्थित साजिलाल उच्च माध्यामिक विद्यालय र सुन्दरदुलारी ६ गोठगाउँ स्थित पञ्चायत माध्यामिक विद्यालय अगाडि नै धुम्रपान र मदिरा बेच्ने पसलहरु खुलेआम सञ्चालनमा छन् । सुन्दरदुुुलारी क्षेत्रकै सरस्वती विद्या मन्दिर, टेन्डर फिट बोर्डिङ स्कुल, जुपिटर बोर्डिङ स्कुल, माउण्ट मकालु बोर्डिङ स्कुल, ज्योति माध्यामिक विद्यालय लगायतका विद्या आर्जन गर्ने मन्दिर वरपरका एक सय मिटर क्षेत्रका पसलहरुमा पनि चुरोटको बिक्रि वितरण हुने गरेको भेटिएको छ ।
साजिलाल उच्च माविको गेटमै जोडिएको धर्मनारायण चौधरीको घरमा चौधरी आफैले मदिरा सहितको होटल सञ्चालन गरीरहेका छन् । उनको होटल साजिलाल उच्च माविमा अध्ययनरत प्लस टुका विद्यार्थीहरुको चुरोट तान्ने अखडा रहेको साजिलालकै एक विद्यार्थीले बताएका छन् । केहि विद्यार्थीहरुले चौधरीको होटलमा रक्सी समेत खाने गरेको विद्यार्थीहरुले बताएका छन् । ‘केहि साथीहरु क्लासमै पनि ह्याङ मुडमा हुन्छन् ।’ नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थीले भने ‘त्यो चौधरीको होटल केटाहरुको चुरोट तान्ने अखडा नै हो ।’ होटलका सञ्चालक चौधरीले भने पहिलेका विद्यार्थीहरुले होटलमा रक्सी खाने गरेपनि अहिलेका विद्यार्थीहरुलाई भने आफूले नदिने गरेको दावी गरेका छन् । चौधरीले भने ‘विद्यालय अगाडि रक्सी बेच्नु त नहुने हो तर हामीले विद्यार्थीलाई बेचेको छैन ।’ विद्यालय व्यवस्थापन समीती भने विद्यालयको गेटमै रहेको मदिरा पसलबारे बेखबर देखिएको छ । विद्यालय व्यवस्थापन समीतीका अध्यक्ष हरी घिमिरेले विद्यालय अगाडि मदिरा र धुम्रपान बेच्ने पसल रहेको बारे आफूले ख्याल नै नगरेको बताए । घिमिरेले यसबारेमा व्यवस्थापन समीती र विद्यालय कुरा गर्ने भन्दै विद्यालय अगाडि मदिरा बेच्नु ठिक नभएपनि आफूलाई हटाउने अधिकार रहे नरहेको बारे आफू अनविज्ञ रहेको बताए । ‘निजि घरमा गरीरहेको व्यापार रोक्नु ठिक हो की होइन ? यो हाम्रो क्षेत्राधिकारभित्र पर्छ की पर्दैन ?’ घिमिरेले भने ‘विद्यालय भित्र चाँहि हामीले कडाई गरीरहेका छौ ।’
यस्तै गोठगाउँको पञ्चायत मावि अगाडि पश्चिम पट्टि रहेको गोपाल पौडेलको गोपाल होटलमा पनि धुम्रपान र मदिराको खुलेआम कारोबार हुने गरेको छ । विद्यालयका विभिन्न सूचनाहरु समेत टाँसिने उनको होटलमा पनि विद्यार्थीहरुले लुकेर चुरोट तान्ने गरेको स्थानियले बताएका छन् । सो होटलमा विद्यालयका शिक्षकहरुले समेत धुम्रपान गर्ने गरेको स्थानियको भनाई छ । विद्यालयको एक सय मिटर वरपर नै नियम मिचेर यसरी होटलहरुले मदिरा बिक्रि वितरण गरीरहेपनि नियन्त्रण गर्नुपर्ने र त्यसका लागि पहल गर्नुपर्ने सरोकारवालाहरु भने तैँ चुप मैँ चुपको अवस्थामा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक दुर्गा दाहालले आफूलाई कुनै आदेश नआएकाले काम नगरेको बताए । प्रहरीको विशेष काम अपराध भएपछि अनुसन्धान गर्ने र शान्ति सुरक्षा कामय गर्ने भएको भन्दै उनले विद्यालय वरपरका धुम्रपान र मदिरा पसल हटाउने त्यहाँ बेच्न नदिने निति कार्यन्वयन गर्ने कसले भन्ने आफूलाई थाहा नभएको बताए । ‘प्रहरीले के के मा ध्यान दिने ?’ प्रश्न गर्दै उनले भने ‘वन हेर्ने पनि प्रहरी, खोला हेर्ने पनि प्रहरी, सबै प्रहरीले मात्र हेर्नुपर्ने ? अरुले पनि त हामीलाई उजुरी गर्नुपर्यो ।’
यता जिल्ला शिक्षा कार्यालय मोरङले भने विद्यालय व्यवस्थापन समीती, श्रोत केन्द्रहरुले नै यसविषयमा बढी ध्यान दिनुपर्ने जनाएको छ । सहायक जिल्ला शिक्षा अधिकारी जयप्रसाद महतले समूदायमा बसेर छलफल गरी त्यस्ता पसल हटाउने पहिलो दायीत्व विद्यालय व्यवस्थापन समीतीको हुने बताए । महतले सबैलाई सचेत गराएर हटाउन श्रोत व्यक्तिहरुले पनि ध्यान दिनुपर्ने बताए । ‘पहिलो दायीत्व विद्यालय व्यवस्थापन समीतीको हो, श्रोत व्यक्तिको हो ।’ सहायक जिशिअ महतले भने ‘उनीहरुले ध्यान नदिए हामी पनि गर्छौ ।’ तर अहिलेसम्म जिल्ला शिक्षा कार्यालयमा यस्ता उजुरी नआएको र अनुगमन पनि नगरीएको उनले बताए ।
सरकारले २०६८ साउन २२ गतेदेखि लागू हुने गरी सार्वजनिक स्थान तथा विद्यालय क्षेत्रभित्र धुम्रपान एवं मदिरा जन्य वस्तुको विक्रि वितरणमा रोक लगाएको थियो । जसमा सार्वजनिक स्थान तथा विद्यालय क्षेत्रको एक सय मिटर वरपर कुनै पनि सूर्तिजन्य वस्तुको बिक्रि वितरण गर्न नपाईने नियम छ । तर नियमको ठोस कार्यान्वयन अझै हुन सकेको छैन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg