गृहपृष्ठ » News, इटहरी अपडेट » व्यापारी र इटहरी उपमहानगरको दवावले ६ लेन सडक निर्माण रोकियो

व्यापारी र इटहरी उपमहानगरको दवावले ६ लेन सडक निर्माण रोकियो

 Posted by Itahari Fm | error | २५२८ पटक

व्यापारिक मार्गको रुपमा निर्माण भईरहेको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण विवादका कारण रोकिएको छ । इटहरी उपमहानगरपालिका र केही ठुला व्यापारीको दवावका कारण व्यापारिक मार्ग विस्तार कार्य रोकिएको हो ।
इटहरीको मुख्य चौक क्षेत्रका सडक सिमा भित्रका भवनहरु खाली गर्न अटेर गर्दै व्यापारी र उपमहानगरपालिकाले सडक आयोजनालाई निर्माण कार्य रोक्न पत्र पठाएपछि निर्माण कार्य रोकिएको हो । मुख्य बजार क्षेत्रका केही ठुला व्यापारीका भवनहरु भत्कने भएपछि व्यापारीको प्रलोभनमा परि इटहरी उपमहनगरपालिकाले सडकको चौडाई नै घटाएर सडक बनाउन भन्दै दवाव दिएको छ ।
इटहरी उपमहानगरपालिका भित्रको मुख्य चौक क्षेत्रमा सडककेन्द्रको दुवै तर्फ २५÷२५ मिटर कायम गर्दै सडक विस्तार गर्नुपर्ने भएपनि व्यापारी र उपमहानगरपालिकाले १५÷१५ मिटर मात्र कायम गर्न माग गरेका छन् । सडक निर्माणका लागि ठेक्का लागेर काम सुरु गर्नुपर्ने अवस्थामा उपमहानगरपालिकाले सडकको चौडाई नै कम गरी निर्माण गर्न पत्र पठाएपछि काम नै राकिएको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाका प्रमुख विनोद मौवारले जानकारी दिए ।
आयोजनाले इटहरी उत्तर तर्फको आँपगाछि देखी तरहराको जंगल क्षेत्र सम्म ८२ फिट नै कायम गरी निर्माण गरेको थियो । अहिले भने इटहरी चौक तर्फ निर्माण सुरु गर्न सडकको दाँयाबायाँ २५÷२५ मिटर भित्र पर्ने भवनहरु खाली गर्न आग्रह गरेपनि व्यापारीले विरोध गर्दै आएका छन् ।
उपमहानगरपालिकाले सर्वपक्षिय बैठक बसी बैशाख ११ गते मुख्य चौक क्षेत्रमा सडकको दुवै तर्फ १५÷१५ मिटर भन्दा बाहिर गएर निर्माण कार्य रोक्ने निर्णय गरेको छ । त्यसैको पत्र सडक आयोजना, सडक विभाग र सम्बन्धित मन्त्रालायलाई पठाउने निर्णय पनि गरेको छ । सडकबाट दाँयाबायाँ २५÷२५ मिटर कायम गर्दा धेरै भवनहरु भत्कने व्यापारी र उपमहानगरपालिको भनाई छ । इटहरीको मुख्य चौकमा गोरखा डिपार्टमेन्टल स्टोर लगायतका ठुला व्यापारीक भवनहरु रहेका छन् ।
उपमहानगरपालिकाले पत्र पठाएपछि सडक निर्माण अन्यौल बनेको आयोजना प्रमुख मौवारले बताए । देशकै महत्वपूर्ण सडक आयोजनामा पर्ने निर्माणमा यस किसिमको निर्णयले ठुलो असर पुर्याउने सडक आयोजना प्रमुख मौवार बताउँछन् । १० मिटर कम गर्न सडकको डिजाईन ड्रोईन नै परिवर्तन गर्नुपर्ने उनको भनाई छ । उनी भन्छन् ‘ दिर्घकालिन महत्वको आयोजनालाई यसरी डिजाईनै परिर्वतन गर्ने कुरा हतार हुन्छ पछि फुर्सदमा पछुताउनु पर्छ । ’इटहरी देखी तरहरा सम्म सडक बनाउन स्वच्छन्द कान्छाराम सैलुङ जेभीले ठेक्का लिएको छ ।
यता, इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले व्यापारीहरुको तिव्र दवाव आएपछि निर्णय गरिएको बताए । उनले भने ‘व्यापारीहरु भवन भत्कीने भयो भन्दै डेलिगेनस आउनुभयो, विराटनगरमा ५५ फिट मात्र कायम छ यहाँ पनि त्यहि गर्नुपर्छ भन्नु भयो, ल हुन्छ भन्दै निर्णय गरेको हो । ’
मेयर चौधरीले सर्वपक्षिय निर्णय गरेको तर कार्यपालिकाको बैठकबाट निर्णय भने नगराएको बताए । चौकका धेरै भवन भत्कीने भएपछि यस्तो गरिएको उनले सुनाए । १५÷१५ मिटर कायम गर्न भनेको तर कामै रोक्न भने नभनेको उनले बताए ।
यता प्रदेश सांसद समेत रहेका उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतले धेरै व्यापारिक भवन भत्कीने भएपछि कम क्षति गर्न १५ मिटर माग गरिएको बताए । विराटनगर बजार क्षेत्रमा ५५ फिट मात्र कायम गरिएको भन्दै उनले भने इटहरीको बजार क्षेत्रमा पनि ५५ फिट कायम गर्नुपर्छ । कहिँ बढि कहिँ कम गर्न नहुने अध्यक्ष बस्नेतले बताए ।
परियोजनाको अनुसार इटहरी बजार क्षेत्रमा व्यापारिक मार्ग बिस्तारको काम हुँदा ५० देखि ६० घरको अघिल्ल भाग भत्किनेछन् । ती भवनहरु सडक अतिक्रमण गरी बनाइएका हुन ।
विराटनगर देखी इटहरी हुँदै धरान सम्म तिन खालको सडक सिमा व्यवस्था गरिएको छ । राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ ले सडकको केन्द्रबाट २५र२५ गंज कायम गरेको थियो । तर, बस्ती बिस्तारको क्रममा स्थानीयले सडकको जग्गा मिचेर घर निर्माण गरेका थिए ।त्यस्तै २०३४ सालतिर राजपत्रमा सुचना गरी रानी धरान सडक केन्द्रबाट दायाँ र वाँया २५र२५ मिटिर कायम गरिएको थियो । यद्यपि, स्थानीयले भने सडक क्षेत्रभित्र अटेरी गदै नयाँ संरचना निर्माण गरेका थिए ।
तर विराटनगर र सुनसरीको दुहवी नगरपालिकामा भने सडक सिमा कम गरीएको छ । क्याविनेट बैठकबाट विराटनगरको बजार क्षेत्रमा दायाँवायाँ १५÷१५ मिटर र दुहवीमा १७÷१७ मिटर कायम गरिएको थियो । अहिले सडक आयोजनाले विराटनगरमा १५ मिटरमा नै सडक निर्माणको काम गरेको छ ।
दक्षिण तर्फ भारत र उत्तर तर्फ चीनसँगको सिमा सम्म जोड्ने यो सडक आयोजनालाई देशकै आर्थिक सम्बृद्धिको मार्गको रुपमा लिने गरिएको छ । २०७० सालबाट विराटनगर देखी इटहरी हुँदै धरान सम्म २ लेनको सडकलाई ४९ किलोमिटर ६ लेनको रुपमा विकास गर्न थालिएको थियो । ५ बर्ष भित्र सम्पन्न गर्ने गरि थालिएको यो परियोजनाको काम निकै सुस्त गतिमा विस्तार हुँदै आएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook