गृहपृष्ठ » चर्चाका चार » माघ महिनाका चर्चितहरु

माघ महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | १२० पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।यो महिना पनि विभिन्न घटना तथा परिघटनाहरु चर्चामा आए । ति घटनाहरुमा विभिन्न व्यक्तिहरु जोडिएर चर्चित भएर बजारमा छाए । माघ महिनाभर  चर्चामा आएका विषय मध्येबाट बढि चर्चामा आएका व्यक्तिहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

 

सुदिप घिमिरे
सुदिप घिमिरे इटहरीमा चिनिएको नाम हो । उद्योग वाणिज्य संघ इटहरीको कान्छो सदस्यको रुपमा निर्वाचित भएका थिए । यो महिना पनि सुदिप एकाएक चर्चामा आए । उनकै अध्यक्षतामा युवा उद्यमी मञ्च सुनसरीको गठन भएपछि उनी चर्चामा आएका हुन । युवा उद्यमीहरुलाई संगठित गर्दै सुदिपले उद्यमी मञ्च गठन गरेपछि विभिन्न सञ्चार माध्यमले उनलाई खोजे । उनी सहित टिमको प्रचार भयो । बजारमा राम्रै चर्चा भयो । मञ्चको पक्ष र विपक्षमा चर्चाहरु भए । इटहरीमा दोस्रो व्यवसायी जेनेरेसन उत्पादन भयो भन्दै बजारमा चर्चाहरु आए । विभिन्न व्यावसायीक कार्यक्रममा उद्यमी मञ्चले राम्रो काम गरोस भन्दै स्वागत पनि भयो । नयाँ जेनेरेसनले इटहरीको व्यावसायीक छवि माथि उठाउन सोच्नु पर्ने भन्दै नयाँ आशा देखेको बताइयो । उद्योग वाणिज्य संघ इटहरीको सुस्तताले गिर्दो व्यावसायीक छवि उठाउन युवा व्यवासायीले काम गर्नुपर्ने आवाज पनि उठ्यो । युवा उद्यमी मञ्च गठनले इटहरीमा नयाँ व्यवसायीक तरंग नै ल्याईदियो । उद्योग वाणिज्य संघको प्रभावकारी उपस्थिती र काम भएको अवस्थामा युवाहरुबाट नयाँ केही होला की भन्ने खालका चर्चाहरु भए व्यवसायीक क्षेत्रमा ।
बजारमा आलोचनात्मक चर्चाहरु पनि आए । केहीले उद्योग वाणिज्य संघ हुँदा हुँदै किन अर्को संगठन चाहियो भन्दै विरोध पनि गरे । उनीहरुले उद्योग वाणिज्य संघको प्रतिस्पर्धी संगठन, उद्योग वाणिज्यका लागि राजनितिक गतिविधि भन्दै प्रचार पनि भयो । युवा उद्यमी मञ्च स्वयंम उद्योग वाणिज्य महासंघले युवाहरुका लागि प्रर्वद्धन गरेको संस्था भएपनि नकरात्मक चर्चाहरु गर्दै भ्रम छर्न प्रयास भयो ।
इटहरीमा स्थापित भएका व्यवसायीहरुले छोराहरुलाई गठन गरिदिएको संगठन भनेर पनि आलोकचकहरुले तर्क गरे । उद्यमी मञ्चमा जो जो समेटिएका छन्, उनीहरु इटहरीमा स्थापित भएका व्यवसायीहरुका छोराहरु नै छन् । अध्यक्ष सुदिप पनि व्यवसायी शिव घिमिरेका छोरा हुन । योसँगै भिम पौडल, राजेश श्रेष्ठ, इश्वर भट्टराई लगायत स्थापित व्यवसायीका छोराहरुले नै संगठनको नेतृत्व गर्दैछन् । यस हिसाबले आलोचकको तर्क स्वभाविक लाग्न सक्छ । अरुले बनाईदिएको प्लाटफर्ममा रमाउने वा आफै केही गरेर देखाउने सुदिप सहित उनको टिमका लागि चुनौतिको विषय हो । भोली के होला त्यो हेर्न त बाँकी नै छ ।

प्रितम आचार्य 

प्रितम आचार्य, इटहरीका बालगायक हुन । उनी अहिले इटहरीमा मात्रै नभएर देश तथा विदेशमा चर्चित भईरहेका छन् । सबैतिर उनकै चर्चा छ । उनको गायकीको चर्चा छ । इटहरी ५ मा बस्दै आएका प्रितम भारतीय जी टेलिभिजनको रियालिटी सो मा सेलेक्ट भएर टप १५मा पुगे पछि उनको चर्चा अहिले देश व्यापी रुपमा भईरहेको छ । प्रितम टप ३० हुँदै टप १५मा पुगेका छन् । उनको यो प्रतिभालाई लिएर सञ्चार माध्यमहरुले प्रचार गरिरहेका छन् । नेपाल सहित भारतीय सञ्चार माध्यमहरुले पनि उनको गायकीको प्रशंसा गर्दै समाचार लेखेका छन् । अहिले उनले गाएको भिडियो तथा प्रोमो भाईरल भएको छ । जी टिभीको सारेगमप लिटिल च्याम्स्को सोमा उनले गायकी जादु देखाएपछि जजहरु उनका फ्यान भएका छन् । जजहरुले प्रितमकोे गायकीबाट प्रभावित बन्दै प्रशंसा गर्दै बोकेर सम्मान पनि गरे । त्यो फोटो तथा भिडियो अहिले यु ट्युव, फेसबुक, इष्टाग्राम लगायतका सोसलमिडियामा भाइरल भईरहेका छन् ।
हाल ११ बर्षका प्रितम कक्षा ६मा विश्व आर्दश स्कुलमा पढ्छन् । उनी सानै देखी गायनमा रुचि राख्थे । इटहरीमा हुने विभिन्न गायन प्रतियोगितामा भाग लिन्थे । कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी सो सुरसालामा सहभागि भएर उपविजेता भएका थिए ।
जीटिभीको बाल गायन प्रतियोगिता सारेगमप लिटिल च्याम्स्को अडिसन दिएका प्रितमले अडिसन राउण्ड हुँदै टप ३०मा पुगे थिए । उनी टप ३०मा पुगे पछि जीटिभीको कार्यक्रम टोली भिडियो खिच्न नेपालमै आएको थियो । प्रितमलाई काकडभिट्टा नाकामा भव्य स्वागत गरिएकोे थियो । इटहरी उपमहानगरपालिकाले त विशेष कार्यक्रम नै गरेर स्वागत सम्मान पनि गर्यो । प्रितमलाई मेयर द्वारिकलाल चौधरी सहित सांगितक क्षेत्रका अग्रज व्यक्तिहरुले स्वागत तथा सम्मान गर्दै उनको थप प्रगतिको कामना गरे । उनलाई थप हौसला प्रदान गरे । इटहरीको बाल प्रतिभा अहिले आफ्नो गृहनगर इटहरीसँगै सिंगो देशको नाम फैलाउँदै छ । प्रितमको प्रतिभाले अहिले समग्र भारतको ध्यान पनि नेपाल तर्फ तानेको छ ।

जिवन पराजुली

जिवन पराजुली, होटल व्यवसायी संघ इटहरीका अध्यक्ष हुन । यो महिना जिवन पनि चर्चामा आए । होटल व्यवसायी संघले पर्यटन प्रर्वद्धनका लागि आयोजना गरेको फुड फेस्टिवलले उनलाई चर्चामा ल्यायो । पर्यटनका गतिविधिलाई प्राथमिकता दिने, आन्तरिक पर्यटकलाई आकर्षीत गर्दै नेपाली खानाहरुको प्रर्वद्धन गर्न फुड फेस्टिवलको आयोजना गरिएको थियो । निकै तामझामका साथ आयोजना गरेको फेस्टिवलको निकै चर्चा भयो । स्थानिय तथा राष्ट्रिय स्तरका मिडियाहरुले प्राथमिकताका साथ फेस्टिवलको चर्चा गरे । फेस्टिवलको आयोजकको अध्यक्ष भएकाले जिवन पराजुलीको राम्रै चर्चा भयो । फुड फेस्टिवल निकै आरोह र अवरोहका वीच सम्पन्न भयो । आयोजना हुनु अघि नै हल्लखल्ल बढि भएकाले अपेक्षा ठुलो थियो । तर केही आयोजककै कमजोरी र प्रकृतिले दुःख दिएपछि फेस्टिवल सोचे जस्तो, भने जस्तो भएन । पानी परेर आयोजकलाई केही दिन तनाव दियो । अन्त्य अन्त्य तिर पानीले चित्त बुझाएपछि फेस्टिवलले रौनक लिएको थियो ।
फेस्टिवलमा काम भन्दा हल्लै बढि भएको बजारमा चर्चा धेरै भयो । आयोजकले फेस्टिवलमा मदिरा राख्न र खान नपाईने भनेर प्रचार गर्यो । तर पछि वियर नै फेस्टिवलको प्रायोजक बस्यो । यसले आयोजकको दोहोरो कुरालाई उदांगो पारिदियो । दुई वटा वियर कम्पनीको आन्तरिक प्रतिस्पर्धाले विवाद ल्याईदियो भन्दै आयोजककै केही व्यक्तिले गुनासो गरे । वियरले प्रायोजन गरेको कार्यक्रममा मुख्यमन्त्रिले बोर्ड च्यात्न लगाए भन्दै सामाजिक सञ्जालमा कोकोहोला गरियो । प्रहरीले तनाव दियो भन्दै सांसद मार्फत सार्वजनिक कार्यक्रममै प्रहरीलाई मदिरा खान छुट दिन भन्न लगाईयो । मुख्यमन्त्रिकै अघि खान्तेपिन्ते कार्यक्रममा विर्को टाईट नकस्न,फुट्यो भने चुहिएर जथाभावी पोखीने भन्दै सांसदले पनि आयोजकको भाषा बोले । मुख्यमन्त्रिकै अघि प्रहरीलाई डिमोरलाईज गर्दै सांसदले धम्कीपूर्ण भाषा बोले । यी सवै घटनाका असर भने अध्यक्ष जिवन पराजुलीको टाउकोमा खनियो । अरु सवै पानी माथिका ओभाना ।
फेस्टिवलमा फोटो खिच्नका लागि बनाईएको कोशी टप्पुको अर्ना र लालीगुराँसका प्रतिमाहरु रुचाईए । त्यो भन्दा पनि बढि हात्ति सवैको आकर्षणको केन्द्र बन्न पुगेको थियो ।बालबालिका देखी बुढा सम्मै हात्ति हेर्न र फोटो खिच्न पुगेका थिए । समग्रमा फेस्टिवलको राम्रै चर्चा र प्रचार भयो । केही तनावका वीच जिवन पराजुली पनि चर्चामा भने आईरहे ।
केशव विष्ट


केशव विष्ट चिर परिचित नाम हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रहेका विष्ट यो महिना चर्चामा आए । केशव विष्टकै कारण इटहरी र इटहरीको खेल क्षेत्रको विकास तिव्र गतिमा भईरहेको छ । स्पोट्स सिटी बनाउने घोषणा गरेका केशव विष्टकै कारण इटहरी रंगशालामा प्रत्येक महिना कुनै कुनै खेल प्रतियोगिता सञ्चालन भईरहेका छन् । यो महिना मोफसलकै दोस्रो ठुलो धन राशीको फुटबल प्रतियोगिताका कारण विष्टको चर्चा भयो । दोस्रो मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताले देशकै ध्यान इटहरीमा केन्द्रीत बनाईदियो । विष्टको सकारात्मक पहलकै कारण मदन भण्डारी गोल्डकप इटहरी आएको भन्ने बजारमा चर्चा छ ।सबैले त्यो बुझेका छन् । त्यो मात्रै होइन,पछिल्लो समय एक पछि अर्को गर्दै खेल पूर्वाधारहरु निर्माण भईरहेका छन् । खेल प्रतियोगिताहरु इटहरी रंगशालामा आयोजना भईरहेका छन् । यसले पनि केशव विष्टको चर्चा शहरमा छ । हुन त उनका विषयमा आलोचना नभएका भने होईन । पूर्व एमाले जनहरुले नै मदन भण्डारी गोल्डकप राष्ट्रिय जागृति क्लबलाई सञ्चालन गर्न दिएको भन्दै विरोध गरे । काँग्रेसको हाली मुहाली भएको संस्थालाई मदन भण्डारी गोल्डकप गर्न दिएर विष्टले गल्ति गरेको भन्दै सामाजिक सञ्चालमा भ्रम छर्ने प्रयत्न पनि गरियो । विशेष गरी उनका विरोधीहरुले यो भ्रम र्छन खोजेको पूर्व एमालेजनहरु नै बताउँछन् । खेल विरोधीहरुले त्यो भ्रम छर्न खोजेको आरोप उनीहरुको छ ।
जे भएपछि इटहरी खेल क्षेत्रमा निकै अघि बढिसकेको छ । विष्टकै स्पिरिट अनुसार नै इटहरी सरकारले पनि खेलमा लगानी गर्ने हो भने देशकै उत्कृष्ठ खेल गन्तव्य बन्ने थियो । तर विस्तारै भएपनि इटहरी र खेलको चर्चा देशभर भईरहेको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg