गृहपृष्ठ » News » मुटुरोगी बको उपचारका लागि संकलित रकममा,सम्योजकले गरे बदमासी

मुटुरोगी बको उपचारका लागि संकलित रकममा,सम्योजकले गरे बदमासी

 Posted by Itahari Fm | error | ३६ पटक

काठमाडौं, १६ साउन । आजकल कोही दीर्घरोगी या खर्चिलो बिरामी भएको खण्डमा ‘बचाउ अभियान’ बनाएर बिरामी बचाउन सक्रिय भएका समाचार यत्रतत्र आइरहेका छन् । यस्ता अभियानले धेरैको ज्यान जोगाउन पनि सफल भएको छ । कहिलेकाँही अभियानकर्ताले बिरामीकहाँ सहयोग पुर्‍याउन नसकेको घटना पनि छिटफुट रूपमा नसुनिएको भने होइन । यस्तै एउटा घटना इटहरीमा घटेको छ ।

सन्दर्भ भोजपुर स्थीत हतुवागढी गाउँपालिका वडा नं. ६ का भोजराम राईको छोरी बिबिना राईको हो । ११ वर्षीय बिबिना राई मुटुको विरामी थिइन् । बिबिनाका दिदी तथा आफन्तले बिबिनालाई इटहरीमा झारे । सहयोगको हात फैलाउँदा धरानमा रहेका गायक तथा संगीतकार प्रभाकर राई उर्फ रामचन्द्र राईले बिबिना राईको उपचारार्थ अभियान शुरु गरे । यस अभियानमा चर्चित हास्य कलाकार उमेश राई (फुलेन्देकी आमा)ले पनि साथ दिएका थिए ।

बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तथा गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौका बिशेषज्ञहरुका अनुसार उनको मुटु फेर्नुपर्ने, यदि त्यसो नगरे केही बर्षका लागि मात्रै उनलाई बचाउन सकिने भएपछी उनको बचाऊमा आर्थिक संकलन अभियान शुरु गरिएको थियो। विशेषज्ञहरुका अनुसार उपचार सम्भव हुने तर मुटु फेर्नका लागि ३५/३६ लाख रुपैँया खर्च लाग्ने भएपछी देश बिदेशमा सहयोका लागि हात फैल्याईएको थियो।

अभियानको लागि देशभित्र मात्र नभएर बैदेशिक रोजगारिमा जाने नेपालिहरुले समेत आफू कार्यरत देशका नेपालिहरुसंग चन्दा संकलन गरेर उपचार खर्च जुटाई नेपाल पठाए। धनकुटा घर भई हाल बहराइन रहने भीमनारायण लिम्बूको पहलमा ४७ हजार रूपैया संकलन भएको देखिन्छ । त्यसैगरी भोजपुर होम्ताङ ९ (हाल हतुवागढी ६) निवासी हेमन राई र मोनकुमार राईले दुवईबाट ३५ हजार १ सय ७३, राजकुमार राई साम्पाङको पहलमा साउदीबाट ६८ हजार ६८ संकलन भएका छन् । अहिले बिरामीसँगै रहेकी बन्दना राईको पहलमा १ लाख ४२ हजार रूपैया संकलन भएको बताउँछिन् भने दक्षिण कोरियाबाट मात्रै होम्ताङ्ग निबासी सुनिल बान्तावाको पहलमा सहयोग संकलन गरि रु. १,५३,८९५ (एक लाख त्रिपन्न हजार आठ शय पन्चानब्बे रुपैया) रकम हस्तान्तरण गरिएको थियो । यसरी विभिन्न माध्यमबाट सहयोग जुटेको रकम १४ लाख ४७ हजार ३६ रूपैया जम्मा भएको माइन्युट समेत बनाईएकोछ ।

नयाँ अनलाइनले पनि साथ दिएको सो अभियानमा नयाँअनलाईनकर्मिहरु सहभागी भई धनकुटा र डाँडाबजारसम्म पुगेको फेसबुक लाइभ तथा अभियानमा जोडिन आग्रह गरिएको युट्युवमा भिडियो बनाई प्रचार गरेको थियो ।

अभियान सञ्चालन गर्न प्रभाकर राई संयोजक रहनेगरी एक समिति निर्माण गरिएको थियो । उक्त समितिको सचिवमा अस्मिता राई, कोषाध्यक्ष सुरेन्द्र राई र सदस्यहरू चन्द्र राई, सुर्य घिसिङ, लक्ष्मि राई, विष्णु राई, जुनु राई, उमेश राई, सन्देश राई थिए । कोषाध्यक्ष सुरेन्द्र विरामी बिबिनाकी सहोदार दाजु हुन् ।

सहयोगको लागि गाउँपालिकाको पहल

विपन्न भोजराम राईलाई छोरीको उपचारमा आर्थिक समस्या भएपछि वडामा सहयोगका लागि निवेदन दिए । निवेदन प्राप्त भएपछि वि.सं. २०७५ साल फागुन ८ गते गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको संयोजकत्व प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा र स्वास्थ्य संयोजक जयकुमार राई सदस्य सचिव रहनेगरी एउटा बैठक बसेको थियो ।

बैठकले निर्णय गरेको पूर्णपाठ यस्तो छ ।

यस हतुवागढी गाउँपालिका ६ नं. कार्यालय, होमताङ, भोजपुरको मिति २०७५।११।०७ को सिफारिस तथा यस कार्यालयमा प्राप्त निवेदन अनुसार श्री भोजराम राईको छोरी हतुवागढी गाउँपालिका वडा नं. ६ भोजपुरका श्री बिबिना राई मुटुरोगी विपन्न नागरिक भएको बुझिएको हुँदा नीजको मुटुरोगको उपचारको लागि शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी, काठमाडौंलाई विपन्न नागरिकलाई नेपाल सरकारबाट दिईने कडा रोगहरूको औषधि उपचार सहुलियतको लागि यस कार्यालयको सिफारिस भाग भई आए अनुरूप सिफारिस दिने निर्णय गरियो ।

यो निर्णय गरेको भोलीपल्ट गाउँपालिकाको तर्फबाट गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई सिफारिस गरेको थियो ।
प्रभाकर राई नेतृत्वको टोली सहित नयाँ अनलाईनले अभियान नै लिएर धनकुटा बजार, चौविस डाँडाबजार, भेडेटार र पूर्वको विभिन्न ठाउँसम्म पुगेर सहयोग जुटाएको थियो । सहयोग जुटाउन गएको बेला नयाँअनलाइनकर्मी सीता तुम्खेवा फेसबुकमार्फत लाइभ गरेकी थिइन् ।

बिबिना राईको लागि देशविदेशबाट सहयोग जुट्न थालेको तथ्य त्यसपछिका समाचारहरूबाट बुझ्न सकिन्छ । गायिका मेलिना राईले विदेश पुगेको बेला जुटेको सहयोग हस्तान्तरण गरेको समाचारबाट बुझिन्छ । विभिन्न सञ्चारमाध्यम र युट्युवमा सहयोगको लागि सुरेन्द्र राईको नाममा रहेको लक्ष्मी बैंकको खाता नम्बर राखिएको छ ।

पैसा जम्मा भएपछिको कलह
जम्मा भएको रकम सुरेन्द्रकै खातामा थियो । विरामी बिबिना राईलाई गंगालाल हृदयरोग केन्द्रमा ल्याउँदा गंगालालले टिचिङस्थीत मनमोहन कार्डियोमा रिफर गर्‍यो । त्यहाँ उपचार भइरहेको बेला संयोजक प्रभाकर राईले पैसा समितिकहाँ हुनुपर्ने जिकिर गर्न थालेको सुरेन्द्र बताउँछन् । बहिनीको उपचार भइरहेको बखत प्रभाकर राईको नेतृत्वमा इलाका प्रहरी धरानकहाँ पुगेरै पैसा समितिमा आउनुपर्ने माग राखे । समितिले उठाएको पैसा समितिमै रहनुपर्ने कुरा नराम्रो नरहेको ठानी सुरेन्द्रले खाताबाट झिकी हस्तान्तरण गरेका रहेछन् । हस्तान्तरण गर्दा माइन्युट पनि गरिएको रहेछ ।

उक्त माइन्युटको निर्णय यसरी लेखिएको छ ।
प्रस्ताव नं. २ माथि छलफल गर्दा यस बिबिना राई बचाउ अभियानबाट संकलन गरिएको रकम रु. १४,४७,०३६ (अक्षरेपी चौध लाख सत्चालिस हजार छत्तिस रूपैया) जम्मा भएकोमा विरामीलाई खर्च गरी रहेको रकम जम्मा रु ११,४६,८१२ (अक्षरेपी रूपैया एघार लाख छ्यालिसहजार छत्तिस) कोषाध्यक्ष सुरेन्द राईको खाताबाट निकाली श्री लक्ष्मी राई, अस्मिता राई, भुवनसिंह राईको नाममा संगोल खाता खोली बिबिना राई बचाउ अभियानको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्ने सर्वसहमतबाट निर्णय पारित गरियो ।

वैठकबाट ११ लख ४६ हजार ८ सय १२ लिएको देखिएपनि मिति २०७६ वैशाख २३ गते राष्ट्रिय वाणिज्य बैंकको शाखा इटहरीमा खाता खोल्दा ९ लाख ५० हजार मात्र जम्मा गरेको देखिन्छ । यसबारे संयोजक प्रभाकर राईसँग बुझ्दा बाँकी रकम बैंकमा नहाली दिल्ली जानको लागि बिरामीलाई दिइएको बताए तर सुरेन्द्रले भने आफुलाई १ लाख मात्र दिएको बताउँछन् ।

बिरामी बहिनीलाई लिएर सुरेन्द्र दिल्ली पुगे । दिल्लीको एम्स अस्पतालमा उपचार गराइरहेका सुरेन्द्रले बिरामीको अवस्था समितिलाई जानकारी दिइ नै रहेको बताउँछन् । पैसाको माग गर्दा प्रत्येक बिल पठाउनुपर्ने जिकिर गरी आलटाल गर्न थाले । प्रभाकरलाई यसबारे बुझ्दा चेकमा हस्ताक्षर गर्ने व्यक्ति पहाड गएकोले तत्काल झिक्न नसक्ने बताएका थिए । चेकबाट तत्काल झिक्न नसकिने भएकोले कतैबाट खोजखाज गरी पठाउने बताए । त्यतिबेला भारतीय रूपैया २५ हजार प्राप्त गरेको सुरेन्द्रले जानकारी दिए ।

तर बैंकको स्टेटमेन्ट हेर्दा वैशाख ३० गते अस्मिता राई, भुवनसिंह राई र लक्ष्मीले ३० हजार निकालेको देखिन्छ । त्यसपछि लगातार भुवनसिंह राईले जेठ २ गते १ लाख २० हजार, ५ गते रामचन्द्र राईले ५० हजार, १२ गते भुवनसिंह राईले ३ लाख ५० हजार, २१ गते भुवनसिंह राईले २ लाख ५० हजार, २४ गते रामचन्द्र राईले ५० हजार, २९ गते रामचन्द्र राईले ८० हजार, असार ६ गते भुवनसिंह राईले १८ हजार निकालेको देखिन्छ । यसरी १ महिनाभित्रै ९ लाख ४८ हजार रूपैया निकालिसकेको देखिन्छ ।

अभियानकर्मिहरुको नाममा रहेको सामुहिक बैंक खाताको स्टेट्मेन्ट

त्यसैगरी खातावालाकै नामबाट असार ९ गते ५ हजार, साउन ४ गते विष्णु राईबाट ३० हजार जम्मा भएको देखिन्छ । त्यसको ५ दिनपछि लक्ष्मी राईले ३७ हजार निकालेकी छिन् । साउन १० गते विष्णु राईबाट २० हजार र लक्ष्मी राईबाट २२ हजार जम्मा गरेको देखिन्छ भने साउन १२ गते लक्ष्मी राईबाट ४० हजार निकालेको देखिन्छ । अहिले खातामा ३ हजार ७ सय २१ रुपैया मात्र मौज्दात छ ।

यस बिषयमा प्रभाकर राईलाई फोन सम्पर्क गर्दा विरामीलाई उपचार भइरहेको बताए । र, बैंकमा मौज्दात ९ लाख २६ हजार रहेको बताए । तर बैंकको स्टेटमेन्ट र बैकंमा मौज्दात ३ हजार ७ सय २१ मात्र रहेको बताएपछि बिरामीकै सहयोग पुग्नेगरी ब्याजमा लगाइएको बताए । ब्याजमा लगाउने माइन्युट पनि छ कि भनेर बुझ्दा माइन्युट गरिएको छ र सचिव अस्मिता राईसँग उक्त माइन्युट रहेको बताए । तर अस्मिता राईलाई बुझ्दा त्यसरी ब्याजमा नलगाइएको र माइन्युट पनि नगरिएको बताइन् । उनले भने पैसा बैंकमा रहेको पनि जिकिर गरिन् ।

उता दिल्लीमा बिरामी बिबिना राईसँग आमा, दिदी र अभियानकर्ता बन्दना राई छन् । बन्दना राईसँगको सम्पर्कमा आउँदो शुक्रबारमात्र विरामीलाई अप्रेसन गर्ने या औषधिमात्र खुवाउने भन्ने कुराको टुङ्गो लाग्ने बताइन् । दिल्लीसम्म जान समितिले हवाईटिकट काटिदिएको र नेपाली रूपैया ७१ हजार दिएको बन्दनाले बताइन् । उक्त रकमलाई भारतीय रूपैयामा सटही गर्दा ४३ हजार ६ सय ६५ भएको थियो । दिल्लीको बसाई खर्चिलो भएको हुँदा उक्त रकम सकिँदै गएको जानकारी बन्दनाले दिइन् ।

यता समितिका व्यक्तिहरुबीच फरक–फरक कुरा आएपछि रकम नियतवश नै चलाएको देखिन्छ भने उपचारको लागि जुटेको रकमको आशले दिल्ली पुर्‍याएकी बिबिनाको हालत के हुने भन्ने कुराले परिवार चिन्तित भएका छन् । साथै बिरामीको लागि जुटाइएको पैसा यसरी हिनामिना गर्दा दाताहरुमा कस्तो असर पर्ला भन्ने पिरलो लागेको पनि बिरामीका दाई सुरेन्द्र बताउँछन्


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg