बारम्बार बाढि र कटान भोग्दै आएका सप्तकोशी प्रभावित सुनसरीका विभिन्न क्षेत्रका बासिन्दाहरु सुनकोशी थुनिने गरि गएको पहिरोका कारण त्रसित भएका छन् । पहिरोले थुनिएको सुनकोशीले जाम भएको ढिस्को भत्काउन साथ बाढी सप्तकोशी हुदै सुनसरीका विभिन्न ११ गाविस क्षेत्रमा समेत पस्ने खतरा रहेकाले उनीहरु त्रसित भएका हुन् ।
विशेष गरि महेन्द्रनगर, प्रकाशपुर, श्रीपुर, हरीपुर, पूर्व कुशाह, पश्चिम कुशाह, बराहक्षेत्र, मधुवन, भोक्राहा, लौकही र राजावास गाविसका बासिन्दाहरु बाढीको त्रासमा रहेका छन् । यसअघि २०६५ साल भदौ २ गते सप्तकोशीको पूर्वी तटबन्ध भत्कीदा समेत सुनसरी सहित आसपासका क्षेत्रका हजारौ जनता प्रत्यक्ष प्रभावित भएका थिए ।
विभिन्न समयमा आएका बाढीका कारण सुनसरीका एक लाख भन्दा बढी सर्वसाधारण प्रभावित भएका थिए । प्रभावित र विस्थापितहरु अझै पनि विभिन्न संघर्ष गरिरहेका छन् । सप्तकोशी डुबान कटान पिडित संघर्ष समीतीका सचिव बाबुराम कार्कीले अहिले पनि पिडितहरु त्रसित अवस्थामा रहेको बताउनुभयो ।
उहाँका अनुसार विशेष गरि कोशीले टापु बनाएको श्रीलंका टापु क्षेत्रका बासिन्दा बाढी त्रासमा रहेका छन् । सो क्षेत्रमा रहेका १० हजार बढी बासिन्दालाई बाढी अघि नै सुरक्षित स्थानमा पुर्याउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला द्धैवी प्रकोप उद्धार समीती सुनसरीले समेत सुनसरीको महेन्द्रनगर र प्रकाशपुर गाविसका केहि वडाहरुलाई उच्च जोखिम क्षेत्र घोषणा गरेको छ । त्यस्तै अन्य ९ गाविसमा समेत सचेत रहन माईकिङ गरिरहेको छ ।
कोशीमा पानिको बहाब बढ्ने र तटबन्ध जोखिममा पर्ने खतराले ब्यारेजका ५६ वटै ढोला खुला समेत गरिएको छ ।
सुरेश घिमिरे
इटहरी






