गृहपृष्ठ » चर्चाका चार » जेष्ठ महिनाका चर्चितहरु

जेष्ठ महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | १६७ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
जेष्ठ महिनामा इटहरीमा दिन डाहाडै चोरीका घटना बढे । भर्खरै आएका नयाँ डिएसपी सापको पहिलो कदमले नै राजनितिक वृत्तमा नयाँ तरंग ल्यायो । तरुणदल सुनसरीका सभापति सिजन गुरुगं पक्राउ परे । उनलाई छुटाउन दैनिक सडक देखी प्रदेश सदन सम्म आवाज उठ्यो । इटहरीमा सुन काण्ड पनि मच्चीयो, सवैको कान ठाडा भए । तरहराका एकै व्यक्तिले झण्डै १५ करोड रकम डुवाएर फरार भए । पूर्वमै पहिलो पटक आयोजना गरिएको रात्रीकालिन भलिबल प्रतियोगिताले पनि इटहरीमा चर्चा पायो । केही समय अघि विराटनगरमा रात्रीकालिन फुटबल आयोजना गरिएको थियो । इटहरीमा पहिलो पटक गरिएको रात्रीकालिन प्रतियोगिताले भविष्यमा पनि यस्ता ठुला प्रतियोगिता गर्न सकिने सम्भावनालाई उजागर गरिदियो ।
योसँगै इटहरी उपमहानगरपालिकाको दोस्रो नगर सभा, आगामि आर्थिक बर्षका लागि हुँदै गरेको बजेटको तयारीले पनि राम्रै चर्चा बटुले । इटहरीमा सरकारी स्तरबाट आर्थिक लगानी गरी आयोजना गरिएको साँस्कृतिक महोत्सवले पनि चर्चा पयो तर जति चर्चा पाउनुपर्ने हो त्यति चर्चा पाएन । एउटा सानो बन्द कोठामा साँस्कृतिक महोत्सव सम्पन्न भयो । कला, साहित्य संगितका हस्तीहरुको ठुलै हल्लखल्ल हुने अपेक्षा थियो, जो देख्न सुन्न सकिएन् । स्रोता र दर्शकको पनि अभाव देखियो । व्यवस्थापनको कमजोरी थुप्रै देखिए, जुन चाहँदा सुर्धान सकिने खालका पनि थिए । यी र यस्तै घटनाहरुका वीच चर्चामा आएका चार व्यक्तिलाई यहाँ प्रस्तुत गरिएको छ ।
सिजन गुरुगं
सिजन नेपाली काँग्रेसका महासमिति सदस्य र पार्टीको युवा संगठन तरुण दल सुनसरीका सभापति हुन । तरुणदल, अनि माउ पाटि काँग्रेसको केन्द्र सम्मै पहुँच बनाउँदै गरेका सिजन यो महिनामा एकाएक चर्चामा आए । इटहरीमा भर्खरै सरुवा भएर आएका डिएसपी शिव कुमार श्रेष्ठले उनलाई पक्राउ गरे । उनी पक्राउ परेको खवरले इटहरीमा राजनितिक तरंग ल्यायो । हुलहुज्जत गरेको, गुण्डागर्दी गरेको भन्दै इटहरी प्रहरीले सिजनलाई पक्राउ गर्यो । तरहराको एक जग्गा सम्बन्धि विवादमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । सामान्य विवादले ठुलै रुप लियो । जग्गा विवादमा सिजन पक्ष र झगडा भएको भनिएकी महिला पक्ष दुवैको आ आफ्नै कमी कमजोरी छन् । यो विषय त्यति ठुलो होइन, जति बनाईयो । दुवै पक्ष, समाज, प्रहरी प्रशासन बसेर आपसी समझदारीमा मिलाउँदा मिल्न सक्थ्यो । अथवा गिभ एण्ड टेकमा मिल्न सक्थ्यो दुवै विन विन हुनेगरी,तर त्यसो गरिएन । किन गरिएन उनीहरु नै जानुन । राजनितिक रुप दिन खोजियो । यो घटनाका विषयमा बजारमा विभिन्न थरि चर्चा भए । प्रहरीले सिजनलाई फसाउँन खोज्दैछ, केही पाटिले सिजनलाई तह लगाउन खोज्यो भन्ने चर्चाहरु इटहरीका चौक चौकमा सुनियो । प्रहरीले इन्काउन्टर नै गर्न खोज्यो भन्ने हल्ला पनि चलाईए । प्रहरीले लिस्टनै लिएर आएको छ, एक पछि अर्को सवैलाई बाहना बनाएर तह लगाउँदैछ भन्ने हल्ला बजारमा फैलियो । कोही कोही त राता रात भागे भन्ने पनि हल्ला चल्यो । पक्राउ परेका सिजनलाई छुटाउन काँग्रेसले आफ्नो पुरा शक्ति नै लगायो । जिल्ला, प्रदेश र केन्द्र सम्मका नेताहरु सडकमा आए शक्ति लगाए । सडक देखी सदन सम्म आवाज उठाए । प्रहरी टसमस भएन । केन्द्रबाटै पाएको ग्रिन सिग्नलले डिएसपीले दम्भ देखाए । जुन विषयको समाधान गर्न प्रहरी सक्थ्यो त्यो भूमिका प्रहरीको देखिएन । यहि मौकामा केही पाटिले पनि राम्रैसँग खेल्ने मौका पाए । अन्तिममा सिजन बिना सर्त छुटे ।
शिव कुमार श्रेष्ठ
शिव कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी लिएर आएका डिएसपी हुन । चौरस्ता इटहरीमा आउने डिएसपीहरु चर्चामै रहन्छन् । उनी पनि आउदा आउदै चर्चामा आए । इटहरी आएको केही दिनमै तरुण दल सुनसरीका सभापति सिजन गुरुगंलाई पक्राउ गरे पछि उनको चर्चा सुरु भएको थियो । पछि इटहरीमा दिन दहाडै चोरी डकैति गर्नेहरु पक्राउ नपरेको बिषय पनि चर्चामा रह्यो । डिएसपी बिनोद शर्माले निमिट्यान्न पारेको र त्यस पछिका डिएसपीले पनि टाउको उठाउन नदिएको इटहरीको बेष्याबृतिले पनि चर्चामा ल्यायो । डिएसपी श्रेष्ठले इटहरीमा शान्ति सुरक्षा दिन नसकेको भन्दै केहीले त आउना साथ आलोचना सुरु गरे । चोरी र लुटपाट भैरहदा प्रहरी ति चोर र लुटेरा पकड्न असफल देखियो । मुख्य बजारको पसल फुटाएर चोरी भयो । प्रहरीले हाल सम्म चोर पकड्न सकेको छैन । फितलो सुरक्षाले गाउँमा सर्वसारधण असुरक्षित, बजारमा व्यवसायी । आफु असुरक्षित भएको भन्दै व्यवसायीले प्रहरीलाई गुहार्नु परेको छ । गाउँ र शहर दुवैले शान्ति सुरक्षा मागि रहेकाछन् । डिएसपी श्रेष्ठको प्रभावकारी सुरक्षा रणनिति पनि देखिएको छैन । यस्तै विभिन्न घटनाले डिएसपी श्रेष्ठलाई चर्चामा ल्याईदियो । सुरुका दिनमा केही आलोचित बनेका डिएसपी पछि राम्रो काम गर्दै अन्य भन्दा उत्कृष्ठ ठहरीन पनि सक्छन् । तर त्यसका लागि केही समय त पर्खनै पर्छ ।
दिपक गजमेर
दिपक गजमेर तरहराका सुन व्यापारी हुन । उनी पनि यो महिना एकाएक चर्चामा आए । उनी एक्लैले सर्वसारधणको झण्डै १५ करोड झ्वाम पारेर फरार भए । उनी फरार भएको खवरले तरहरा र इटहरीमा सनसनी नै मच्चियो । साढे ३३ केजी सुन काण्ड चलिरहेको समयमा सुन नै जोडिएको यो फरार काण्डले पनि सबैको ध्यान खिच्यो । दिपकले तरहरा सहित इटहरी धरान लगायतका विभिन्न ठाउँका सर्वसाधरणको ठुलो रकम डुवाएका छन् । उनले एकै पटक यत्रो रकम संकलन गरेका होईनन् । दुई तिन बर्ष देखीको कारोबार हो । उनले सुन धितोमा लिएर कारोबार गर्ने, सुन पसलबाट गैरकानुनी रुपमा पासबुक नै सञ्चालन गरेर बढि व्याज दिने भन्दै पैसा संकलन गरेका थिए । सुन पसलले पासबुक नै राखेर बचत संकलन गर्न पाईदैन । यो गैरकानुनि हो । राष्ट्र बैंकले यसलाई वित्तिय अपराध मानेको छ । दुई तिन बर्ष देखी खुलेयाम यस्तो धन्दा चलाएका दिपकको बजारमा राम्रै दवदवा थियो । पैसा कमाएपछि उनी तरहराका ठुला व्यापारी भएका थिए । राजातिक दल, नेता, सामाजिक संघ संस्थालाई चन्दा दिने दाता पनि भई हाले । चहलपहल राम्रै भएको देखेर उनको पसलमा सडकमा मकै पोल्ने देखी ठुला व्यापारी सम्मले पैसा राखेका छन् । हजार देखी लाख सम्म उनको पसलमा मानिसहरुको पैसा छ । बैंक तथा सहकारीको भन्दा बढि व्याज आउने भएपछि सबैले सुन पसलमै पैसा राखे ।अहिले सबैको पैसा एकै पटक डुव्यो । पैसा राख्नेहरुको रुवाबासी छ । परिवारमा थाहै नदिई पैसा राख्नेहरुको घर झगडा सुरु भएको छ । दिपक फरार भएपछि ठगि भएको भन्दै ३ सय ५० भन्दा बढिले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन् ।
दिपकलाई नजिकबाट बुझ्नेहरु भन्छन् यीनले पैसा जग्गामा लगाएका थिए । सरकारको जग्गा सम्बन्धि नीतिले कारोबार खस्कीयो । त्यहि बेला इटहरी, तरहरा र धरानमा इन्भेष्टमेन्ट कम्पनीमा सिआईवीले छापा मारेर सञ्चालक पक्राउ गर्यो । गैरकानुनी काम गर्दै आएका अधिकाँस सुनपसलेहरुको पनि भागाभाग भएको थियो । यीनको पसलमा सिआईबीले छापा त हानने तर कारोबार स्वाटै घट्यो । जग्गामा पैसा लगाएका दिपकले पैसा फिर्ता दिन सकेनन् । पैसा माग्नेको भिड बढ्दै गयो । टाँट पल्टिएको खवर फैलियो, दिपक फरार । उनका कतिपय साथीहरु भन्छन् उनको जग्गा छ त्यो बेचेर केहीको ऋण तिर्न पुग्छ । तर सबैको होइन । नेपालीमा एउटा उखान छ, लोभले लाप, लापले हरिविलाप । हो, दिपक र उनको पसलमा पैसा राख्नेको यस्तै अवस्था छ ।
बद्रिविशाल पोख्रेल
प्रा.डा. बद्रिविशाल पोख्रेल इटहरीको साहित्यीक क्षेत्रमा चिनिएको नाम हो । उनी पनि यो महिना चर्चामा आए । इटहरीमै पहिलो पटक आयोजना गरीएको इटहरी सांस्कृतिक महोत्सवले प्रा.डालाई चर्चामा ल्याईदियो । श्रष्टा समन्वय समितीले महोत्सव आयोजना गरेको थियो । महोत्सवको संयोजक भएका कारण प्रा.डा. चर्चामा आए ।
कला, संगित, साहित्यको क्षेत्रमा नयाँ सृजनात्मक कार्यक्रम गर्ने उद्देश्यले १ नम्बर प्रदेश स्तरीय भन्दै ५ दिने साँस्कृतिक महोत्सवको आयोजना गरियो । यस्तो महोत्सव प्रदेशमै कहिँ नभएको र इटहरीकै पहिलो भएको आयोजकको दावी थियो । मेला महोत्सवको इटहरीमा निकै हल्लखल्ल हुने गर्छ । यो साँस्कृतिक महोत्सव पनि निकै ठुलो होला, ठुला ठुला हस्तीहरु, जो इटहरी टेकेकै थिएनन्, उनीहरु पनि इटहरी सम्म आउनेछन्, नजिकबाट इटहरी नियाल्नेछन् । अनि बाहिर गएर हुँर्कदैँ गरेको इटहरीको संगित,कला र साहित्यको बारेमा बोल्नेछन्, लेख्नेछन् भन्ने आम इटहरीबासीको अपेक्षा थियो । सरकारी स्तरबाटै आर्थिक लगानी गरेका कारण पनि लगानि गर्ने सरकारी कार्यालय र आम इटहरीबासीको अपेक्षा हुनु स्वभाविक थियो । तर कार्यक्रम अपेक्षाकृत हुन सकेन । इटहरीमा जति चर्चा र प्रभाव पर्नुपर्ने हो त्यो हुनै सकेन । कार्यक्रम बन्द सानो कोठामा सिमिती गरियो । उखर माउलो गर्मीमा मानिसहरु टिक्ने कुरै भएन । कार्यक्रममा स्रोता, दर्शकको त खडेरी नै लाग्यो । कार्यक्रमको उद्घाटन होस् वा त्यस पछिका सेसनहरुमा दर्शक खोज्नुपर्ने बाध्यता भयो । पूर्वमा साहित्यीक, संगित र नृत्यका कार्यक्रममा मानिसको खचाखच भिड हुन्थ्यो तर यहाँ खोज्नुपर्ने बाध्यता ।
कार्यक्रम हुँदै गर्दा उपस्थित दर्शको उपस्थिती देखिने खालका फोटोहरु सामाजिक सञ्जालमा हाल्दै आलोचना पनि गरियो । मानिस किन आएनन् ? कार्यक्रमलाई किन यति फितलो रुपमा प्रस्तुत गरियो ? कमी कमजोरी जो चाहना सुधार्न सकिने खालका थिए तिनको किन वेवास्ता गरियो ? वा आयोजकले व्यवस्थापन गर्न सकेन ? यो इटहरीका लागि गम्भिर प्रश्न बनेको छ ?व्यक्तिको कारणले ? संस्थाको कारणले ? व्यवस्थापनको कारणले वा अन्य कुनै अदृष्य कारणले किन कार्यक्रम प्रभावकारी र छाप छाड्ने किसिमको भएन ? यस्ता चर्चाहरु सञ्चार, समाजिक सञ्जालमा पोखिन थालेका छन् ।
बजारमा चर्चा के पनि छ भने देशै हल्लाउने व्यक्तिहरु पनि इटहरीमै थिए । उनीहरुको भौतिक शरिर मात्र सहभागि भयो मन होइन । थुप्रै साहित्यक हस्तीहरुले मन फुकाएर देखाउन पाएनन् भन्ने चर्चा पनि सुनिने गरेको छ ।
हुन त इटहरीका मानिसहरुलाई खै कस्ता भन्नु । कुनै तरुनीले आधा लुगा लगाएर मञ्चमा उफ्रेको हेर्न भने पछि मरिहत्ते गर्छन् । तर कला, साहित्य र संगितका कार्यक्रममा चासो नै दिदैनन् ।
तर पनि साँस्कृतिक महोत्सव सम्पन्न भयो ।नृत्य, संगित, नाट्य, कविता विषयमा प्रतियोगिता, कार्यशाला सवै भए । विषयगत कार्यपत्र पनि प्रस्तुत भए । केही विज्ञ र हस्तीहरुले बोले । सम्मान पनि गरियो । महोत्सवले आफ्नो रित सबै पुरा गर्यो । तर पहिलो पटक भनिएको खास छाप छोड्न सकेन । तर पनि एउटा सुरुवात भयो ।आउने बर्षमा यसले अमिट छाप छोड्न सक्नेछन् । जे होस् इटहरीमा एक पटक साँस्कृति महोत्सव र प्रा.डा बद्रिविशाललाई भने चर्चामा ल्यायो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg