गृहपृष्ठ » सम्वृद्धि यात्रा » उदण्ड राजेश बने आसा जगाउने राजेश ।

उदण्ड राजेश बने आसा जगाउने राजेश ।

 Posted by Itahari Fm | error | ३८८ पटक

एउटै ठाउँमा जमेर रहेको तालमा पानी थपिदै गएपछि जसरी त्यसले सारा अवरोधहरु फुटाएर गन्तव्य खोज्न थाल्छ । त्यसरी नै जिम्मेवारी र अनुभवले परिपक्व भएपछि मानिसले आफ्नो गन्तव्य आफै पहिल्याउँछ । एक पटक बाटो अल्मलिदैमा ऊ सधैं अल्मलिन्छ, गन्तव्यसम्म पुग्दैन भन्ने होइन । इटहरीका व्यवसायी राजेश खनालको जीवन भोगाईले देखाएको सत्यता पनि यहि हो । जसले जीवनको एक अंश बाटो अल्मलिएर बितायो, तर जब जिम्मेवारी र अनुभवले खारिदै गयो, गन्तव्य पहिल्याउने उनको तेज आफ्नै थियो । एक समय सडक बालबालिकासँगै सडकमा सुतेका खनाल अहिले पूर्वकै एक सफल व्यापारी हुन् । करोडौको विजनेश अहिले उनको हातमा छ । प्रतिष्ठित विभिन्न १५ वटा कम्पनीका प्रोडक्टको डिलरसिप उनले सम्हालिरहेका छन् । आफ्नै लगानीमा उद्योग चलाउदै छन् ।
वि.स. २०३८ साल फागुन १७ गते भोजपुरको चम्पे–८ सिस्नेरीमा बुवा भेषराज खनाल र आमा तुलसादेबी खनालका जेठो सन्तानका रुपमा जन्मीएका खनालले सानोमा अभावको सामना गर्नुपरेन । पहिलो, रहरको सन्तान भएकाले खनालका बुबाआमाले उनलाई कुनै अभाव हुन नदिइ हुक्र्याए । तर सानैदेखि चञ्चले र चकचके स्वभावका खनाल आफ्नो छुट्टै पहिचान बनाउन अनेक काम गर्थे । विशेष गरी माझ किरात, मगरबासीहरुको बाहुल्यता रहेको उनको जन्म स्थानमा ब्राह्मणमाथि कातर भएको आरोप लगाइन्थ्यो । बौद्धिक क्षेत्रमा राम्रो भएपनि ब्राह्मणहरु लडाँई झगडाका मामलामा कमजोर हुन्छन् भन्ने आरोप उनले सानैदेखि सुनेकाले बाल मस्तिष्कमा उनलाई त्यसले नराम्रो प्रभाव पारेको थियो । आफ्नो समूदायमाथि लागेको आरोप मेट्न उनी ब्रिटिस आर्मी बन्न चाहन्थे । ब्राह्मणहरु जे पनि गर्न सक्छन् भन्ने देखाउन उनी जे पनि गर्न तयार हुन्थे ।
आफ्नो समूदाय भन्दा फरक गर्न खोज्दा खोज्दै उनी समाजले गलत मानेका कामहरु पनि गर्न थाले । पण्डित परिवारका खनाललाई आफ्नो संस्कार अलग भएकाले त्यहि अनुसार चल्न सिकाइन्थ्यो । जातिय खाडलको कुरा पनि सिकाइन्थ्यो तर खनाललाई जातिय भेदभावको कुरा सानैदेखि मन नपर्ने । जातिय विभेदको कुरा गर्दा आफ्ना साथिहरुलाई गालि गरेझै महसुस हुन्थ्यो, उनलाई । उनको बानीले उनी सधैं परिवारको विरुद्धमा भए जस्तो बन्दै गयो । उनको बानीले उनी प्राय गाली र पिटाई पनि खान्थे । चम्पे बजारमा महिनाको दुई पटक लाग्ने मेलामा खनालको जहिल्यै झगडा र लडाई भएकै हुन्थ्यो । त्यसले उनलाई फटाहा केटाको परिचय बोकायो । तर जंगी स्वभाव बनाउन उनले यी सब गरेका थिए । किनकी उनलाई ब्रिटिस आर्मी बन्न थियो र आफ्नो समूदायमाथि लाग्ने कातर ट्याग मेट्नु थियो । ब्राह्मण भएकै कारण आर्मीको छनौटमा उनी आफू धेरै पटक फेल भएको मान्थे । उनले त्यसमा धेरै प्रयास गरे । आर्मी छनौटका सबै प्रक्रिया पुरा गर्दै उनी पोखरासम्म पुग्थे तर पास हुनेको लिष्टमा उनको नाम हुदैनथ्यो । आफ्नो सपना विरुद्ध जात बाधक बनेझै लाग्थ्यो, उनलाई । आफ्नै जातदेखि उनलाई घृणा समेत लाग्थ्यो । किशोर अवस्थामा उनी अझै उदण्ड स्वभावका बने ।
पढाईमा तेज भएपनि साथी संगतका कारण खनालसँग शिक्षकहरु पनि रुष्ट थिए । ‘यो बिग्रिनेभो, यो गुण्डा हुनेभो, यो हिप्पी हुनेभो भन्नुहुन्थ्यो । त्यतिखर डन भनेको हिप्पी भन्ने चलन थियो । सरहरुले मेरो बारेमा बुवा आमालाई कम्ल्पेन पनि गर्नुहुन्थ्यो । तर मलाई केहीले पनि छुदैनथ्यो ।’ आत्मग्लानी लाग्ने विगत सुनाउदै उनी भन्छन् ‘तर म जे छु, ठिक छु भन्ने लाग्थ्यो । मलाई कसैले एक मुक्का हान्दा कुनै असर हुदैनथ्यो । किनकि म चार पाँच जनालाई कुटेर हिड्ने मान्छे थिएँ ।’ पढाईको शिलशिलामा पनि उनले आफ्नो उदण्ड स्वभाव कायमै राखेका थिए । विज्ञान विषयको शिक्षकले एक पटक गृहकार्य नगरेको निहुमा खनालका साथीलाई सामान्य छडिले हिर्काएको रिसमा उनले साथीहरु सहित शिक्षकलाई नराम्रोसँग कुटे पनि । उदण्ड स्वभावकै बिच उनले चम्पे माबिबाट २०५६ सालमा एस एलसी पास गरे ।
घरमा अभिभावकले ध्यान दिन नसक्दा पनि खनाल दिन प्रतिदिन उदण्ड बन्दै गएका थिए । बुवा आमा जागिरको सिलसिलामा भएका कारण खेती किसानी पनि उनले गर्नु परेन । उनी राती ९ बजे मात्र प्राय घर पुग्थे । अरु समय खेल्ने र बरालिने काम थियो, उनको । विशेष गरी भलिबल उनी खुब खेल्थे । अघिपछि आमा रिसाएपनि भलिवल खेलेको समयमा बिभिन्न स्थानबाट जितेर ल्याएका उपहारहरु दिएर आमालाई खुसी पार्ने काम पनि गर्थे ।
एसएलसी पास भएपछि उनी पढ्न आफ्नो खेती भएको क्षेत्र मोरङको बेलेपुरमा आए । खेतिको संरक्षण पनि हुने पढाई पनि अघि बढ्ने योजनाले उनी मोरंग आएर सुकुना बहुमुखी क्याम्पसमा पढ्न थाले । कलेज पढ्ने क्रममा उनी साथीहरुको लहैलहैमा भूमीगत राजनितिमा लागे । भूमीगत गतिविधिमा संलग्न भएपछि पक्राउ परे । पक्राउ परेपछि उनले १२ दिनसम्म हिरासतको पिडा भोगे ।
जत्तिसुकै उपद्रो गर्ने, उदण्ड भएपनि आखिर आफ्नो सन्तानको माया कुन आमाबुबालाइ हुदैन, होला । खनालका बुबा पनि आफ्नो छोरा छुटाउन आँखाभरी आशु लिएर प्रशासन कार्यालय पुगे । प्रशासनमा धरौटि रकम बुझाएर परिवारले जिम्मा लिएपछि बल्ल उनलाई छाडियो । तर खनालका लागि त्यो क्षण नै जीवनको सबैभन्दा ग्लानी क्षण बन्यो । जुन क्षण हातमा धरौटि बुझाउन ल्याएको पैसा र आँखा भरी आँसु बोकेर खनालका बुबाले खनाललाई हेरे । खनालले आफ्ना बुबासँग आँखा जुधाउन सकेनन् । उनलाई आफूले बुबालाई खुसी दिनुपर्नेमा आँसु दिएको पिडा भयो । त्यहि क्षण हो राजेश खनालको टर्नींग प्वाइण्ट ।
उनले यही समयमा निकै चुनौतीपूर्ण र संघर्षपूर्ण निर्णय लिए । ‘हिरासतमा रहेका बेला बुबा आँखाभरी आशु लिएर मलाई छुटाउन धरौटि रकम लिएर आउनुभएको थियो । उहाँको आँखामा देखिएका आशुले मेरो जीवनको पाटो परिवर्तन गरायो ।’ उनी सम्झीन्छन् ‘त्यतीबेला मलाई धेरै पिडा भयो र घर जान सक्ने अवस्था पनि भएन । ममीलाई, भाईलाई, बाँकी छरछिमेकी जसले हामीलाई राम्रै पृष्ठभुमि भएका हुन् भन्ठान्थे उनीहरुलाई कसरी मुख देखाउने ? मलाई यी कुराहरुले पिरोल्यो । कहाँ जाने गन्तव्य थहा नहुदै म बुबासँग फुत्कीएर हिँडे ।’
खनालको जीवन नयाँ मोडमा पुग्यो । गन्तव्य बिहिन दौडबाटै उनले जीवनको वास्तविक गन्तव्य पहिल्याउन सके । बुबाको हात छुटाएर भागेका खनाल बिना पैसा प्रहरी र बसका सहचालकको सहयोगमा गन्तव्य बिहिन शहरहरुमा भौतारिदै हिड्थे । यात्राकै क्रममा खाना खाने धेरै होटलहरु उनी नपसी कट्थे । तीन दिनसम्म भोको भएपछि उनले अरुले खाएको दृश्य टुलुटुलु हेर्न मात्र सकेनन् । होटलमा भाग्ने ठाउँ खोजेर खाना खान बसे । तर भाग्ने ठाउँ अनुकुल भएन । केहिबेरमा पैसा दिने भनेर हिडे पनि उनलाई होटलवालाले समात्यो । कठ्यांग्रिदो जाडोमा उनका कपडाहरु फुकालियो । पैसा नहुदाको अन्त्यन्तै कठोर अपमानबाट गुज्रिए । र सहनशिल भएर उनी सफल जीवनको गन्तव्य पहिल्याउन लागी रहे । धनगढी पुगे । त्यहा उनी हमाल होटल एण्ड लजमा बसे । होटलमै बसेर जागिर खोज्ने र जागिरको तलबले होटलको पैसा तिर्ने योजनामा उनी त्यहिँ ग्राहकका रुपमा बसे । तर उनले जागिर भेटेनन् । होटललाई तिर्न उनीसँग पैसा थिएन । ‘मैले साउजीलाई अब केही दिन बस्छु र जागिर खाएर पैसा तिर्छु तर मलाई एउटा जागिर खोजिदिनुपर्यो भनेको साहुजीले माओबादीको बिगबिगि भएको अवस्थामा के सम्झीएँ कुन्नी भाई १५ दिनसम्म बस्यौ, खायौ, मलाई त्यसको केही पनि चाँहिदैन अब आज भने तिमिले होटल छोड्नुपर्छ भनेपछी मैले त्यहाँबाट निस्कीएर हिड्नुपर्नेभो ।’ उनी विगत सम्झीन्छन् ।
धनगढीको होटल छोडेपछि उनी अत्तरिया हुदै महेन्द्रनगर पुगे । त्यहाँ पनि उनले जीवनको गन्तव्य भेट्न सकेनन् । यात्राकै क्रममा उनी पोखरा पुगे । गाडिमा तिर्न पैसा नभएपनि उनको मानिसलाई विश्वास दिलाउन सक्ने क्षमताले उनी बिभिन्न ठाँउ पुगे । तर उनले आफ्नो क्षमता पहिल्याउन सकेका थिएनन्, जुन क्षमताले नै उनलाई गन्तव्य देखाईरहेको थियो ।
पोखरा पुगेपनि बस्ने ठाउँ नहुदा खनाल सडक बालबालीका सुतिरहेको स्थानमा गएर उनीहरुकै अलिकति काटुनमा सुते । तर अर्को सडक बालक आएर गालि गर्न थालेपछि उनी त्यहाँ सुत्न सकेनन् । उनले दुई दिन सडक पेटिमै दिन र रात बिताए । त्यही बस्ने क्रममा उनले नजिकै रामजानकी डेरि उद्योग देखे । उद्योगमा उनले काम मागे । उनले काम पाए, राती २ बजेदेखि । २०५८ साल मंसिरदेखि उनले डेरी उद्योगमा दुध बोकेर पसलसम्म पुर्याउने कामबाट आफ्नो करीयर सुरु गरे । दुई दिनदेखि भोको बसेका खनाल दुधको क्यारेट समेत बोक्न नसक्ने अवस्थामा थिए तर उनले आँटले काम गरे । काम थालेपछि उनी उद्योगकै गाडिमा सुत्ने र नजिकको होटलमा खाना खाने स्थितिमा पुगे । उनले उद्योगमा आफ्नो क्षमता देखाउने मौका पनि पाए । उनको क्षमताको कदर गर्दै उद्योगका म्यानेजरले १५ दिनपछि उनलाई तालिम दिएर सेल्समेन बनाए । उनले आफ्नो कार्य कुशलतामा निखारता ल्याउदै गए । सेल्समेनका रुपमा उनले डेरी उद्योगमा दुई बर्ष काम गरे । जहाँ एक हजार छ सय रुपैयाबाट जागिर सुरु गरेर छ हजारसम्म थाप्ने भएका थिए ।
घरबाट भागेकाले उनले परिवारमा पनि आफू पोखरामा भएको जानकारी दिए । उनका बुबा र कान्छो भाई उनलाई भेट्न आए जुन समय खनाल एउटा कोठामा बस्थे र होटलमा खाना खान्थे । भेट्न आएको भाईले दाजुको बस्ने कोठामा किचन पनि नभएको र पुजा कोठा पनि नभएको भन्ने प्रतिक्रिया दिएपछि उनलाई आफूले गर्न धेरै बाँकी रहेको महसुस भयो ।
काम गर्ने क्षमता बढ्दै गएपछि उनले पुनः कम्पनी परिवर्तन गरे । राम्रो सेवा सुबिधा पाउने भएपछि उनले रवी सापकोटाको गण्डकी ट्रेनिङमा काम सुरु गरे । जहाँ चामल, चाचनको तेल लगायतका सामाग्रि बेच्नुपथ्र्यो । उनको क्षमताको चर्चाले अन्य कम्पनीबाट समेत उनलाई प्रस्तावहरु आउन थाल्यो । यसैक्रममा मदन भारतीले भारतिय प्रोडक्ट प्रीयागोल्ड बिस्कुटको मार्केटिंग गर्न खनाललाई काठमाण्डौको इञ्चार्जका लागि प्रस्ताव गरे । त्यो प्रस्तावले खनालले आफ्नो क्षमतालाई अझै निखार्ने मौका पाए । प्रियागोल्डको कारोबार गर्ने क्रममा फेरी उनको भेट केपी रिजालसँग भयो । रिजाल हल्दीबारी कम्पनीमा काम गर्थे । रिजालले हल्दिबारीको चियाको मार्केटिंगका लागि खनाललाई प्रस्ताव गरे । खनालले गड फादर समेत मान्ने उनै रिजालको प्रेरणा, निर्देशन र सहकार्यबाट खनाल अघि बढ्दै गए । १६ सय रुपैयाबाट जागिर सुरु गरेका खनालको २५ हजार रुपैया मासिक तलब हुन थाल्यो । इमानदारीता र मेहनत देखाएपछि उनी कम्पनीको कन्ट्रि म्यानेजरसम्म भए । कन्ट्रि म्यानेजरका रुपमा उनी हल्दीबारीमा २ बर्षसम्म कार्यरत रहे ।
हल्दिबारीमा कार्यरत रहेकै समयमा भिजिटका लागि पोखरा गएका बेला उनको भेट उनकै गाउँका दुई युवतीसँग भयो । ती मध्ये एक जनासँग उनको आँखा जुध्यो, मनमा प्रेम उर्मियो । विस्तारै फोनमार्फत प्रेम झाँगिदै गयो । प्रेम सुरु भएको तीन महिनाको क्रममा दुई जना एक अर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगे । वि.स. २०६४ सालमा उनले विवाहको प्रस्ताव गरे । परिवारसँग मागेपछि उनको विवाह भयो । बिराटनगर ४ का लोकेन्द्र तिम्सीना र गोमा तिम्सीनाकी छोरी स्मीता तिम्सीनासँग वि.स. २०६४ साल मंंसिर १७ गते उनी विवाह बन्धनमा बाँधिए ।
बाटो अल्मलिदै पोखरा पुगेका खनालले जीवनमा महत्वपूर्ण उचाईहरु पोखरामै प्राप्त गर्न सकेकाले उनी पोखरालाई जीवन निर्माण स्थलका रुपमा लिन्छन् । ‘पोखरामै मेरो जिवनले कोल्टे फेर्ने सुरुवात गर्यो, हल्दीवारी टि इन्डष्ट्रिको कन्ट्री म्यानेजरको कुरा पोखरामै भयो र मेरी जीवन संगिनिसंगको पहिलो भेट पोखरा नै भयो । त्यसकारणले पनि पोखरा मेरो लागि महत्वपुर्ण छ ।’ उनी भन्छन् ।
विवाहपछि झनै खुलेर व्यापार व्यवसायमा लागेका खनालले विवाहको १० महिनापछि अमेरिकन ब्राण्डको सेल्समेनका लागि देश बाहिर जाने मौका पाए । मासिक तीन लाख बढीको कमाई हुने त्यो अवसरमा उनी छनौट भए । त्यो अवसर उनका लागि एक सिकाई बन्यो । देश बाहिर रहदा उनले विदेशमा रहेका नेपालीहरुको पिडा र दर्दनाक अवस्था देखे । नेपालीहरुको अवस्थाले मर्माहत भएका उनमा नेपालमै बसेर रोजगारी सिर्जना गर्न लाग्नुपर्छ भन्ने भावना विकास भयो । आफू जस्ता हरेक एक व्यक्तिले ५० जनालाई नेपालमा रोक्न सकेमा एक छाक खान र एक सरो लगाउन कै लागि कोहि पनि विदेशीने अवस्था नआउने सोचेर उनी नेपाल फर्किने तयारीमा लागे । सँगैका साथीहरुले उनको विचारलाई सहि मानेनन् । नेपालमा संभावना नरहेको बताए । कमाउन विदेश बस्नुको विकल्प नभएको भन्दै उनको विचारलाई गलत सावित गर्न खोजियो तर आफ्नो विचारमा अडिक रहेका खनाल नेपाल फर्किए र यहि स्थापित हुन सकिन्छ । नेपालमै केहि गर्न सकिन्छ । केहि युवालाई भएपनि आफ्नै देशमा रोजगारी दिन सकिन्छ भन्ने प्रमाणीत गरेर देखाए ।
दुई बर्ष विदेशमा रहेर कमाएको केहि पैसा उनले नेपालमै रोगजार सिर्जना गर्नका लागि चिप्स उद्योगमा लगानी गरे । तर, त्यसमा उनले सफलता पाउन सकेनन् । करिब २० लाख उनले गुमाउनुपर्यो । सून्यबाट सुरु गरेर सपना साकार पार्ने क्रममा रहेका खनाल त्यत्ति सानो नोक्सानीबाट पछाडि हट्ने कुरै थिएन । उनले फेरी ब्यापारको काममा हात हाले । विदेशबाट फर्किएका उनी साईकलमा म्याक कफिको बिक्रि गर्न विभिन्न ठाउँ घुम्न थाले । त्यसले उनलाई पुनः सफतलातिर तान्यो । व्यापार बढ्दै गयो । सबै किसिमका हन्डरबाट तिखारीएका खनालले व्यापार बढाउदै लगे । अहिले १५ वटा कम्पनीका उत्पादनको डिलरशिप उनको हातमा छ । झापामा नया उद्योग सन्चालनको अन्तिम तयारीमा छन । उनी अहीले ब्यबसायीक हीतका निमीत्त उद्योग बाणिज्य संघ इटहरीको चुनाबमा उम्मेरद्वार पनि बनेका छन् ।
सानोमा ब्रिटिस आर्मी हुने सपनाबाट जीवनका क्रियाकलाप अघि बढाएका खनाल अहिले व्यापार र उद्योगको क्षेत्रमा सफलता चुमीरहेका छन् । असल शिक्षक बनाउने सपनाले परिवारले उनलाई शिक्षा संकाय पढाएको थियो । तर परिवारको सपना पनि अहिले मोडिएको छ । व्यापार र उद्योगका क्षेत्रमा उनले एक पछि अर्को सफलता चुम्दै जादा यसले उनलाई मात्र होइन परिवारलाई पनि सन्तुष्टि दिलाएकोे छ । यो सबै सफलता र सन्तुष्टिको कारण उनको लगनशिल, र इमानदार स्वभाव र निरन्तरको महेनत नै मुख्य कारक हो । त्यसैले उनी भन्छन् ‘हजारौ किलोमिटरको यात्रा तय गर्दा पहिलो पाइलामै इमानदारीता, मेहनत र लगनशिलताको आवश्यकता पर्दो रहेछ ।’
जीवन कत्ति मोडिन्छ ? कत्ति फेरीन्छ ? कत्ति बाधा र व्यवधान जीवनमा आइरहन्छ ? खनालको जीवन एक उदाहरण हो । उनले जीवनमा गरेको संघर्ष सहज थिएनन् । सुन्यबाट उनले जीवन सुरु गरेर करोडको अवस्थामा पुर्याउदा उनले गरेको मेहनत पनि कम चर्चा योग्य थिएन । त्यसैले उनको जीवन देखेकाहरु आज उनीसँग आफै चकित हुन्छन् । एउटा सिंगो किताब झै खनालको जीवनलाई उदाहरण दिएर मानिसलाई आशा र उत्प्रेरणा देखाउने गरीन्छ । तर उनको सफलता उनकै शब्दमा लगनसिलता, इमानदारिता र जिम्मेवारी बोधबाट प्राप्त भएको हो । निरन्तरको संघर्ष, आत्मविश्वास र ठूलो आशाले उनले सफलता पाएका हुन् । तर युवा व्यवसायी खनाल अझै ठूलो उदेश्य लिएर अघि बढीरहेका छन् । देश बनाउन आफैबाट सुरुवात गर्नुपर्छ भन्ने सन्देश लिएर उनी निरन्तर क्रियाशिल छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg