गृहपृष्ठ » चर्चाका चार » साउन महिनाका चर्चितहरु

साउन महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | ५२४ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
यो महिना पनि इटहरीको माहोलमा उतारचढाव भने आईनै रह्यो । उपमहानगरको गलत कार्यशैलीको चर्को विरोधभयो । सांस्कृतिक भवनबाट पुस्तकाल हटाउने भन्ने निर्णयले विवादको रुप लियो । अघिल्लो बर्ष आएको कहालिलाग्दो बाढिले यो बर्ष पनि धेरैलाइ त्रसित बनायो । बाढि पिडित र डुवान नियन्त्रणका लागि कुनै दिर्घकालिन काम नभएको भन्दै उपमहानगर, मेयर, उपमेयर र अन्य जनप्रतिनिधिको आलोचना भयो । इटहरीमा कर वृद्धिको विषयले पनि राम्रै चर्चा पायो । जनतालाई ढाड सेक्ने गरी वृद्धि गरिएको करलाई लिएर पनि जनप्रनिधिको आलोचना भयो । व्यवसायीहरु माथी कर थुपारिएको भन्दै उद्योग वाणिज्य संघले उपमहानगरपालिकालाई ज्ञापन पत्र नै बुझायो ।
शैक्षिक संस्थाहरुले गरेको गलत कार्याको पनि राम्रै चर्चा भयो । सञ्चार माध्यमहरुले समाचार लेखे । तर तिनै सञ्चार माध्यमलाई विज्ञापन छाप्न दिएर अभिभावक र विद्यार्थीमा अन्यौलता छर्ने प्रयत्न पनि भए । यीसँगै अन्य थुप्रै साना ठुला विषयहरुले इटहरीमा चर्चा पायो ।
यी र यस्तै विषयहरुसँग जोडिएर बढि चर्चामा आउने व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
लक्ष्मी गौतम
इटहरी उपमहानगरपालिकाकी उपमेयर हुन लक्ष्मी गौतम । उनी बेलाबेला चर्चा आईरहने व्यक्तिहुन् । इटहरी उपमहानगरपालिकामा उनको रवाफ र प्रभाव बेग्लैछ । कर्मचारी देखी लिएर जनप्रतिनिधिलाई नै आफ्नो प्रभावमा पार्न खोज्दाका टसलहरु कहिले काँही सार्वजनिक रुपममै अभिव्यक्त हुने गरेका छन् । यो महिना पनि उपमेयर लक्ष्मी गौतम चर्चामा आईन् । इटहरी उपमहानगरपालिकाले साँस्कृतिक भवनको पुस्तकालय हटाएर प्रशानिक कार्य सञ्चालन गर्ने तयारी गरेको थियो । लगत्तै साँस्कृतिक भवनको पुस्तकालयका पुस्तकहरु जथाभावी फ्याकिएका, विद्यालयहरुलाई बाँडिएको चर्चासँगै फोटोहरु सामाजिक सञ्जालमा भाईरल भए । पुस्तकालय हटाएर इजलास बनाउने भन्दै उपमेयर गौतमले दिएको अभिव्यक्ति अझ विवादित बन्यो ।
यो देखेका इटहरीका अग्रज तथा साहित्य श्रष्टाहरुको चित्त काटियो । पढ्ने, लेख्ने ठाउँ मासेको उनीहरुलाई सह्य भएन । साहित्य साधना गर्ने मानिसलाई त्यो चित्त बुझ्ने कुरा पनि थिएन । उपमहानगरको गलत कार्य र त्यसमा पनि उपमेयर गौतमको कार्यशैली विवादको प्रमुख कारक बन्यो । उपमेयर गौतमको कार्यशैलीको विरोधमा अग्रज, साहित्यकार,कलाकार पत्रकार सवैले आवाज उठाए । कतिले सामाजिक सञ्जालमा आक्रोश पोखे भने कतिले पत्रपत्रिका, रेडियोहरुबाटै आवाज उठाए । एक पछि अर्को गर्दै कला, साहित्यको विस्थापन गर्न उपमहानगर र त्यसका केही व्यक्तिहरु संगठित रुपमै लागेको भन्दै जनआक्रोस पोखियो । केही समय अघि काव्यवाटिका विस्थापित गरियो, अहिले पुस्तकालय र भोली तालतलैयालाई पनि विस्थापित गरिनेछ भन्ने जस्ता चर्चाहरु पनि बजारमा सुनिए । यो विवादले उपमेयर लक्ष्मी गौतमको बढ्दो रवाफमा बे्रक लागेको भन्ने चर्चाहरु पनि सुनिए । पछि उपमहानगर र उपमेयर लक्ष्मी गौतमले माफी नै माग्नुपर्यो । पुस्तकालय नहट्ने अझ व्यवस्थित गरिने तर बाँकी रहेको अन्य भवन भने प्रशानिक कार्यमा प्रयोग गरिने सहमति गरियो ।
उपमहानगरको हतारमा काम गर्ने अनि विग्रिएपछि पछि सर्ने प्रवृत्तिको आलोचना हुने गरेको छ । जे होस यो महिना उपमेयर लक्ष्मी गौतम पुस्तकालय काण्डका कारण चर्चामा आईन् ।

केशव खड्का


केशव खड्का भरखर भरखर खुलेको, राम्रै चलेको तर बिबादीत बनिरहेको इटहरीको ग्रिनपिस नमुना कलेजका अध्यक्ष हुन । उनको शैक्षिक संस्था र उनको गतिविधि बेलाबेला चर्चामा आउने गरेको छ । सम्बन्धित निकायबाट लिनुपर्ने सम्बन्धन नै नलिकनै सो विषयको पढाई कलेजमा हुन्छ भन्दै विज्ञापन गर्ने र विद्यार्थी भर्ना गर्ने कार्यका कारण खड्का बिगत बर्षदेखिनै चर्चामा आउने गरेका छन् । जुन विषय पढाउने अनुमति नै छैन त्यहि विषय पढाई हुन्छ भन्दै विज्ञापनको ढोल पिटाएर विद्यार्थीलाई दुःख दिने गरेका कारण इटहरीको ग्रिनपिस नमुना कलेज र त्यसका अध्यक्ष केशव खड्का चर्चामा आएका हुन । यो शैक्षिक सत्रमा पनि कलेजले पुरानै हर्कत दोहोर्याउँदै विज्ञान गर्यो । विद्यार्थी तान्न उसको कार्यशैलीलाई लिएर विभिन्न सञ्चार माध्यमले समाचार लेखे । नरम हुँदै मिठो बोल्ने खड्का जो जसरी खुसी हुन्छन् उसलाई त्यसरीनै खुसी बनाउन माहिर छन् भन्ने चर्चा छ । जस जसले कलेजको विरोधमा लेख्छन् उनीहरुलाई आफ्नै कलेजको विज्ञानप दिएर खुसी बनाएको चर्चा पनि अहिले बजारमा छ । मिडियामा राम्रै विज्ञापन लगानी गरी मुख बुचो लगाउन खोजेको भन्दै इटहरीका विभिन्न सार्वजनिक कार्यक्रममा खड्काको खुरापाती रणनितिको चर्चा हुने गरेको छ ।
कुनै पनि कलेजले पढाई सञ्चालन गर्ने विषयमा सम्बन्धित विश्वविद्यालयबाट अनुमति लिनुपर्छ । त्यसपछि मात्रै विज्ञापन र विद्यार्थी भर्ना गर्न पाउने प्रावधान छ । तर यो कलेज र कलेजका सञ्चालक खड्काले खुलेयाम नियमको धज्जी उडाउँदै विद्यार्थीलाई प्रलोभनमा पार्दै ठगेको बजारमा चर्चा हुने गरेको छ । यस्तो भएको कलेजको यो पहिलो पटक भने होइन् । अघिल्लो बर्ष पनि यहि समयमा कलेजले विसिए पढाई हुने भन्दै विज्ञापन मात्रै होइन विद्यार्थी भर्ना नै गरेको थियो । पछि सम्बन्ध नआएपछि २१ जना विद्यार्थीहरुलाई अन्त पढ्न भन्दै पठाएको थियो । गलत एक पटक हुन्छ तर यो कलेजले त पटककै पछि गलत गर्ने पटके भन्दै शैक्षिक क्षेत्रमा चर्चा हुने गरेको छ ।

तारा कट्वाल

तारा कट्वाल इटहरीका युवा व्यवसायी हुन । कुनै समय राजनितिमा सक्रिय उनी अहिले भने व्यवसायमा स्थापित भएका छन् । राजनिति गर्दा गाउँ देखी सिंहदरबार सम्मको अनुभव लिईसकेका तारा अहिले व्यवसायमा थप स्थापित हुँदैछन् । उनी पनि अहिले चर्चामा छन् । तारा अहिले नेपाल चेम्बर अफ कर्मसका इटहरी अध्यक्ष छन् । यो पनि इटहरीमा उद्योग वाणिज्य संघ जस्तै उत्तिकै समानान्तर संगठन हो । यो पनि उद्योगी, व्यापारीहरुको छाता संगठन हो । नेपालमा तिन ठुला व्यवसायीक छाता संगठन छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मस र नेपाल उद्योग परिसंघ । केही समय अघि सम्म यी तिन मध्ये दुईका जिल्ला शाखा संगठनहरु थिएनन् । अहिले चेम्बर अफ कर्मसका जिल्ला शाखाहरु तिव्र विस्तार हुँदैछन् ।माथी केन्द्रमा उद्योग वाणिज्य महासंघमा परेको टसलकै कारण समानान्तर हैसियतका जिल्ला र नगर कमिटीहरु निर्माण हुन थालेको उद्योग वाणिज्य संघकै जिम्मेवार व्यावसायीहरु बताउँछन् । नेपाल चेम्बर अफ कर्मसका जिल्लाहुँदै नगर सम्मका कमिटीहरु बन्न थालेपछि उद्योग वाणिज्य महासंघलाई टाउको दुखाईको विषय बनेको छ । इटहरीमा एक मात्र व्यावसायीक संस्था रहेकोमा अहिले अर्को उस्तै हैसियतको अर्को संस्था पनि आएको व्यवसायीहरुमा चर्चा हुने गरेको छ । यसको स्थापनाले इटहरीमा केही व्यवसायीहरुको एकाधिकार अन्त्य हुने चर्चा गर्छन् । यसले साना व्यवासायीहरुलाई कुन छाता संगठनमा आवद्ध हुँदा व्यवसायीक सुरक्षा हुन्छ भन्ने विकल्प भएको व्यवासयीहरु वीच चर्चा हुने गरेको छ । यसले इटहरीका व्यवसायीहरुमा पनि केन्द्रमा जस्तै तल सम्म ध्रुवीकरण हुने चर्चाहरु पनि चल्न थालेका छन् । इटहरीमा विगत बर्ष देखी ठुला भनिएका व्यापारीले साना व्यापारीलाई हेप्ने प्रवृत्ति पनि अन्त्य हुने बजारमा हल्ला चल्न थालेको छ ।

खेमराज घिमिरे

खेमराज घिमिरे इटहरीमा चर्चित नाम होइन । तर उनले गरेको काम अहिले चर्चामा छ । इटहरीमा स्थायी रुपमा बसोबास गर्दै आएका खेमराजले बनाएको घर अहिले इटहरीमा चर्चामा छ । इटहरीको पूर्व लाईनमा बुढिगंगा मुक्तिघाट नजिकै खेमराजले बनाएको घरमा नेपालको झण्डा बनाएका छन् । नेपाल र नेपालीको पहिचान रहेको झण्डालाई उनले आफ्नै घरमा बनाएपछि सवैको चासोको विषय बनेको छ । घरको अगाडिको भागमा लगाएको सिसामा उनले नेपालको झण्डा बनाएका छन् । नेपालको झण्डा अंकित घर निर्माण भएपछि अहिले धेरै सेल्फी खिच्न त्यहाँ पुग्ने गरेका छन् । राम्रो र आकर्षक झण्डामा फोटो खिच्न मानिस त्यहाँ पुग्ने गरेको खेमराज बताउँछन् । बाटोमा हिड्नेहरु पनि फोटो खिच्दै हिड्ने गरेको उनी बताउँछन् ।
इटहरीमा व्यवसाय गर्दै आएका व्यवसायी हुन खेमराज । केही समय पहिले इटहरीको यातायातमा लेखापढि पनि गर्थे । कुनै ठुलो उदेश्यले नभई आफ्नो गाउँठाउँको नाम अरुसामु चिनाउन उनले यो झण्डा बनाएको बताउँछन् । इटहरीको पहिचान बनोस भनेर झण्डा बनाएको उनको भनाई छ । आकर्षक लाग्ने यो झण्डाको कन्सेप्ट खेमराजकै भएपनि यसलाई धरानकी आर्किटेक इन्जिनियर निसा जैनले मुर्तरुप दिएकी हुन ।इटहरी भन्ने वित्तिकै सम्झनामा आउने कुनै पहिचान छैन । केही समय अघि गोरखा डिपार्टमेन्टल स्टोर भएको ठाउँ नै इटहरी भन्ने थियो । भेटहुने सजिलो स्थल बनेको थियो तर अहिले गोरखा भन्दा ठुला भवन बनिसके । त्यो पुरानो भो अव । इटहरीको बेग्लै पहिचान बोक्ने केही छैन यहाँ । सांसद सर्वध्वज साँवाले चुनावी माहोल बनाउन आकासे पुल बनाउने र त्यहाँ आहा भन्दै सेल्फी खिच्ने भनेर आश्वासन बाँडे । इटहरीको पहिचानको कुरा गरे । तर त्यो पनि चुनावसँगै सकियो । उपमहानगरले बहुजातिय संग्राहालय बनाउने भनेको छ । तर त्यो पनि नारा र चर्चामै सिमित छ । यो नेपालको झण्डा भएको घरले इटहरीको पहिचान के हो भन्दै व्यंग्य गरेको छ । इटहरीको पहिचान बनाउन आवश्यक छ । त्यो के हो भोली नै थाहा होला । तर इटहरीका शासक वर्गलाई स्थानको पहिचान के हो भन्दै झक झक्याएको भने पक्कै छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook