कर कार्यालयका केहि कर्मचारी समेतको मिलेमतोमा सुनसरीका विभिन्न संघसंस्थाहरुले गैर लेखापरिक्षकद्धारा किर्ते लेखापरिक्षण गराउने गरेको खुलासा भएको छ । नेपाल अडिटर्स एसोसिएसन सुनसरीले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरि किर्ते लेखापरिक्षण हुने गरेको प्रमाण सार्वजनिक गरेको हो ।
आधिकारीक लेखा परिक्षककै नाममा गैर लेखापरिक्षकहरुले गरेको विभिन्न संस्थाको लेखापरिक्षण प्रतिवेदन फेला परेपछि नेपाल अडिटर्स एसोसिएसनले किर्ते काम गर्ने गैर लेखापरिक्षक र गराउने संस्थालाई कार्बाहि गर्न समेत माग गरेको छ । झापामा बस्दै आएका लेखापरिक्षक तुलसी कार्कीको नामबाट धरान ९ स्थित एशियन कलेज अफ टेक्नोलोजी प्राली, पिआर कन्सलटेन्सी प्राली र धरान ८ को प्रदिति ज्वेलरी शपको लेखापरिक्षण गरेको किर्ते प्रतिवेदन आन्तरिक राजश्व कार्यालय धरानमा भेटिएको छ । लेखापरिक्षक तुलसी कार्कीका अनुसार सो लेखापरिक्षण आफ्नो नाममा धरानका विश्वराम कार्कीले गरेको बुझिएको छ । उनले प्रेम लिम्बुको नाममा रहेको एशियन कलेज अफ टेक्नोलोजी प्राली र पिआर कन्सलटेन्सीको लेखापरिक्षणमा तुलसी कार्कीको नाम, व्यवसायीक प्रमाणपत्र नम्बर र पान नम्बर तथा लेटर प्याड प्रयोग गरेको भेटिएको नेपाल अडिटर्स एसोसिएसन सुनसरीले जनाएको छ । तुलसी कार्कीका अनुसार प्रेम लिम्बुलाई कर कार्यालयकै केहि कर्मचारीले विश्वराजले राम्रो लेखापरिक्षण गर्ने भन्दै लेखापरिक्षण गराउन लगाएको थिए ।
सुनसरीका लेखापरिक्षकहरुले आफ्ना नाममा यस्ता धेरै किर्ते लेखापरिक्षण गरेको हुनसक्नेतर्फ समेत सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । अर्डिटर्स एसोसिएसनले जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा किर्ते लेखापरिक्षण सम्बन्धमा उजुरी समेत दिएको छ भने आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई लेखा परिक्षण गराउने संस्था उपर छानविन गर्न समेत माग गरेको छ । नेपाल अडिटर्स एसोसिएन सुनसरीका अध्यक्ष शान्तिराम खनालले एक जना लेखा परिक्षकले एक सय वटासम्म संस्थाको लेखा परिक्षण गर्न पाउने भएपनि सुनसरीमा भएका संघसंस्थाहरुको लेखापरिक्षण आफूहरुले पर्याप्त गर्न नपाएको हुनाले नै किर्ते लेखापरिक्षण हुने गरेको स्पष्ट हुने बताए ।
सुनसरीका प्रायजसो लेखा परिक्षकले एउटा दुईटा संघसंस्थाहरुको मात्र लेखा परिक्षण गर्न पाएको लेखा परिक्षक पोषराज नेपालले बताए । लेखापरिक्षक भरतकुमार ताम्राकारले तथ्य र केहि प्रमाणका आधारमा सुनसरीमा लेखापरिक्षणमा अत्यन्तै अनियमितता रहेको पुष्टि हुने बताए । संघसंस्थाहरुले लेखापरिक्षण आधिकारीक लेखापरिक्षकबाट मात्र गर्नुपर्ने भएपनि लेखापरिक्षकहरुले एउटा लेखा परिक्षण गरेको १० हजार भन्दा बढी लिने हुदा व्यवसायी तथा संघसंस्थाहरुले गैर लेखापरिक्षकहरुमार्फत नै लेखा परिक्षण गराउने क्रम बढेको हुनसक्ने बताईन्छ । अर्कोतर्फ गैर लेखापरिक्षकमार्फत नै लेखापरिक्षण गराई आधिकारीक लेखापरिक्षकलाई हस्ताक्षर मात्र गर्न लगाउने परम्परा पनि पछिल्लो समय सुनसरीमा मौलाउदै गएको छ । सुनसरीमा लेखा परिक्षण गराउनुपर्ने दुई हजार आठ सय ९४ वटा संघसंस्था रहेका छन् भने ५९ जना मात्र आधिकारिक लेखापरिक्षक रहेका छन् ।
सुरेश घिमिरे
इटहरी,
गृहपृष्ठ » News » कर कार्यालयका कर्मचारीको मिलेमतोमा किर्ते लेखापरिक्षण फष्टायो
कर कार्यालयका कर्मचारीको मिलेमतोमा किर्ते लेखापरिक्षण फष्टायो
Posted by Itahari Fm | २०७१ साउन १० | ३०३ पटक

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




