गृहपृष्ठ » चर्चाका चार » असार महिनाका चर्चितहरु

असार महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | ७१ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।यो महिना पनि विभिन्न घटना तथा परिघटनाहरु चर्चामा आए । ति घटनाहरुमा विभिन्न व्यक्तिहरु जोडिएर चर्चित भएर बजारमा छाए ।  असार  महिनाभर  चर्चामा आएका विषय मध्येबाट बढि चर्चामा आएका व्यक्तिहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

 

 

 

 

भीम पौडेल


अन्तत लामो रस्साकस्सी पछि सबैलाई आश्र्चय चकित पार्दै भीम पौडेल उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा निर्वाचित भए । यो पटक उनी मात्रै होईन उनको सम्पूर्ण टिमनै विजयी भयो । इटहरी उद्योग वाणिज्य संघको इतिहाँसमा पहिलो पटक क्लिन स्विप गर्दै निर्वाचनबाट पदाधिकारी चयन भएको पहिलो घटना हो ।
बजारमा अहिले चर्चा छ त, भीम पौडेलको चर्चा छ । शैलेष विष्टको चर्चा छ । भीम पौडेलको विजयीको चर्चा छ भने शैलेसको हारको चर्चा छ । इटहरीका चौक, बजार, सार्वजनिक कार्यक्रम होस् वा अन्य विभिन्न सभा सवै तिर उद्योग वाणिज्य संघको निर्वाचनकै चर्चा हुने गरेको छ । विहानको तातो चिया र बेलुकाका चिसो चियाका चौतारीमा यो चर्चा नहुने त कुरै भएन । सवैलाई चित खुवाउने गरी आएको यो नतिजाले सवैलाई आश्चर्यमा पारेको छ ।
उद्योग वाणिज्य संघको नतिजा एक भए पनि त्यसले बजारमा धेरै थरी संकेतहरु छाडेको चर्चा हुने गरेको छ । आफ्ना उम्मेद्वार जिताउन प्रतिष्ठाको लडाई लडेको नेपाली काँग्रेस नेकपालाई हराएको अनुभुति गर्दै मुख मिठ्याईरहेको छ । इटहरीका अन्य सामाजिक संस्थामा पनि यसले प्रभाव पार्ने चर्चाहरु बजारमा सुन्ने गरिएको छ । नेकपा भने हारको रनाहमा आरोप प्रत्यारोपमा फसेको छ । उनीहरुका आरोप प्रत्यारोप फेसबुकमा पोखिने गरेको छ ।
उता, बजारमा भीम पौडेलले जित्नुको र शैलेसले हार्नुका कारणहरुको विश्लेषण पनि हुने गरेका छन् । एक दुई महिना अघि सम्म आम व्यापारी माझ खासै परिचित नभएका भीम पौडेलले कसरी यत्रो बहुमत ल्याए । अनि झण्डै झण्डै पुरै कार्यकाल सर्वेसर्वा भएर वाणिज्य संघ हाँकेका शैलेसले किन व्यवसायीको मन जित्न सकेनन भन्ने चर्चा मुख्य हुने गरेको छ ।
आमव्यवसायीले हारजितको दुई थरी कारणले देखाएका छन् । एक उम्मेद्वार स्वयम र अर्को उनका लागि बनाईदिईएको वातावरण । शैलेष एक्ला हिरो थिए,उनको पब्लिसिटी उनी नै थिए । टिम भन्दा पनि शैलेस एक्लै हिँडे । जुन उनका लािग घातक बन्यो, भन्ने चर्चा छ । तर व्यक्तिगत प्रभाव नहुँदा भीम पौडेल टिममा हिड्नु बाध्यता भयो । उनी एक्लै हिँडेनन् र भोट पनि टिमलाई नै मागे । यो नै उनको सवल पक्ष ठहर्यो । भीम पौडेलका लागि बनाईएको वातावरण निकै आक्रमक थियो । मिडिया देखी सोसलमिडियाको प्रयोग पनि भरपुर भएको देखिन्छ । पौडेलले खर्च पनि राम्रै गरेको बजारमा चर्चा छ ।
जे जसरी भएपनि भीमले क्लिन स्विप गर्दै इतिहाँस रचेका छन् । तर उनको कार्याकाल यस्तै अविस्मरणीय हुने हो वा विर्सन लायक बन्ने हो । त्यो उनको आगामी कार्यशैलीले नै देखाउँनेछ ।
बहादुर सिंह तामाङ 

बहादुर सिंह तामाङ(ज्वाला ), अहिले नेकपाका नेता हुन । उनको अहिले बजारमा चर्चा छ । तत्कालिन माओवादी केन्द्रका पुराना नेता रहेका ज्वाला पाटि एकिकरण पछि बनेको नेकपाका नगर अध्यक्ष चयन भएका छन् । केही समय अघि नेकपाले घोषणा गरेको स्थानिय तहका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको लिस्टमा उनी अध्यक्ष भएपछि चर्चामा छन् । इटहरी उपमहनगरपालिकाको अध्यक्ष हुन धेरैले पहल गरेका थिए । अध्यक्षको लाईनमा धेरै थिए । तर सबैलाई पछि पार्दै ज्वाला नगर अध्यक्ष बनेका हुन ।
ज्वालासँगै नेकपा इटहरीमा अहिले सचिव बनेका काँशीनाथ दंगालको पनि चर्चा छ । दंगालले पनि निकै ठुलो छलाङ मार्दै सचिव पद भेटएका छन् । नेकपाको नीति अनुसार नगर अध्यक्ष पूर्व माओवादी र सचिव पूर्व एमालेको भागमा परेको थियो । तर दुवै तर्फ पाटिमा लामो समय देखी लागेका व्यक्तिहरुलाई पछि पार्दै दुई व्यक्ति पदाधिकारी चयन भएपछि नेकपा इटहरीमा निराशासँगै विरोध पनि भएको छ । धेरै नेता कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् । पूर्व माओवादी भन्दा पनि पूर्व एमालेमा बढि असन्तुष्टि देखिएको छ । पूर्व एमालेका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखका छन् । पूर्व एमाले भित्र सचिव पदका काशीनाथ दंगाल चयन भएको विषयमा बढि असुन्तुष्टि पोखेका छन् । पुराना क्षमतावान नेतालाई पाखा लगाएर चाकढिका भरमा पद दिईएको भन्दै पूर्व एमालेहरुले असन्तुष्टि पोखेको बजारमा चर्चा सुनिन्छ । हुन त असन्तुष्टहरुले लगाएको आरोप केही हद सम्म सहि पनि देखिन्छ । काशीको इटहरीमा राजनिति निकै पछि सुरु भएको हो । सिधा भन्दा पहाडबाट इटहरी झरेर एमालेको राजनिति सुरु गरेको ३ ।४ बर्ष मात्रै हुँदै छ । नेताहरुको फेर पकड्दै काँशीले जनता मा.विको अध्यक्ष भएको र अहिले सचिव भएको उनकै पाटिका नेताहरुले आरोप लगाउने गरेका छन् ।
नगर अध्यक्ष बनेका ज्वाला स्थानिय तहको निर्वाचनमा वडा नम्बर ३ मा वडा अध्यक्षको उम्मेदवार रहँदै पराजित भएका थिए । उनकी श्रीमती हरिमाया जिमीले इटहरीमा मेयरको टिकट पाएकी थिईन । माओवादीमा ज्वाला पुराना नेता मानिन्छन् । तर इटहरीमा उनको नेतृत्वदायी भूमिका प्रभावकारी हुनेमा नेकपा भित्रकै नेताहरुले आशंका व्यक्त गरेका छन् । तर जे होस इटहरीमा ज्वालाको चर्चा निकै भएको छ ।।

लक्ष्मी गौतम

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम समय समयमा चर्चामा आउने गर्छिन । विशेष गरी उनका अभिव्यक्तिले उनलाई चर्चामा ल्याउने गर्छ । उनका कतिपय अभिव्यक्तिहरु एक पक्षिय हुने गरेका छन् । उद्योग वाणिज्य संघको चुनावमा उनले दिएको अभिव्यक्तिले पनि विवाद सृजना गर्यो । उद्योग वाणिज्य संघको साधारण सभामा उनले खेती गर्ने व्यक्ति, ट्रिपर चलाउने ड्राईभरलाई पनि पान दर्ता गराएर व्यवसायी बनाएको भन्दै त्यस्ता व्यक्तिले भोली कर कसरी तिर्छ भन्दै कर नतिरे नागरिकता सिफारिस रोकिदिने भाषणा गरेकी थिईन । ड्राईभरका छोराछोरीको जन्मदर्ता, नागरिकताको सिफारिस रोकिदिने भन्दै उत्तेजित भाषण गरेपछि कार्यक्रममा भएका व्यवासायीले उनी विरुद्ध नाराबाजी गरेका थिए । मुर्दावादको नारा लगाएपछि उनी भाषणा नै छाडेर हिड्नु परेको थियो ।
भीम पौडेलले जसलाई पायो त्यसलाई व्यवसायी बनाएको भन्दै शैलेसको पक्षमा भाषण गर्दा उपमेयर गौतम आलोचित बनेकी थिईन । तर उनको भाषणले शैलेसलाई फाईदा होईन कि उल्टै घाटा लाग्यो । भएको वातावरण पनि विग्रियो । शैलेसका लागि वातावरण बनाउन भीम पौडेलेको विरोधमा दिएको भाषणमा उपमेयर चिप्लीएकी थिईन । त्यो बेला उनको राम्रै चर्चा भयो । वातावरण थप विग्रने देखेपछि प्रेस विज्ञप्ती नै निकाल्नुपर्यो । आफुले त्यो आसयले नभनेको भन्दै विज्ञप्ती निकाले पछि आलोचना केही कम भएको थियो ।
यता, भारी बर्षाले इटहरी डुबानमा परेपछि उपमेयरसँगै मेयर र उपमहानगरपालिकाको पनि आलोचना भएको छ । खोला सफाई गर्ने भन्दै हल्ला गर्ने तर काम नगर्दा इटहरी डुबानमा परेको भन्दै उपमेयर,मेयर र उपमहानगरपालिको कार्यशैलीको आलोचना भएको छ । बाढिले टेग्राखोला थुनिएर पानी पुल माथीबाटै बग्न थालेपछि यातायात नै रोकिएको थियो । त्यत्रो हुँदा पनि उपमहानगरपालिका समयमै नआउँदा पनि आलोचना भएको थियो । पछि उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल जेसिबी लिएर खोलामा पुगे पछि मात्र उपमहानगरपालिका पुगेको भन्दै सञ्चारमाध्यमले आलोचान नै गरेका थिए ।
समय समयमा दिईने अभिव्यक्ति र कार्यशैलीले उपमेयर, मेयर र उपमहानगरपालिका इटहरीमा आलोचित हुँदै चर्चामा आउने गरेका छन् ।

श्रवण चौधरी


श्रवण चौधरी इटहरी वडा नम्बर १५का वडा अध्यक्ष हुन । यो महिना अध्यक्ष चौधरी पनि एकाएक चर्चामा आए । कुनै राम्रो काम गरेर, बाटो राम्रो पिच गरेर,जनताले माग गर्दै आएकोे काम गरेर, जनताको मन जितेर चर्चामा आएका होईनन् । उनी त जुवा खेल्दै गरेको अवस्थामा दुहवीबाट पक्राउ परे पछि चर्चामा आएका हुन । अन्य चार जना व्यक्तिहरुसँगै अध्यक्ष चौधरी पनि पक्राउ परेका थिए ।
उनी प्रकृया पुर्याएर छुटि पनि सकेका छन् । तर उनको चर्चा इटहरीमा हुने गरेको छ । इटहरीमा जनप्रनितिधिहरु विभिन्न कारणले चर्चामा आईरहन्छन् । राम्रो काम गरेर, जनताको मन जितेर चर्चामा आउने भन्दा पनि यस्तै यस्तै कारणले चर्चामा आउने गरेका छन् । जनप्रतिनिधिहरुको कार्यशैलीलाई लिएर इटहरीबासी भने निरास छन् । जनप्रतिनिधिले गरेका कामका किस्साहरु बजारमा छरिएका छन् । इटहरीमा मेयर पत्रकारको नाकको डाँडी भाँच्ने, आफ्नै पाटीका नेतालाई झापड हान्ने, डोजर चलाउने, उपमेयर व्यवसायीको नागरिकताको सिफारिस रोक्ने, अनि वडा अध्यक्ष जुवाको खालमा पक्राउ पर्ने टिम चाँही मिलेकै हो, भन्ने जस्ता किस्साहरु बजारमा चर्चा सुन्न पाईन्छ । हुन त पहिले पहिले बदनाम हुनु तर गुमनाम नहुनु भन्ने उखान चलेकै थियो । त्यसैले पो यस्तो भएको हो की ? तर जे जस्तो भएपछि इटहरीमा जनप्रतिनिधिहरु चर्चामा चाँही आईरहन्छन् ।।

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg