गृहपृष्ठ » सम्वृद्धि यात्रा » ब्यापार चम्काउने खगेन्द्र

ब्यापार चम्काउने खगेन्द्र

 Posted by Itahari Fm | error | १८१९ पटक

आफु हिँड्ने बाटो आफै पहिल्याउन सक्दा मात्रै लक्ष्य भेटिन्छ । होईन भने पत्तै नपाई अस्तित्व मेटिन्छ । जिम्मेवारीमा चुनौति मात्र हुँदैनन्, त्यहाँ अवसर पनि उत्तिकै हुन्छन् । जसलाई पहिल्याउन सक्नुपर्छ । अवसर खोज्दै, आफ्नो बाटो आफै पहिल्याउँन सक्ने मात्रै जिवनमा सफल हुन्छन् । हो त्यस्तै मध्येका एक हुन खगेन्द्र विमली ।
जिवन संर्घष ……..
जिवन किशोरवयमा बढ्दै थियो । ओठमाथी रौँ देखापर्दै थिए । खगेन्द्रले पितृवात्सल्य गुमाउनुपर्यो । पितृवात्सल्यको काखमा रम्न बाँकी नै थियो । पिता परिवार छाडेर परलोक भए । यो २०४५ सालको कुरा हो । २०३३ सालमा जन्मिएका खगेन्द्र त्यो बेला मात्र १२ बर्षका थिए । पिताको देहान्त पछि भाई बहिनी र आमाको सम्पूर्ण जिम्मेवारी खगेन्द्रको काँधमा आईपुग्यो । घरको जेठो छोरो खगेन्द्र यो जिम्मेवारी उठाउन सक्षम थिएनन् । तर स्विकार नगरी विकल्पै थिएन । झापाको जुरोपानी ५ को ग्रामिण वस्तीको रहन सहन । ताप्लेजुगको पुखौँली थलो छाडेर खगेन्द्रको परिवार झापा झरेको थियो । नयाँ ठाउँमा पिता वितेपछि उनका लागि न टेक्ने हाँगो थियो, नसमाउने हाँगो । परिवारको सम्पूर्ण जिम्मेवारी कसरी बहन गर्ने खगेन्द्रले सोच्नै सकेनन् । खेती गर्नुपर्ने, बर्खे धानले बर्ष भरी खानै नपुग्ने । कहिले काका कहिले मामाले सहयोग गरिदिन्थे । खानलाउनै मुस्किल पर्न थाल्यो । गरी खान खेती बाहेक अरु केही विकल्प थिएन । हलो जोत्यो, खेती गर्यो । फलेको धानले खानै नपुग्ने । पिताको उपचार सबै ऋण काढेर गरिएको थियो । त्यसको दवाव झनै चर्को थियो । खगेन्द्रले दवाव माथी झन् दवाव खेप्दै गए । “त्यो बेला साँच्चै समस्या थियो, खान लाउनै समस्या हुन्थ्यो” आफ्नो बिगत सुनाउदा खगेन्द्रको गला रोकीन्थ्यो, अनुहार मलिन थियो ।
जेठो छोरो, घरको बोझले पढाई विग्रने भो भन्दै मामाहरुले उनलाई पढाउने, यतै केही गराउने भन्दै दमक ल्याए । त्यसपछि उनले दमकबाटै माध्यमिक पढाई पुरा गरे । कहिले घर कहिले मावल उनको दैनिकी जस्तै बन्यो । खेती गर्न घर गयो । भाई बहिनीलाई पढाउनु पनि पर्यो । जसो तसो परिवार चल्दै थियो । खान लाउन समस्या । परिवारको ऋण बढेको बढ्यै । दुःखैका वीच उनले आई ए पास गरे । त्यसपछि खगेन्द्रले काम गर्ने सोच बनाए । तर के गर्ने ? कुनै सिप थिएन । आईडिया थिएन । बाध्यताले उनी घर छाडेर हिँडे । एक जना साथीले धनगढीमा एउटा कम्पनीमा काम पाईन्छ भन्दै बोलाए, उनी झोला बोकेर हिँडे । सुदुर पूर्व देखी एकै पटक सुदुर पश्चिम पुगे खगेन्द्र । धनगढीमा सेती महाकाली हेर्ने गरी सेल्स अफिसरको काम पाए । आर वी ब्रस कम्पनीमा ५।६ महिना काम गरेपछि उनी निकालिए । गाउँमा हलो जोतेर गएको मान्छे एकै पटक मार्केटिङ अफिसर भएर सेल्स गर्न उनको सामथ्र्य पुगेन । अन्तत उनी काम गर्न नसकेको भन्दै निकालिए । त्यहाँबाट निकालिए पछि आफु घरको न घाटको भएको खगेन्द्र सुनाउँछन् । “कमाउन गएको छोरो घर कसरी फर्कउँ, बसौँ काम छैन ।” उनले पुराना कुरा सुनाए ।
फुपुका छोरा दाईलाई काठमाण्डौँ आउछु भने । उतैबाट उनी काठमाण्डौँ गए । त्यहाँ केही दिन बसे । काम थिएन । काठमाण्डौँमा त्यसै बस्न गाह्रो भएपछि उनले चिया बेच्न सुरु गरे । झोलामा चिया बोकेर पसल पसल जान थाले । “विहान चियाको झोला बोकेर हिँडेको मान्छे बानेश्वर, घट्टेकुलोका गल्ली गल्लीका पसल हिँड्दै पुगेँ।” उनले सुनाए ।
जिवनले लय नभेटे सम्म खोजी जारी राख्नुपर्छ । खगेन्द्रलाई पनि त्यो लय भेट्न निकै मुस्किल पर्यो । त्यसै क्रममा पत्रिकामा विज्ञापन देखे । ग्रुप वान सेक्युरिटी प्रा.लिमा मार्केटिङ अफिसरको । इन्टरभ्यू दिन गए । ३ जना मान्छे चाहिएको रहेछ तर ७०,८० जना थिए । अनुभब खासै नभएका खगेन्द्र अरु भन्दा अब्बल देखिए र छानिए ।
मार्केटिङमा हिरो …. 
काम चल्दै थियो । उनले अर्को विज्ञापन देखे । फ्युर हिमालयन लिमिटेडको विज्ञापनमा इन्टरभ्यू दिए । छनौट भए । वीरगञ्ज जानुपर्ने भयो तालिमका लागि । १५ दिनको तालिम । तर उनले अघिल्लो कम्पनीमा भनेका थिएनन् । घर जाने भन्दै विदा मिलाएर उनी वीरगञ्ज गएका थिए । त्यहाँ उनलाई मार्केटिङ र सेल्सका बारेमा तालिम दिईयो । ढोका बन्द गरेर लिईएको १५ दिनको तालिमले उनको जिवनलाई परिवर्तन नै गरिदियो । उनी मार्केटिङको हिरो भएर निस्किए ।
वास्तविक मार्केटिङ के हो ? कसरी गर्ने ? भन्ने जस्ता भित्री रहस्य पत्ता लगाए । जुन जिवनको टर्निङ पोईन्ट बन्यो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । जिवनले ठुलो फड्को मार्यो । पछि त्यहि कम्पनीको उत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत पनि भए । त्यहि कम्पनीबाट उनले प्रडक्ट, मार्केटिङ र सेल्स कसरी गर्ने भन्ने सबै कुरा बुझे । उनले सोनाटा कम्पनीमा पनि काम गरे । त्यसको पनि देशभर मार्केटिङ र सेल्स हेर्थे । त्यहाँ पनि उनले आफ्नो प्रभाव र छाप छाडे । उनी जुन कम्पनीमा जान्थे । त्यो कम्पनीलाई चम्काईदिन्थे । कम्पनी उँभो लाग्थ्यो । उनको मेहेनत र लगनशिलता देखेर कम्पनीमा हाकिम छक्क पर्थे । खगेन्द्रले फ्युर हिमालयन, सोनाटा, जाभिरा लगायत धेरै कम्पनीमा काम गरे । उनी जुन जुन कम्पनीमा जान्थे त्यहाँ मार्केटिङको जादु चल्थ्यो । कम्पनीको सेल्स एकाएक बढ्थ्यो । प्रडक्ट बेच्न उनी खप्पीस कहलीए । ग्राहकलाई आफु तर्फ आकर्षीत गर्न उनको जादुले काम गथ्र्यो । उनी जता जान्थे ग्राहकहरु त्यसै कम्पनीको प्रडक्ट किन्थे । मार्केटिङको त्यो जादु के हो ? त्यो भन्न उनी सक्दैनन्, भन्छन्,“त्यो त मलाई पनि थाहा छैन ।” तर मार्केटिङ एउटा कला हो । उनले बुझेको कुरा यत्ति हो । हरेकमा एउटा कला हुन्छ त्यो पहिल्याउन सक्नुपर्छ । खगेन्द्र भन्छन्,“मार्केटिङका केही टिप्छन् छन्, जो हरेक मार्केटिङ गर्नेले जान्नै पर्छ ।”
मिठो र नम्र बोल्ने, आँखामा आँखा जुधाएर कुरा गर्ने, सँधै टिपपट रहने, पर्सनालिटिमा ध्यान दिने र कडा मेहनत गर्ने उनका टिप्स हुन । “मार्केटिङमा हिड्ने मान्छे सँधै टिपपट हुनुपर्छ । बरु एक छाक खानुस तर बाहिर हिँड्दा चिटिक्क परेर हिँड्नुस् ।” दाह्री झुस्स पारेको, कपाल नकोरेको, लुगा खुम्चीएको हेर्दै झुत्रे जस्तो देखिनेलाई कसले पत्याउँछ ? फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन हो त्यहि भएर मार्केटिङमा हिड्नेले सुरुमै इम्प्रेस पार्न सक्नुपर्छ । यो टिप्स आफैले पनि प्रयोग गरेको खगेन्द्र सुनाउँछन् । “कम्पनीमा काम गरुन्जेल मैले आईरन नलगाएको लुगा कहिल्यै लगाईन । जहाँ गए पनि मेरो झोलामा आईरन पनि साथै हुन्थ्यो । बरु एक छाक खाईन होला तर टिपटप हुन्थेँ ।” उनी गर्व साथ सुनाउँछन् । यस्तो ठाँट देखेर सबै साथीहरु उनलाई मार्केटिङको हिरो भन्थे । उनका यस्तै स्वभाव र मेहनतले नै उनी सफल भएका हुन ।
आरोह अबरोह ..
उनको जिवनमा छिटोछिटो मोड, अनि घुम्तीहरु आए । उनी भन्छन् “ त्यसपछि जिवनमा केही गर्न सक्छु भन्ने आँट पलाउन थाल्यो । मेहनत गर्दा हुने रहेछ भन्ने बुझेँ । ”
अनिल कुमार मिश्रा र मनोज कुमार भुडभरी कम्पनीका साथीले नयाँ प्रस्ताव ल्याए । “कति अरुको काम गर्ने हामी आफै प्रडक्ट उत्पादन गरौँ ।” दुई साथीको प्रस्ताव उनलाई पनि ठिकै लाग्यो । प्रडक्टको उत्पादन देखी बजारीकरण सम्मको सवै प्राविधिक ज्ञान थियो । तर पैसा थिएन । तैपनि जागीर खाँदा जम्मा भएको केही पेस र केही ऋण गरेर उनी कम्पनीमा सामेल भए । एरोमा कस्मेटिक प्रा.लि खोलियो । आफ्नो ज्ञान र मेहनत सबै त्यसैमा खन्याए । अघिल्लो कम्पनीमा काम गर्दा बनाएको देशभरको सञ्जालमा उनले आफ्नै प्रडक्ट ल्याएको बताए । सबैले उनको प्रडक्टलाई रुचाए पनि । कम्पनीले रातारात सफलता पाउँदै गयो । नवलपरासीबाट सुरु भएको कम्पनीको सेल्स देशभर हाई रेन्जमा पुग्यो । त्यहाँ पनि खगेन्द्र चम्कीए । उनी सबैको हाईहाई भए । तर जिवन समथल मात्रै छैन । त्यहाँ डाँडाकाँडा पनि छन्, पहाड पनि छन् । खगेन्द्रले धोका खाए । अनिल मिश्रा र मनोज कुमारले धोका दिए । दिन्छु भनेको शेयर दिएनन् । पैसा दिई सकेको, शेयर हुँदैन भन्दै टारिदिए । दिलोज्यान दिएर ३ बर्ष सम्म गरेको मेहनत सवै खेर गयो ।
धोकाको पिडा छदै थियो । आफै केही गरेर देखाउँछु भन्ने ईख पनि उत्तिकै । खगेन्द्र भन्छन् भगवानले अर्को बाटो देखाई दिए । खगेन्द्रलाई नजिकबाट हेरिरहेका काठमाण्डौँमा रविन्द्र गिरीले अर्को कम्पनी खोल्न अफर गरे । खगेन्द्र, रविन्द्र र राजकिशोर श्रेष्ठको लगानीमा अर्को कम्पनी खोलियो । जाभिरा कस्मेटिक प्रा.लि । त्यसमा पनि खगेन्द्रले इखैले काम गरे । धोकाको पिडा सम्झदै काम गरे । नभन्दै त्यो कम्पनीले पनि राम्रो सफलता पायो । पहिलेका ग्राहकलाई खगेन्द्रले आफुले पाएको धोका सुनाए । ग्राहकले पनि उनलाई साथ दिए । जाभिराले कस्मेटिक सामानहरु उत्पादन गथ्र्यो । कम्पनीको सेल्स दिन दुई गुना रात चौगुना हुँदै पिक अप लियो ।
पाथिभराको सुरुवात …..
कम्पनीकै मार्केटिङको सिलसिलामा खगेन्द्र इटहरी आएका थिए । नयाँ डिलर खोज्दै आएका उनले डिलर नभेटेपछि आफ्नै नाममा डिलरसिप खोले । आफै काम गर्न थाले । यो २०६६ सालको कुरा हो । पाथिभरा मार्केटिङ एण्ड सेल्स कम्पनी खोले । यो कम्पनीले सुरुमा आफ्नै सामानहरुको डिलरसिप गथ्र्यो पछि अरु कम्पनी पनि थपिए । विभिन्न कम्पनीमा काम गरेका खगेन्द्रको छवि राम्रो थियो । उनले आफ्नै डिलर खोलेका छन् भनेपछि देशभरका विभिन्न कम्पनीहरुले आफ्नो सामानको मार्केटिङ गरिदिन अफर गर्न थाले । एक दुई गर्दै पाथिभरामा सामानका लिडरसिप थपिदै गए ।
ढेड बर्ष भयो उनले जाभिराको उत्पादन छाडेका छन् । साथीहरुलाई नै जिम्मा लगाएका छन् । पाथिभरा मार्केटिङलाई नै बढि समय दिएर अघि बढाउँदै छन् । सुरुमा एक कम्पनीको डिलर लिएका खगेन्द्रको पाथिभरा मार्केटिङमा अहिले २६ वटा कम्पनीमा सामानहरुको लिडरसिप छ । कस्मेटिक, व्युटिर्पालर, किराना पसलका सामानहरुको पूर्वमा मार्केटिङ गर्छन् । पूर्वका विभिन्न जिल्लामा उनको एकछत्र राज जस्तै छ । उनका सामानहरु भोजपुर, खाँदबारी, धनकुटा, तेह्रथुम लगायतका पहाडी जिल्लामा पुग्छ । यस्तै इटहरी, धरान, दुहवी, इनरुवा, लक्ष्मीमार्ग लगायतका ठुला शहरहरुमा उनको सामान पुग्छ । हिजो के खाने के लाउने सोच्नुपर्ने खगेन्द्रको अहीलेको दैनिकी खान्दानी देखीन्छ । ।
देशमै केही गर्ने सोच
जिवनका निकै दुःखपूर्ण समयमा पनि खगेन्द्रमा विदेश जाने सोच आएन । उनी भन्छन् “ जे गर्छु आफ्नै देशमा गर्छु । विदेश जान्न बरु विदेशमा गर्ने दुःख आफ्नै देशमा गर्छु ।” उनी विदेश जाने बताउँछन् तर घुम्न मात्रै । त्यहि भएर उनले विदेश गएको भाईलाई पनि स्वदेश फर्काई सकेका छन् । भर्खरै धरानमा शाखा कार्यालय खोलेका छन् । भाईलाई धरान शाखाको जिम्मेवारी दिएका छन् ।
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन भन्छन् खगेन्द्र “ विदेशमा गर्ने दुःख यहि गर्ने हो भने पैसा यहि कमाउन सकिन्छ । तर मानिसहरु आफ्नै देशमा काम गर्न लजाउँछन् । विदेशमा भाँडा माझ्न तयार हुने नेपाली देशमा काम गर्न गाह्रो मान्छन् । ”
खगेन्द्रले देशमै बसेर राम्रै पैसा कमाएका छन् । कमाईकै पैसाले इटहरी मुख्य चौक छेउमै घर घडेरी जोडेका छन् । हिजो पैदल हिड्ने उनी अहिले सानदार गाडीमा हीड्ने भएका छन् । यो उनको मेहनतले नै भएको हो ।
सामाजिक क्षेत्रमा सक्रियता
व्यवसायीक काम गर्दै खगेन्द्र समाजिक क्षेत्रमा पनि सक्रिय छन् । इटहरी वितरक संघका कोषाध्यक्ष छन् उनी । नेपाल कस्मेटिक तथा मनिहारी संघको सल्लाकार छन् । लायन्स क्लब अफ ग्रिन सिटी इटहरी २०१८।०१९को क्लब डाईरेक्टर हुन भने २०१९।०२०को पि आर ओ हुन । टोल विकास संस्थाको अध्यक्ष भएर सामाजिक क्षेत्रका काम गर्दै आएका छन् ।
उद्योग वाणिज्य संघमा उम्मेद्वारी
व्यवसायीक कामसँगै सामाजिक क्षेत्रमा पनि सक्रियता बढाएका खगेन्द्रले आउँदो उद्योग वाणिज्य संघको चुनावमा उम्मेद्वारी दिने भएका छन् । व्यवसायीक क्षेत्रमा सुधारका काम गर्दै केही नयाँ काम गर्ने सोच छ उनमा छ । उनी भन्छन् “ सबैले आ आफ्नो क्षेत्रको अवसर र चुनौति देख्छ । समस्या र समाधान पनि देखेको हुन्छ । त्यसैले म ब्यबसायीक क्षेत्रमै केही गर्न चाहान्छु ।”
उदाउँदो ट्रेडिङ विजनेसमा मार्केटिङको ठुलो भूमिका हुन्छ । त्यसमा पनि इटहरी ट्रेडिङ विजनेसको हव बन्दै छ । मार्केटिङ र सेल्समा काम गर्ने नयाँ नयाँ कम्पनीहरु आएका छन् । ट्रेडिङ विजनेस र मार्केटिङमा लामो समय अनुभव सम्हालेका खगेन्द्र यहाँ चुनौतिहरु थपिएको देख्छन् । अस्वच्छ प्रतिस्पर्धा, एरिया नमान्ने होडबाजी, एकै प्रकृतिका सामान फरक फरक डिलर बाट ल्याएर डिलरलाई धोका दिने प्रवृत्ति बढेको खगेन्द्र बताउँछन् । यी त अहिले देखिएका सामान्य समस्या हुन । यो भन्दा अन्य धेरै जटिल समस्याहरु छन् । जसलाई समाधान गर्न सकिएन भने भोली ठुलो क्षति भोग्नुपर्ने हुन्छ । आफ्नो उम्मेद्वारी त्यस्तै समस्याहरुलाई टुंगोमा पुर्याउनका लागि हो भन्छन् खगेन्द्र “ आफुले जे जानेको हुन्छ त्यहि गर्नुपर्छ, । मैले त्यहि जानेको छु त्यहि गर्छु । ब्यबसायीका समस्या समाधानमा सहयोगी बन्ने मेरो चाहना हो । यस्कालागी मलाइ इटहरीका आम ब्यबसायीको मत आबस्यक छ । र बिश्वास पनि छ इटहरीका ब्यबसायीले यस पटक मलाइ र हाम्रो टिम लाइ जीताउनु हुन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg