प्रमुख राजनीतिक दलहरु एकसाता भित्र सभासद् मनोनित गर्ने तयारीमा जुटेका छन् ।
खासगरि, प्रधानमन्त्री सुशील कोइरालाले सभासद् मनोनित गर्ने विषयमा पहलकदमी लिनुभएको छ । प्रधानमन्त्री कोइरालाले यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसक्नुभएको बालुवाटार स्रोतले बतायो ।
सभासद् बन्नका लागि काँग्रेसका शीर्ष नेताहरुबीच त्यतिसारै लडाईं छैन । अधिकांश नेताहरु प्रत्यक्षबाट निर्वाचित भइसकेकाले काँग्रेसले नागरिक समाजबाट सभासद् मनोनयनलाई प्राथमिकता दिने एक नेताले बताए ।
सर्वोच्च अदालतले यसअघि प्रत्यासी भएका तथा समानुपातिकको वन्द सूचीमा नाम भएकाहरुलाई सरकारले मनोनित गर्ने २६ मा नपार्न निर्देशनात्मक आदेश दिएको थियो । तर, सरकारले सर्वोच्चको आदेश पुनरावलोकनका लागि निवेदन दिएकाले सर्वोच्चको आदेश पनि लत्याइएमा काँग्रेसबाट आमोद उपाध्याय, दिपकुमार उपाध्याय, दिलेन्द्र वडु लगायतका नेता मात्र हैन, पत्रकारका नेता हरिहर विरही तथा धर्मेन्द्र झा पनि २६ मा पर्नेमा आशावादी छन्।
तर, सर्वोच्चको आदेश कार्यान्वयन गरिएमा भने विभिन्न पेशा व्यवसायमा रहेका धेरै काँग्रेसीहरुले २६ भित्र पर्ने भन्दै मनमनै लड्डु फुटाउन थालेका छन्।
नागरिक समाज तथा पेशा व्यवसायबाट मात्र सभासद् मनोनित गरिएमा काँग्रेसले पाउने ९ सभासदमा डा सुरेश चालिसे, मृदुला कोइराला, पुरुषोत्तम बस्नेत, केशव अधिकारी, यदुनाथ खनाल, डा जीवराज पोखरेल, रामेश्वर साह र भोगन्द्र उपाध्यायको प्रारम्भिक सूची बनाइएको छ । प्रशासनिक सेवाबाट बाबुराम आचार्य र उमेश मैनालीमध्ये एकलाई पनि सभासद् मनोनित गर्ने बारे पनि छलफल भइरहेको छ ।
यता, नेकपा एमाले भित्र पनि मन्त्रिपरिषदबाट मनोनित हुने कोटामा सभासद् बन्न तीव्र दौडधुप जारी छ ।
मन्त्रिपरिषद्बाट मनोनित हुने २६ जनामा चुनाव हारेका र समानुपातिकको बन्दसूचीमा रहेकाहरुले समेत नपाउने भएपछि विभिन्न पेशा व्यवसायमा रहेका एमाले समर्थितहरुले दौडधुप बढाएका हुन् ।
कानुन क्षेत्रबाट अग्नी खरेल, विश्वकान्त मैनाली र गोविन्द शर्मा, गैरसरकारी क्षेत्रबाट अर्जुन कार्की र गौरी प्रधान, सञ्चार क्षेत्रबाट सूर्य थापालाई सभासद् बनाउन तीव्र लबिङ भइरहेको छ । यता, शिक्षा क्षेत्रबाट भने उमेशलाल श्रेष्ठ र भोजबहादुर शाहको चर्चा छ ।
यसैगरी, प्रवासबाट एनआरएनका सल्लाहकार एवं निवर्तमान महासचिव तेन्जी शेर्पा चर्चामा छन् । तेन्जीलाई सभासद् बनाउन एमालेको कोरिया, यूएई र कतारका प्रवासी संगठनमात्र होइन, सोलुखुम्बु पार्टी कमिटीले समेत औपचारिक रुपमै पार्टी केन्द्रीय कमिटीसँग माग गरेको छ । तेन्जी उपयुक्त स्थान दिनुपर्ने भन्दै सभासद् नभए राजदूत या पार्टीको विदेश विभागमा लैजाने विषयमा पनि एमालेमा चर्चा छ ।
सरकारले भोलि आइतबारसम्म संविधानसभामा मनोनित हुने सभासद मनोनयन गर्ने भनिए पनि सत्तारुढ नेकपा एमालेले आफ्नोतर्फबाट पठाउने नामका बारेमा कुनै गृहकार्य गरेको छैन । एमालेले तयारी नगरेको हुँदा आइतबार मनोनयन हुने सम्भावना देखिंदैन ।
संविधानसभा निर्वाचनमा भाग लिएका तथा बन्द सूचीमा रहेका नेताबाटै सभासद् मनोनित गर्ने अवस्था रहे एमालेबाट महासचिव इश्वर पोखरेल तथा नेताहरु प्रदीप नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, नरेश खरेल लगायतको नाममा चर्चा चलेको छ । एमालेको भागमा ८ सभासद परेका छन् ।
सभासद् मनोनयनका लागि अनौपचारिक छलफल र कुराकानीहरु भइरहे पनि एमाले बैठकमा भने यसले अहिलेसम्म स्थान पाएको छैन ।
पार्टीभित्र छलफल गर्न बाँकी नै रहेकाले सभासद् मनोनयन गर्न करिब एक साता लाग्न सक्ने एमाले सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, सर्वोच्च अदालतको आदेशले गर्दा कस्तालाई मनोनित गर्ने भन्नेबारेमा एमाले टुंगोमा पुगेको छैन ।
यता, एमाओवादी भने गुटउपगुटकै राजनीतिमा रुमल्लिएकाले सभासद् चयनका विषयमा कुनै टुंगोमा पुग्न सकेको छैन । पार्टीभित्र अध्यक्ष प्रचण्डले कब्जा जमाएको तथा समानुपातिक सभासद् चयन गर्दा पनि एकलौटी गरेको भन्दै बाबुराम भट्टराई पक्षले सभासद् मनोयनमा आफ्नो वर्चश्व दाबी गरिरहेको छ ।






