गृहपृष्ठ » चर्चाका चार » भदौ महिनाका चर्चितहरु

भदौ महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | ८३ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।

भदौ महिना अघिल्ला महिना जस्तै उतार चढाव मै वित्यो । विभिन्न घटना क्रमहरु भए ।उपमहानगरपालिकाको डोजर काण्डले राम्रै चर्चा कमायो । इटहरीको पहिचान बनेका हरिया ठुला रुखहरु डोजरले ढलायो । उजाड बन्दै गरेको इटहरी सामाजिक सञ्जालमा राम्रै छायो । राजनितिक वृत्तका चर्चा परिचर्चा पनि उत्तिकै भए । उपमहानगरको काम चित्त बुझ्दो नभएको भन्दै सत्ता साझेदार अनि प्रतिपक्षि पनि रहेको नेपाली काँग्रेसले विरोध गर्दै ज्ञापन पत्र नै बुझायो । आन्दोलन गर्ने चेतावनी दियो । यता,महाधिवेसन नजिकिदै गरेको संघिय समाजवादी फोरमको पनि बजारमा राम्रै चर्चा छ । कार्यकर्ताहरु मञ्चमै झगडा गर्दै माईक नै भाँचा भाँच गरेपछि उपेन्द्र यादवको पाटिले इटहरीमा राम्रै माहोल ततायो । अन्य सामाजिक गवितिधि पनि उस्तै भए । यी र यस्तै घटनाहरुले इटहरीमा चर्चा पाए । तर यी चर्चा मध्येका मुख्य चर्चितहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

द्वारिकलाल चौधरी 

मेयर दवारिकलाल चौधरी इटहरीमा सवैले खोजीने व्यक्तिमा पर्छन् । यो महिना पनि मेयर चौधरी चर्चा र खोजीमा परे । उपमहानगरपालिकाले चौकमा सडकलाई अतिक्रमण गरी बनाइएका टहरा, निर्माण सामाग्री हटाउने अभियान सुरु गर्यो । यसको नेतृत्व मेयर द्वारिकलाल चौधरीले गरे । उनले यो अभियान सुरु गरे लगत्तै बजारमा उनको चर्चा भयो । अतिक्रमति क्षेत्र सफा गर्न डोजरहरु सडकमा गुड्नै थालेपछि अटेर गरेर बसेकाहरुको पनि होस आयो । हतार हतार केही व्यक्ति तथा व्यापारीले भत्काए धेरैको उपमहानगरपालिको डोजरले नै भत्काईदियो ।  बजारमा डोजर चल्न थालेपछि त्यसको सर्मथन तथा विरोधमा आवाजहरु बजारमा चले । थोरै समर्थन धेरै विरोध छ बजारमा । उपमहानगरपालिका र मेयरका यस अघिका अभियानहरु वीचमै रोकिएको भन्दै बजारमा आलोचना हुने गरेको छ । ऐलानी जग्गा खोजी अभियान, खेती खोला सफाई अभियान लगायतका ठुलो हल्लाखल्ला गरेका कार्य वीचमै रोकियो । यसपालि पनि डोजर धेरै दिन चल्न नसक्ने अड्कलबाजीहरु बजारमा प्रशस्तै सुन्न पाईन्छ ।

अर्को तर्फ सडकका ठुला रुखहरु धमाधम काटिएपछि मेयरको तिव्र आलोचना भईरहेको छ । सडक सफा गर्ने बाहनामा हरिया रुख काटेर शहरको सौन्दर्य नै मासेको आरोप मेयर चौधरीलाई लाग्ने गरेको छ । सुन्दर शान्त हरित नगरी इटहरी भन्ने पहिचान नै मासेको भन्दै मेयर चौधरीको तिव्र आलोचना हुने गरेको छ । विशेष गरी सामाजिक क्षेत्रमा सक्रिय रहेका अगुवाहरुले आलोचना गरेका छन् । सामाजिक सञ्चालमा उनीहरुले मेयर अनि उपमहानगरप्रति आक्रोश पोखेका छन् । विकल्प हुँदा पनि रुख काटेर इटहरीलाई उजाड बनाएको भन्दै आलोचना हुने गरेको छ ।

भन्न त केही समय अघि त्यहि उपमहानगरले जंगल भित्रको शहर बनाउछु भन्यो । १० हजार विरुवा २० हजार हात भनेर विरुवा रोप्यो । हंगामा गर्दै बजार थर्कायो, राजधानीबाट मन्त्रि बोलाएर विरुवा रोपेको नाटक रच्यो । अहिले त्यहि कार्यालय धमाधम रुख काट्दै छ । आफ्नै नीति आफै भत्काउँदै छन् मेयर भन्दै अहिले बजारमा उनको चौर्तफी आलोचना हुने गरेको छ । पहिले विरुवा रोप्न भनेर लाखौँ खर्च गरियो । अहिले फेरी सडक सफाको नाममा लाखौँ खर्च गरेर रुख काटिदैछ । यस्तै छ यहाँको चलन । जे होस् मेयर द्वारिकलाल चौधरी र उनको अभियानले राम्रै चर्चा कमाएको छ ।

शिवनारायण चौधरी 

शिव नारायण चौधरी १३ नम्बर वडाका वडा अध्यक्ष हुन् । उनी पनि यो महिना चर्चामा आए । हुन त इटहरीका वडा अध्यक्षहरु चर्चामा नै आईरहन्छन् । वडा अध्यक्ष शिवनारायण भने ऐलानी जग्गा खोज्ने समितीको संयोजक भएर चर्चामा आएका हुन । उपमहानगरपालिकाले फेरी आफ्नो क्षेत्राधिकार भित्र कति ऐलानी जग्गा छ भनेर खोज्न समिती बनायो । त्यसको जिम्मेवारी शिवनारायणलाई दियो । मेयर द्वारिकलाल चौधरी निर्वाचित भएर आउने वित्तिकै ऐलानी जग्गा खोज्न हुल नै लिएर हिँडे । तर खासै पार लगाउन सकेनन् । आफुले नसकेर र धेरै आलोचीत भएर मेयरले जग्गा खोज्न वडाध्यक्षलाई दिए भन्ने चर्चाहरु बजारमा सुनिने गरेका छन् । आफु मुछिने र विवादमा परिने भएकाले वडाध्यक्षलाई पन्छाएको भन्दै बजारका चिया चौतारीमा गफ सुन्न पाईन्छ । समितीलाई म्यान्डेट पनि आधा मात्रै दिएको चर्चा छ । कुन कुन वडामा कति ऐलानी जग्गा छ भनेर पत्ता लगाएर प्रतिवेदन बुझाउने । तर त्यसको संरक्षण र स्वामित्व ग्रहणमा अधिकार छैन । जग्गा कति छ भन्न त इन्जिनियर विकास भट्टराईकै समितीले दिएकै हो । अहिले फेरी त्यहि काम गर्न समिती बनाउनु आफै अस्पष्ट देखिन्छ ।

इटहरीमा ऐलानी जग्गालाई निकै महत्व दिएको देखाईन्छ । तर काम भने केही हुँदैन । ऐलानी जग्गामा धेरैको आँखा परेको छ । राजधानीको विषय उठ्छ, भनिन्छ प्रशस्तै ऐलानी जग्गा छ । सरकारी कार्यालय बनाउनु पर्यो ऐलानी जग्गा छ । खेलमैदान बनाउनुपर्यो, ऐलानी जग्गा छ । सबैको मुखैको सजिलो जवाफ छ ऐलानी जग्गा । भन्नलाई सजिलो तर गर्नलाई साह्रै गाह्रो विषय  हो इटहरीको ऐलानी खोजी कार्य । इटहरीमा ऐलानी जग्गा हत्याएको पनि राम्रै चर्चा हुने गरेको छ । ऐलानी जग्गा ओगट्नेमा मन्त्रि देखी सांसद सम्म । व्यापारीसंस्था देखी विद्यालय सामाजिक अनि राजनितिक संस्था । सामान्य व्यक्ति देखी उद्योगपति,व्यापारी हुँदै स्वयंम उपमहानगरका कर्मचारी पनि छन् भन्ने कुराहरु इटहरीका पुराना व्यक्तिहरु खुलेयाम भन्ने गरेका छन् । धेरैले भोगेको, खोज्नलाई मेयरले विथोलेको ऐलानी जग्गा खोज्न र पहिल्याउन वडाध्यक्ष शिवनारायण कत्तिको सक्षम हुन सक्छन् त्यो भने हेर्न बाँकी छ ।

पदम अधिकारी 

पदम अधिकारी इटहरीमा चिनिएको नाम हो । पूर्वी नेपालमा लिम्बुवान आन्दोलनको अगुवाको रुपमा उनलाई लिने गरिन्छ । यो महिना अधिकारी पनि चर्चामा आए । आफ्नै पाटीका नेता कार्यकर्तालाई झगडा लगाएर कुटाकुट गराउने पर्दा पछाडीको खेलाडीको रुपमा अधिकारीको चर्चा भयो । संघिय समाजवादी फोरम नेपालको इटहरी नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कार्यकर्ता वीच कुटाकुट भयो । मञ्चमा भाषण गर्दै गरेका नगर सचिव रामचन्द्र राई र महाधिवेसन आयोजक समितीका संयोजक डिल्ली सुब्बा वीच हात हालाहाल भयो । बोल्ने माईक नै भाँचियो । मञ्चमा होहल्ला, ठेलमठेल , छुट्याउनको सास्ती । यी सब कार्यक्रमका पर्दा पछाडीका खेलाडी पदम अधिकारी नै भएको चर्चाहरु बजारमा सुन्न पाईन्छ । फोरमको केन्द्रीय सदस्य रहेका पदमले आफ्नो पावर देखाउन खोज्दा समस्या उत्पन्न भएको नेता, कार्यकर्ताहरु नै बताउँछन् । उनले केन्द्रमा पनि पावर देखाउन खोजेको तर उपेन्द्र यादवले हपारेको भन्ने चर्चाहरु अहिले उनकै पाटि भित्र सुन्न थालेको छ । त्यसैको रनाहमा उनले यस्तो गरेको भन्ने पनि कम छैनन् । तर उनी त्यो मान्ने पक्षमा छैनन् । पदमले केही समय अघि बनभोज कार्यक्रम भन्दै सबै नेता कार्यकर्तालाई बोलाएर महाधिवेसन आयोजक समिती संयोजक आफु निकट व्यक्तिलाई बनाएका थिए । सोही विषयलाई लिएर कुटाकुट भएको थियो । अहिले बजारमा पदम अधिकारीको राम्रै चर्चा छ । उनको समर्थनमा थोरै, विरोधमा धेरै नेता कार्यकता भएको चर्चाहरु बजारमा छ । लिम्बुवानमा हुँदा गर्ने काम अव फोरममा पनि सुरु भएछ भनेर उनकै नजिकका साथीहरुले नै भन्ने गरेका छन् । लिम्बुवान मुक्ति मोर्चा पाटि चलाएका अधिकारी लिम्बुवानका बारेमा भने राम्रो जानकार मानिन्छन् । तर उनको खुरापाती बानीले टिक्न नसकेको भन्ने तर्कहरु पनि सुन्ने गरिन्छ । माले, एमाले हुँदै सुरु भएको उनको राजनितिक यात्रा लिम्बुवान हुँदै फोरममा पुगेको छ । चर्चाहरु त के पनि छ भने अधिकारी फोरममा पनि लामो समय टिक्न सक्दैनन् र काँग्रेसमा जान्छन् ।  सबै बुझेका उनी काँग्रेसमा मात्रै जान बाँकी रहेको छ । जे जस्तो भएपनि पदम अधिकारी लिम्बुवान आन्दोलनका चर्चित व्यक्ति हुन ।

केशव विष्ट 

केशव विष्ट इटहरीमा मात्रै होइन देशमै चिनिएको नाम हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रहेका विष्ट यो महिना चर्चामा आए । सदस्य सचिव भएदेखी नै गृहनगर इटहरीलाई देशमै चिनाउने उद्घोष गरेका विष्ट इटहरीकै विषयका कारण चर्चामा आए । हुन त यस अघि पनि पटक पटक चर्चामा आईरहने व्यक्तिमै पर्छन् । इटहरी उपमहानगरले स्पोर्टस सिटी घोषणा नगरेर विकास रोकेको भन्ने अभिव्यक्ति दिए पछि अहिले उनी चर्चामा छन् । आफुले प्रयत्न गर्दा पनि उपमहानगरकै कारण रोकिएको भन्दै उनको आक्रोश केही सार्वजनिक सञ्चार माध्यमै पोखिए । यसले इटहरीलाई तताएको छ । विकासमा उपमहानगर कसरी र किन बाधक बन्यो भन्ने चर्चाले अहिले राम्रै चर्चा पाईरहेको छ ।

विष्टको अभिव्यक्तिलाई काउन्टर दिँदै मेयरले पनि प्रतिवाद नै गरे । ठुलो ठाउँमा बसेका व्यक्तिले  स्पोटर््स सिटी घोषणा गर्ने विषयमा एक कल फोन पनि नगरेको, त्यहाँ यस्तो हुँदैछ हामीले यसो गर्नुपर्यो भनेर सामान्य सुचना पनि नदिएको भन्दै छेड हाने । पत्रकार सम्मेलनमा मेयर चौधरीले विष्टको आरोपको प्रतिवाद मात्रै गरेनन्,ठुलो मान्छे भएर सानो मान्छेसँग बोल्नै नहुने झँै गरी सामान्य एक फोन पनि नगरेको भन्दै उल्टै आरोप लगाए । यो शितयुद्ध अहिले भुसको आगो झै फैलिरहेको छ । यो शितयुद्धलाई बजारमा पाटि भित्रको दुई लाईन संघर्ष पनि भन्ने गरेका छन् ।

हुन त विष्टले इटहरीलाई देशकै पहिलो स्पोटर््स सिटी बनाउँछु भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएकै हुन । राखेपको एक समितीले इटहरीलाई स्पोटर््स सिटी बनाउन सकिने आधार सहितको प्रतिवेदन उपमहानगरलाई बुझाएको थियो । स्पोटर््स सिटी घोषण गर्ने अधिकार स्थानिय सरकार अर्थात उपमहानगर कै हो । तर प्रतिवेदन लिएपनि घोषण गर्न उपमहानगरले चासो नै दिएन वा कुनै प्राविधिक कारण आयो त्यो उपमहानगर नै जानोस  । तर प्रतिवेदन पाउने वित्तिकै तुलसीपुर नगरले घोषण गर्यो । र देशकै पहिलो स्पोटर््स सिटी बन्यो । इटहरीले पहिलो हुने मौका गुमायो । मेयर र विष्ट वीचको द्धन्दले इटहरीको विकास रोकिएको भन्ने जस्ता चर्चाहरु बजारमा सुनिने गरेका छन् ।

सदस्य सचिव विष्ट र मेयर चौधरी वीचको आपसी द्धन्दले इटहरी खेलकुद क्षेत्र र समग्र इटहरीको विकासमा बाधा पर्ने भन्दै चिन्ता पनि प्रकट हुने गरेका छन् । कारण के हो उनीहरु नै जानुन तर स्पोटर््स सिटी बन्दा मेयर चौधरी र विष्टकै कै हाइट बढ्छ ।

 

 

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook