गृहपृष्ठ » चर्चाका चार » बैशाख महिनाका चर्चितहरु

बैशाख महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | ९३ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
यो बर्षको सुरुको महिना बैशाखमा पनि विभिन्न घटनाहरु घटे । जसले धेरैलाई चर्चामा ल्यायो । साढे ३३ केजी सुन काण्डले देशमै तहल्का मच्चायो । सबैको ध्यान तान्ने सुन तस्करी काण्ड काठमाण्डौँ हुँदै इटहरी सम्मै आईपुग्यो । धमाधम उच्च प्रहरी अधिकृतहरु पक्राउ पर्ने क्रममा इटहरीका इलाका प्रहरी कार्यालयका डिएसपी संजय राउत पनि परे । सुन तस्करी काण्डमा काठमाण्डौँसँगै इटहरी पनि जोडियो । बयान दिन गएका डिएसपी भागेपछि त झन् चर्चाले उत्कर्ष नै लियो । सबैको ध्यान तान्यो ।पक्राउ पुर्जी नै जारी भएपछि भागेर नहुने रहेछ भन्दै डिएसपी राउत आफैँ हाजिर भए । सुन काण्डका गोरेको गतिविधि इटहरी पनि हुने गरेको, हत्या गरिएका सनम शाक्यको शव बोकेको गाडी इटहरीमै सुरक्षित रात विताएको घटनाले पनि निकै चर्चा पायो । इटहरीबासीले निकै चासोपूर्वक लिए । चिया चौतारा सबैतिर सुन काण्ड छायो । योसँगै इटहरीका मेयरले ६ लेन सडकको निर्माण रोकेको भन्ने हल्लाले निकै चर्चा पायो । पछि उनले फेरी बोली फेर । अहिले त्यो विवादको रुपमा भुसको आगो झै फैलिरहेको छ । खेती खोला सफाईको क्रममा भत्काइएका संग्रचना नउठाएको भन्दै वडाबासीहरुले मेयर चौधरी माथी दुव्र्यवहार गर्न खोजे । यो खवरले पनि इटहरीमा सनसनी मच्चायो ।इटहरीमा आयोजना गरिएको भैँसी सुन्दरी प्रतियोगिताले पनि राम्रै चर्चा पायो । भँैसीको पनि सुन्दरी प्रतियोगिता हुन्छ र भन्दै धेरैले यसको चर्चा गरे ।
यी र यस्तै थुप्रै घटनाहरुले यो महिनामा चर्चा पाए । यी चर्चासँगै जोडिएर आएका व्यक्तिहरु मध्ये चर्चित चारलाई यहाँ प्रस्तुत गरिएको छ ।

संजय राउत
संजय राउत इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी हुन । बैशाख महिना उनी चर्चामा आए । साढे ३३ केजी सुन काण्डले देशमा तहल्कै मच्चाएको छ । सबैतिर तरगं ल्याउने सुन काण्डसँग जोडिएर डिएसपी संजय राउत पनि चर्चामा आए । सुन काण्डमा एक पछि अर्को गर्दै उच्च प्रहरी अधिकारीहरु पक्राउ परे । पक्राउ पर्नेको सुचीमा संजय राउतको पनि नाम मिसिएपछि उनी एका एक चर्चामा आए । देशभरका मिडियामा उनी खोजीका पात्र बने । बयान लिन काण्डमाण्डाँै बोलाईएका डिएसपी राउत बयान लिँदा लिँदै भागेको खवरले झन् ठुलै तरंग ल्याईदियो ।पक्राउ पर्ने डरले बयान लिँदै गर्दा ट्वाईलेट जाने बाहनामा उनी भागेर फरार भए । तर चौतर्फी दवाव र पक्राउ गर्ने आदेश आएपछि बाध्य भएर उनी आफैँ प्रहरी समक्ष हाजिर भए । साढे ३३ केजी सुन काण्ड मात्र नभएर विगत बर्ष देखी हुँदै आएको सुन तस्करीसँग सम्बन्धित रहेको आरोप उनी माथी लगाइएको छ । त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा प्रहरीको उच्च सेटिगंमा हुने तस्करीको सुन निकासा गर्ने काम गरेको आरोप उनीमाथी छ । यसबापत उनले सेटिगंको राम्रै आर्थिक लाभ लिने गरेको तथ्यहरु पनि बाहिर आएका छन् । हुन त अहिलेको साढे ३३ केजी सुन काण्डमा डिएसपी राउतको प्रत्यक्ष संलग्नता छैन । तर विगतका बर्षमा हुँदै आएको सुन तस्करीमा उनको प्रत्यक्ष संलग्नता रहँदै आएको छानिविन समितीको तर्क छ । तर हत्या गरिएका उर्लाबारीका सनम शाक्यको शव बोकेको गाडिलाई इटहरीमा डिएसपी राउतले सुरक्षित रुपमा एक रात राखिदिएको चर्चा पनि बजारमा छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करीका राम्रै खेलाडी रहेका डिएसपी राउत सुरुवा भएर इटहरी आएका थिए । सुन तस्करसँग राम्रो साईनो जोडेका उनको हेलमेल इटहरीमा पनि उत्तिकै रहेको जानकारहरु बताउँछन् । ३३ केजी सुन तस्करीको मुख्य नाईके भनिएका चुडामणि उप्रेती गोरेसँग उनको सम्बन्ध राम्रो रहेको थियो । डिएसपी राउत र गोरेको नियमित सम्पर्क हुने गरेको पाइएको छ । गोरे इलाका प्रहरी कार्यलय इटहरीमै आएर पनि भेटघाट गर्ने गरेको देखेका व्यक्तिहरु बताउँछन् । इटहरीका कतिपय होटलहरुमा पनि गोरे र डिएसपी राउतको खाजापानि र उठबस हुने गरेको प्रतक्ष्यदर्शीहरुको भनाई छ ।
प्रहरीको खोल ओडेर तस्करीको जालोलाई प्रसय दिने प्रहरी अधिकृतको रुपमा उनको चरित्र उदांगिएको छ । विराटनगर उच्च अदालतमा मुद्दा चलिरहेको सुन तस्करी काण्डमा डिएसपी राउतले दोषी ठहर भई सजाय पाउने हुन वा उन्मुक्ति पाउने हुन त्यो भने हेर्न बाँकी नै छ । तर साढे ३३ केजी सुन काण्ड र डिएसपी राउत चर्चामा आएर आईरहेकै छन् ।

द्वारिकलाल चौधरी
इटहरीका मेयर द्वारिकलाच चौधरी प्राय सँधै खोजीका पात्र बनिरहेका हुन्छन् । उनले गर्ने गवितिधिले उनलाई बारम्बार चर्चामा ल्याईरहन्छ । तर यो महिना मेयर चौधरी दुव्र्यवहारको शिकार बन्दै चर्चामा आए । खेतीखोलाको सफाई काम रोकिएको, भत्काइएका संग्रचना खोलाबाट नहटाइएको, गरिबका मात्र घर भत्काएर ठुला धनिमानीको घर जोगाएको भन्दै असन्तुष्ट नगरबासीहरुले मेयर चौधरीलाई दुव्र्यहार गरेका थिए । इटहरी उपमहानगरपालिको काम प्रति असन्तुष्ट रहेका इटहरी ५का वडाबासीहरु डेलिगेसन सहित मेयरलाई ज्ञापनपत्र बुझाउन आएका थिए । ज्ञापन पत्र बुझाउन आएका वडाबासीहरुलाई मेयर चौधरीले ३ बजे वडाध्यक्ष सहित छलफल गराउने बताए । तर आक्रोसित वडाबासीहरुले तत्कालै सम्बोधन गर्न दवाव दिए । वातावरण नियन्त्रण भन्दा बाहिर जाने देखेर मेयर चौधरी पोखरीको बाटो हुँदै इलाका प्रहरी कार्यालय हिँडे । तर आक्रोसित समुहले मेयरले हातमा समातेर तान्दै समस्याको सम्बोधन गर्न दवाव दिएका थिए ।
मेयर माथी दुव्र्यवहार भएको भन्ने खवरहरुले केही समयमै इटहरीमा सनसनी मच्चायो ।उपमहानगरपालिको आपतकालिन बैठक पनि बस्यो । घटनाको खेद प्रकट गर्दै विज्ञप्ती जारी गर्यो । दुव्र्यहारमा संलग्न व्यक्तिको नामै किटान गर्दै प्रहरीमा उजुरी पनि पर्यो ।यो घटनाले इटहरीमा निकै चर्चाको रुप लियो । घटनासँगै पक्ष र विपक्षका कुराहरु बाहिर आए । इटहरी उपमहानगरपालिको गल्ति गरेको, घर भत्काए तर सवै भत्काएनन् । गरिबका मात्र भत्काए धनिका भत्काएनन् भन्ने गुनासो मिश्रित आरोपहरु बाहिर आए । तर काम रोकिएको होइन, प्राविधिक समस्या आएको उपमहानगरपालिकाको तर्क छ । स साना घरहरु भत्काउने तर ठुला घर भत्काउने बेलामा प्राविधिक समस्या आयो भन्दै काम रोकिनुले धेरै आशंकाहरु उब्जाएको छ ।
यो घटनाका भित्री उद्देश्यहरु दुवै पक्षका आ आफ्नै थिए । जस जसका घर भत्कीएको थिएन उनीहरु यहि घटनालाई चर्काउँदै गलत दिशा दिने र काम नै रोक्ने मानसिकतामा थिए । घर भत्कीएको अर्को पक्ष भने आफ्नो मात्र किन अरुको पनि भत्कनुपर्छ भन्नेमा थिए । दुवैले आन्दोलन होस भन्ने चाहेका थिए । यो घटनामा उपमहानगरपालिकाको पनि आफ्नै दाउ थियो । घटना अझै बढोस् र त्यहि घटनालाई टेक्दै अन्य ठुला माछालाई पनि लडाउन सकियोस् भन्ने दाउ उपमहानगरपालिकाको थियो । अव घटना पछि उपमहानगरपालिकाले थप खोला अतिक्रमित घर तथा भवनहरु भत्काउँछ वा भत्काउँदैन त्यो इटहरीबासीले चासोपूर्वक हेरेका छन् ।
यहि महिना निर्माणधिन ६ लेन सडक विस्तारको काममा विवादस्पद निर्णय गरेको भन्दै उपमहानगर र मेयरको आलोचना पनि भयो । साढे ८२ फिट सडकको मापदण्डलाई घटाएर ५५ फिट बनाउनुपर्ने व्यापारीको दवावमा उपमहानगरले सडक आयोजनालाई पत्र पठाए पछि ठुलो विवाद सृजना भएको छ । सडक विस्तारको काम रोकिएको छ । यो केसमा पनि उपमहानगर र मेयरको निकै आलोचनात्मक चर्चा भईरहेको छ । विकास बाधक मेयर भन्दै विभिन्न सञ्चार माध्यमले आलोचना गरे । एकातिर सञ्चारमाध्यम र नगरबासीको दवाव अर्को तर्फ आफ्नै पाटीले नै साढे ८२ फिट नै हुनुपर्ने भन्दै प्रेस विज्ञप्ती निकालेको छ । व्यापारीको कुरा सुन्दा मेयर चौधरी अहिले चेपुवामा परेका छन् । स्मार्टसिटी बनाउने घोषणा पत्र जारी गर्ने मेयर नै अहिले सडक साँधुरो बनाउने पक्षमा रहेको भन्दै आलोचना हुने गरेको छ । पहिले सडकको चौडाई घटाउन भन्दै पत्र पठाएका मेयरले अहिले भने आफ्नो बोली फेरेका छन् । आफु सडक विस्तारको बाधक नबन्ने भन्दै सरकारी मापदण्ड अनुसार नै सडक विस्तार हुने बताउँन थालेका छन् । जे होस् यो महिना मेयर द्वारिकलाल चौधरी दुव्र्यवहार काण्ड र ६लेन सडक विस्तार काण्डका कारण चर्चामा आए ।

रोहित प्रसाई
रोहित प्रसाई इटहरीमा चिनिएको नाम हो । उनी व्यापारीका नेता हुन् । इटहरीको मेयरका उम्मेद्वार पनि भएका थिए । यो महिना प्रसाई चर्चामा छन् । उनको चर्चा अहिले भुसको आगो झैँ भित्र भित्रै फैलिरहेको छ । ६ लने सडक विस्तार आयोजनाको विवादलाई लिएर प्रसाईको चर्चा हुने गरेको छ । त्रिदेशिय महत्वको जोगवनी किमाथांका ६ लेन सडक विस्तार आयोजना अन्र्तगत इटहरी क्षेत्रमा सडकको चौडाई घटाउन दवाव दिएको भन्दै प्रसाई विवादमा परेका छन् । विभिन्न सञ्चार माध्यम र सोसलमिडियामा उनको आलोचना हुने गरेको छ ।
केही समय अघि उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा व्यापारीहरुले धेरै क्षति हुने भन्दै सडकको चौडाई साढे ८२ फिट बाट घटाएर ५५ फिट बनाईनुपर्ने माग गरेका थिए । सोही दवावमा परेर इटहरी उपमहानगरपालिकाले सडकको चौडाई ५५ भन्दा बढि नभत्काउन भन्दै पत्र पठाएको थियो । सो पत्र रानी विराटनगर इटहरी धरान सडक आयोजनामा पुगेसँगै विवाद उत्कर्षमा छ । सडक विस्तारको काम पनि रोकिएको छ । सुरुमा त उपमहानगरपालिका त्यसमा पनि मेयरलाई धेरैले गाली गर्दै आलोचना गरे । विकास विरोधी मेयर भन्दै आलोचना भयो उनको । धेरै नै आलोचना भएपछि उपमहानगरको धारणा परिवर्तन भएको छ । व्यापारीको दवावमा परि त्यस्तो निर्णय गरेको भन्दै चोखिने प्रयास गरेका छन् । आफु सडक विस्तारको बाधक नबन्ने भन्दै मेयर चौधरीले बोली फेरेका छन् ।
मेयर चौधरीले बोली फेर्दै भागेपछि त्यो घानमा अहिले रोहित प्रसाई पिसीएका छन् । ६ लेन सडकको विवाद झिक्ने र काममा बाधा गराउने पर्दा पछाडिको खेलाडी प्रसाई हुन भन्ने चर्चाहरु बजारमा छाएको छ । बाहिर देखिन अरुलाई लगाउने तर भित्री रुपमा खेल चलाउने व्यक्तिको रुपमा उनको चर्चा हुने गरेको छ । साढे ८२ फिट सडक कायम हुँदा प्रसाईको घर पनि भत्कने भएकाले उनले भित्री रुपमा अगुवाई गरेको चर्चा बजारमा छ । हुन त धरान रोडमा प्रसाईसँगै अन्य ठुला व्यापारीको घर भत्कन्छ तर उनीहरुले खुलेर विरोध गर्न सकेका छैनन् । बलराम आचार्यको गोरखा डिपार्टमेन्ट पनि भत्कन्छ तर उनले मुख खोलेका छैनन् । इटहरीको पावरपोइन्ट मै हुँ भन्न देखाउन प्रसाई विभिन्न ठुला पावर सेन्टरहरुलाई आफ्नो प्रभावमा पार्न खोजेको कुराहरु कतिपय सार्वाजनिक कार्यक्रममा सुनिने गरेको छ ।
प्रसाईको प्रभावकै कारण नेपाली काँग्रेस नगरकमिटी पनि ६ लेन सडक विस्तरमा बाधक बनेको खवरहरु सञ्चार माध्यमहरुले लेखेका छन् । एमालेजन व्यापारीको तिव्र दवावका कारण ढलमल रहेको एमाले प्रेस विज्ञप्ती नै निकालेर साढे ८२ हुनुपर्ने भन्दै अर्को कित्तामा पुगेको छ । अव नेपाली काँग्रस मात्रै सडकको चौडाई घटाउनुपर्छ भन्दै हिड्ने गरेको छ ।
सडक किनारमा व्यापार गरेर सडकलाई समेत उपयोग गर्ने, सडक समेत मिचेर चर्को भाडा खाने बानी परेका ठुला घरानाहरु सडक विस्तारमा बाधक देखिएका छन् । चर्को भाडा खानेहरु घरबाहल नै तिर्दैनन् कसैले तिरी हाले घटाएर कौडीको मोल देखाउँछन् । अनि कुरा चँै ठु ठुला आकाशै खसाल्ने गर्छन् ।
हिजो भोट तान्न इटहरीलाई स्मार्टसिटी घोषणा उनीहरुले नै गरे । अहिले तिनै प्रसाई, चौधरी, बस्नेत, साँवा सबै मिलेर इटहरीको सडक घटाउन उद्यत देखिन्छन् । विराटनर,दुहवी र मुआब्जाको मुद्दा तेर्साएर हलो अड्काउँदै गोरु चुट्न थालेका छन् । जे होस् ठुला व्यक्तिको ठुलै काम । इटहरीबासी ठुलाहरुले के गर्छन् भनेर चासोपूर्वक हेर्दैछन् ।

टंक दाहाल
इटहरी २ निवासी टंक दाहाल विद्यार्थी नेता हुन । नेपाल विद्यार्थी संघको राजनितिमा सक्रिय उनी बैशाख महिना सामाजिक कार्य मार्फत चर्चामा आए ।उनले निकै रोचक र सुन्दा आश्चर्य लाग्ने काम गरे भैँसी सुन्दरी प्रतियोगिता । सामान्यता प्राय सबैले मानिसहरुको सुन्दरताको प्रतियोगिता सुन्दै र देख्दै आएका थिए । तर यहाँ मानिस मात्र नभएर पशुको पनि सुन्दरताको प्रतियोगिता आयोजना गरियो । दाहाल अध्यक्ष रहेको वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपाल नामक संस्थाले सम्भवत नेपालमै पहिलो पटक भैँसी प्रतियोगिता आयोजना गरेको हो । इटहरी २ नम्बर वडाको हवाई चौकमा विभिन्न ठाउँका भँैसीहरुलाई एकै ठाउँमा भेला गराएर प्रतियोगिता गरियो । प्रतियोगितामा करिव ४० बढि भैँसीहरु वीच प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा मिठुमायाँ कार्कीले पालेको हिरा नामको भैँसी पहिलो भएको थियो । मिठुमायाँको हिरा भँँैँसी साच्चै नै हिरा हुँदै पहिलो भएर पुरस्कार जित्यो । भँैसी सुन्दरी प्रतियोगिताको निर्णायक बनेका थिए, राष्ट्रिय भँैसी अनुसन्धान केन्द्रका प्रमुख, जिल्ला पशुसेवा कार्यालयका पशुडाक्टर तथा प्राविधिक । उनीहरुको टिमले उत्कृष्ठ भँैसी छानेको थियो ।
कृषी प्रधान देश नेपालमा यस्ता रचनात्मक कार्याक्रमहरु बर्षैपिछे गरिनुपर्छ । तर हाल सम्म यस्तो कार्यक्रम भएको थिएन् । पहिलो पटक आयोजना गरिएका कारण सुन्दरी भँैसी हेर्नका लागि मानिसहरुको ठुलो भिड नै लागेको थियो । गएको स्थानिय तहको निर्वाचनमा इनरुवाका मेयरका प्रत्याशि रहेका राजन मेहताले बर्षेनी भँैसी प्रतियोगिता गर्ने एजेण्डा राखेका थिए । उनले चुनाव जिते पनि तर उनी भन्दा पहिले इटहरीका टंक दाहालले भँैँसी सुन्दरी प्रतियोगिता आयोजना गरेर सबैतिर चर्चा बटुले ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg