गृहपृष्ठ » News » नक्कली नागरिकता लिनेको बिगबिगी

नक्कली नागरिकता लिनेको बिगबिगी

 Posted by Itahari Fm | error | १८ पटक

भारतसँग सीमा जोडिएको झापा जिल्लाबाट नक्कली नागरिकता लिने भारतीयहरुको बिगबिगी बढेको छ । पहाडे मूलका भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम जिल्लामा बढेको छ । झापाबाट भारतीयहरुले कसरी नागरिकता लिइहेका छन् भन्ने एउटा दृष्टान्त निकै रोेचक छ । एक भारतीय युवकलाई नेपाली नागरिकताको सिफारिस बनाइदिएको खुलेपछि झापाको कचनकवल गाउँपालिका वडा नं. २ का वडाध्यक्षसहित ९ जना फरार भएका छन् । प्रहरीले जनप्रतिनिधिविरुद्ध वारेन्ड काटेपछि वडा कार्यालयले गर्नुपर्ने दैनिक काम प्रभावित बनेको छ । कचनकवल गाउँपालिकाको यो घटनाले झापा जिल्ला प्रशासनलाई गम्भीररुपमा सोच्न बाध्य बनाएको छ ।
झट्ट हेर्दा नेपालीजस्तै देखिने र भाषा पनि दुरुस्तै भएका एक अधबैंशे युवक १० वैशाखमा नागरिकता लिन जिल्ला प्रशासन कार्यालय, झापा पुगे । गृहमन्त्रालयले जन्मसिद्ध आधारमा नागरिकता जारी गर्न बाटो खोलेलगत्तै प्रशासनमा नागरिकता लिन आउनेको भीड लागेको थियो ।
नागरिकता फाँटका कर्मचारीलाई भ्याइनभ्याइ थियो । प्रवेश गर्ने वित्तिकै ती युवकले कचनकवल गाउँपालिका वडा नं. २ बाट ल्याएको सिफारिस देखाए । स्थानीय बमबहादुर र चन्द्रकला गुरुङ दम्पत्तिका छोरा भुपाल गुरुङका रुपमा उनले आफ्नो परिचय दिए ।
तर, नागरिकता जारी गर्ने तर्खर हुँदै गर्दा एकजना कनिष्ठ कर्मचारीले भुपालको हातको नङमा मतदान गर्दा लगाइने मसी देखे, जसले उनलाई सोच्न बाध्य बनायो ।
‘पारि निर्वाचन भएको दुईदिन मात्रै बितेको थियो । त्यसैले उहाँलाई शंका लागेछ’, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘त्यसपछि ती युवकलाई बोलाएर सोधपुछ थालियो ।’
केहीबेरको केरकारपछि उनका साथबाट भारतको मतदाता परिचय पत्र र आधार कार्ड फेला परेको दाहालले बताए । उनका अनुसार त्यसलगत्तै झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीलाई खबर गरिएको थियो । र, कार्यालय परिसरबाटै उनी पक्राउ परे ।
तराईका अन्य जिल्लाभन्दा झापामा नागरिकता लिनेको संख्या बढी देखिएपछि विभिन्न आशंका सार्वजनिक भइरहँदा प्रमाणसहित प्रशासन कार्यालयबाटै गुरुङ पक्राउ परेपछि गम्भिरतापूर्वक अनुसन्धान सुरु भयो । त्यस क्रममा बमबहादुर र चन्द्रकलाले भुपाललाई नक्कली छोरा बनाएको खुल्यो । उनीहरु मात्र होइन, यो अपराधमा कचनकवल गाउँपालिका–२ का जनप्रतिनिधि र कर्मचारीसमेत संलग्न देखिएको छ ।
प्रहरीले अनुसन्धानका लागि वडाध्यक्ष मेखबहादुर भट्टराईसहित सदस्य धनबहादुर गुरुङ, कर्मचारी हरिप्रसाद गौतम र खगेन्द्रप्रसाद खतिवडाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । १५ वैशाखमा अदालतबाट पक्राउ अनुमति लिएर जनप्रतिनिधि, वडाका कर्मचारी र स्थानीय कविता गुरुङ, गंगा भट्टराई, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल र तुलसीराम गुरुङको खोजीमा हाल प्रहरी जुटेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg