गृहपृष्ठ » चर्चाका चार » चैत्र महिनाका चर्चितहरु

चैत्र महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | ११८ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
बर्षको अन्त्य महिना चैत्र पनि विभिन्न आरोह अवरोहकै वीचमा वितेको छ ।चैत्र महिनामा इटहरीमा खास त्यति धेरै चर्चित घटनाहरु घेटेनन् । केही सिमित व्यक्तिहरु चर्चामा आए । इटहरीका पुरानै अनुहार तर फरक काम गर्दै चर्चामा आए । इटहरीमा हरिया रुख काटेको घटनाले निकै चर्चा पायो । हरित नगरीको परिचय बनाइएको इटहरीमा रुख काटिनुले धेरैलाई आश्चर्यमा पारिदियो । इटहरीको पर्यटकिय स्थल तालतलैयमा आयोजना गरिएको पर्यटन महोत्सवले पनि राम्रै चर्चा पायो । जति चर्चा पर्यटन महोत्सवले पायो त्यो भन्दा धेरै चर्चा उप मेयरको अभिव्यक्तिले पायो । गायिका ज्योति मगरलाई इटहरीमा प्रतिबन्ध लगाउने उपमेयरको अभिव्यक्ति चर्चाको शिखरमै पुग्यो । इटहरीलाई केन्द्र बनाएर हिन्दु आन्दोलन चर्काउने सन्त श्रीनिवास आचार्य माथीको गाली काण्डले पनि यहाँ राम्रै चर्चा भयो । केही दिन हिन्दुवादीहरुले सडक जामसँगै विरोधमा र्याली निकाले । यी र यस्तै घटनाहरुले यो महिना चर्चा पाए । यी चर्चामा आएका घटनासँग जोडिएर आएका चर्चित व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।

शैलेष विष्ट

शैलेष विष्ट इटहरीमा चिनिएको नाम हो । उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रहेका शैलेष समय समयमा चर्चामा आईरहने व्यक्ति हुन् ।सवै व्यापारीहरुले रुचाएका नेताको रुपमा उनलाई लिने गरिन्छ । उपाध्यक्ष हुँदै गर्दा अध्यक्ष कै हैसियतमा गतिविधिमा सक्रिय भूमिका पनि देखिने गरेको छ । तर यो महिना शैलेष अलि विवादित बन्दै चर्चामा आए । सडकका ठुला हरिया रुखहरु डोजर लगाएर काटियो । सुरुमा त रुख कसले र किन काटे भन्ने धेरैलाई थाहै भएन । सञ्चार माध्यमले पनि निकै चासोका साथ लिएर खोजी गरे । इटहरीको ट्राफिक व्यवस्थापन गर्न रुख काटिएको र त्यसको नेतृत्व संयोजकको रुपमा शैलेषले गरेका रहेछन् । हरित नगरी इटहरीका हरिया रुखहरु एकाएक ढलाएसँगै शैलेषको खोजी र चर्चा भयो । इटहरी उपमहानगरपालिका, ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ सवै रुख काट्ने काममा थिए । तर विवादमा परिने डरले उपमहानगरका मेयर,उपमेयर र अन्य कर्मचारीले बोल्न मानेनन् । पर पर पन्छिए । तर त्यसको अगुवाई गरेका शैलेष विष्ट भने विवादमा परे । हरित इटहरीको परिचयका रुपमा रहेका रुखहरु काटिएसँगै त्यसले निकै ठुलो तरंग ल्यायो ।
रोपेको रुखलाई हुर्काउन धेरै बर्ष लाग्छ तर इटहरीमा त हरिया ठुला रुखहरु नै भकाभक काटियो भन्दै विरोधका स्वरहरु सुनिए । विभिन्न सञ्चार माध्यमले ट्राफिक व्यवस्थापनमा रुखले पुर्याएको असर, रुख हटाउनै परे पनि त्यसको विकल्प केही हुन सक्थ्यो भन्ने विषयमा समाचार लेखे । रुख काटेको विषयलाई लिएर नेतृत्वकर्ता शैलेष विवादमा तानिए । चर्को विरोध भएपछि उपमहानगरपालिकाले पनि त्यसको उचित जवाफ दिन सकेन । रुख काटेको विषयमा केही सञ्चार माध्यम र सञ्चारकर्मीहरु पक्ष र विपक्षमा पनि उभिए । तर्क राखे । पूर्वपश्चिम राजमार्ग बढाउँदै गर्दा काटिने रुख अगाडि नै काटिदा आत्तिनु पर्दैन भन्दै तर्क पेश गरे । विकास गर्दा अलि अलि विनास हुन्छ भन्ने तर्क पनि बजारमा प्रशस्तै सुनियो । माहोल तात्त्तै थियो । तर शैलेषले जुन जुन ठाउँमा रुख काटेका थिए । त्यहि ठाउँमा पुनः रुख रोपे त्यसपछि भने हसिमजागको विषय बनाईयो । रुख पनि काट्ने अनि त्यहि ठाउँमा रुख पनि रोप्ने । आखिर रोप्नु नै थियो भने किन हुर्केका रुख काट्नु । नकाट्नु रुख काटि त सकियो, भोली सडक विस्तार गर्दा पुनः भत्कीने भन्ने जान्दा जान्दै फेरी किन पो रोप्नु । यो नाटकिय शैलीले इटहरीमा निकै चर्चा पायो । रुख काटेको विषय र त्यसको अगुवा गरेका शैलेषले हतारमा निर्णय गरेको र फुर्सदमा पछुताएको भन्दै मिडियाबाजी र चर्चा भयो ।

लक्ष्मी गौतम

इटहरी उपमहानगरपालिकाकी उप मेयर हुन लक्ष्मी गौतम । उनी पनि विभिन्न समय समयमा चर्चामा आईरहन्छीन् । कडा अभिव्यक्ति दिने महिला नेतृको रुपमा उनलाई लिने गरिन्छ । चैत्र महिनामा पनि उनी कडा अभिव्यक्तिकै कारण चर्चामा आईन् । उत्तेजित प्रस्तुती दिँदै आएकी गायिका ज्योति मगरलाई इटहरीमा प्रतिबन्ध लगाउने भन्दै लक्ष्मी गौतमले दिएको अभिव्यक्तिले उनलाई चर्चासँगै विवादमा ल्याईदियो ।
पर्यटकिय स्थल तालतलैयामा पहिलो पटक लागेको मिनी पर्यटन महोत्सवमा ज्योति मगरलाई बोलाएपछि आपत्ति जनाउँदै उपमेयर लक्ष्मी गौतमले ज्योतिलाई इटहरीमा प्रतिबन्ध लगाउने बताइन् ।छोटो लुगा लगाउने गायिका ज्योति मगरको उत्तेजीत प्रस्तुतीले महिला हिंसालाई प्रसय दिएको उप मेयर गौतमले आरोप लगाएकी थिईन् । उनको यो अभिव्यक्तिलाई स्थानिय देखी लिएर राष्ट्रिय मिडियाले खवर बनाए । ज्योति मगर उत्तेजीत गतिविधि गर्दै विवादित छवि बनाएकी गायिका हुन ।
कलाकारलाई प्रतिबन्ध लगाउने उपमेयर भन्दै सोसलमिडियाहरुमा उनको आलोचना भयो । छोटो लुगा लाएर महिला हिंसा नहुने, मान्छेको सोच छोटो हुँदा महिला हिंसा हुने भन्दै फेसबुकमा गौतमको आलोचना गरियो । फेसबुकमै पनि उपमयेर गौतमको सर्मथन र विरोधमा समुहहरु जन्मीए । गौतमको अभिव्यक्ति प्रति लक्षित गर्दै केही राजातिक दलका नेताले फेसबुकमा आलोचनात्मक टिप्पणी पनि गरे । प्रतिबन्ध लगाउने भनेपछि ज्योति मगरलाई जसरी पनि महोत्सवमा ल्याउने र नचाएर देखाउने भन्दै केही व्यक्ति लागे पनि ।
उपमेयर गौतम गायिका ज्योति मगरलाई प्रतिबन्ध नै लगाउने गरी किन आक्रमण रुपमा प्रस्तुत भईन् त्यो त उनैलाई थाहा होला । उत्तेजित प्रस्तुती दिने ज्योतिले नाचेको हेर्नै पर्ने केही व्यक्तिको व्यग्र चाहना किन त्यसरी बढेर गयो त्यो त उनीहरुलाई नै थाहा होला । तर महोत्सवमा ज्योतिलाई नल्याई नहुने र ल्याए प्रतिबन्ध लगाउनै पर्ने त्यत्रो कुनै अवस्था थिएन् । हल्लै बढि हुने इटहरीमा ज्योति प्रतिबन्ध काण्डले झन् ठुलो हल्ला ल्याईदियो ।

कृष्ण भट्टराई

इटहरीमा विभिन्न सामाजिक गतिविधिमा सक्रिय व्यक्ति हुन् कृष्ण भट्टराई । उनी अहिले इटहरीमा फोहोर उठाउने जिम्मा पाएको इन्भारो केयर प्रा.लिका व्यवस्थापक छन् । कुनै समय अभियान नेपाल संस्था मार्फत सामाजिक कार्यमा सक्रिय भट्टराई अहिले इटहरी सफा गराउने कम्पनीको अगुवाई गर्दैछन् । इन्भारो केयर प्रा.लि मार्फत भट्टराईले इटहरीका एक पत्रकार सहित दुई युवालाई जिल्ला अदालतमा गालि बेईजति मुद्धा दायर गरेपछि चर्चामा आए । इटहरीबाट सञ्चालित पहिलो किताबका सञ्चालक पत्रकार चन्द्रमणी कट्टेल र इटहरी ४का दुई युवा सुनिल कार्की र होमनाथ धमलाको नाममा भट्टराईले मुद्धा दायर गरेका छन् । पत्रकार कट्टेलले इन्भारो केयरका विषयमा समाचार लेखेका थिए । बगँैचा टोल विकास संस्थाका अध्यक्ष समेत रहेका युवा सुनिल कार्कीले फोहोर उठाउन लापरवाही गरेको पैसा मात्र उठाएको भन्दै विरोध जनाएका थिए । यता होमनाथले भने फेसबुकबाट इन्भारोको गलत काम भन्दै विरोध जनाउँदै आएका थिए ।
कृष्णले म र मेरो कम्पनीलाई अन्याय गरेको भन्दै गाली बेईजती मुद्धा हालेका छन् । म को हुँ भन्ने नचिनेको भन्दै कृष्णले पत्रकारलाई पनि देखाउँछु भन्दै मुद्धा हालेको बजारमा चर्चा छ । जसलाई पायो त्यसलाई ठोक्दै हिँड्ने पत्रकारलाई पनि सहिबाटो देखाउँछु भन्दै उनी हिड्ने गरेका छन् । माघ महिनामै मुद्धा हालेको भएपनि त्यति चर्चा भएन । असर यतिबेला देखिन थालेको छ । अहिले उनी आफैँ मैले मुद्धा हालेँ अव देखाईदिन्छु भन्दै धेरैलाई फोन र भेटघाट गर्ने गरेको बजारमा चर्चा छ ।
हुन त केही समय अघि पनि कृष्णले इटहरी उपमहानगरपालिकाले इन्भारोलाई घाटा लगाएको भन्दै ८ करोड क्षतिपूर्ति माग गरेका थिए । फोहोर उठाउन छाडेर हड्ताल गरी पासो थापेका थिए । पत्रकार सम्मेलन गर्दै पत्रकारलाई नै समाचार लेखिदिन फोन गर्थे । फोहोर उठाउने जिम्मा पाएको काम राम्ररी नगर्ने तर कुरा ठुला गर्दै कृष्णले सबैलाई थर्काउने र मुद्धा हाल्दै हिड्न थालेका छन् । उपमहानगरपालिकालाई पनि मुद्धा हाल्छु भन्दै पत्रकार सम्मेलन गरेका थिए । तर कमिसनको भित्री कुरा खोलिने डरले उप महानगरपालिकाले पनि त्यति बेला देखि नै मुखमा पानी हालेर बसेको छ । फोहोर नठाउने कम्पनीलाई उपमहानगरपालिका आफैले भने पैसा दिने गरेको छ ।कारबाही गर्नुपर्नेमा पैसा दिएर प्रोत्साहन दिइएको छ । आखिर किन उपमहानगरपालिका फोहोर नउठाउँदा पनि पैसा चाँही दिईरहन्छ ? आशंकाको गन्ध अब बाहिरै दङदङ गनाउँन थालेको छ ।
कम्पनीकै केही शेयरहोल्डर राजनितिक दलका अगुवा रहेको र उनीहरुले नै कृष्णलाई आड दिएको भन्ने पनि बजारमा चर्चा छ । केही व्यापारी, राजनितिक नेताको आड पाएका फोहोरी कम्पनीको अगुवाई गरेका कृष्णले खेल पनि फोहोरी खेल्दैछन् भन्ने चर्चाहरु अहिले भुसको आगो झैँ फैलिरहेको छ । भुसको आगो कमिसनको गन्ध पच्छ्याउँदै अघि बढेको र त्यसले अव कस कसलाई सल्काउने हो त्यो भने हेर्न बाँकी छ । तर फोहोर भित्रको फोहोरी खेलले कृष्ण भट्टराई भने चर्चामा ल्याएको छ ।

श्रीनिवास आचार्य

इटहरीलाई केन्द्रविन्दु बनाएर हिन्दु आन्दोलन चर्काएका सन्त गुरु हुन् श्रीनिवास आचार्य । उनलाई आक्रमक गुरुको रुपमा पनि धेरैले चिन्ने गरेका छन् । हिन्दु धर्मका लागि उनी आक्रमक रुपमा खरो उत्रने गरेका छन् । चैत्र महिना उनी पनि चर्चामा आए । हिन्दु आन्दोलनको अगुवाई गरेका श्रीनिवासलाई अज्ञात समुहले गोली चलाए पछि उनी एकाएक चर्चा र खोजीका पात्र बने । मार्ने उदेश्यले हानेको गोली धन्नले कुममा लागेर उनी बाँच्न सफल भए । उनलाई कसले र के उदेश्यले गोली हान्यो भन्ने यकिन कुरा अझै बाहिर आउन सकेको छैन् । युरोपियन युनियनको ठाडो हस्तक्षेपमा अभिव्यक्तिहरु आईरहेका बेला उनलाई गोली हान्नु धेरैँ आशंकाहरुको पुञ्ज हो । पूर्वमा बढ्दो क्रिश्चियानीटी, जातिय अतिवादी प्रवृत्तिले पनि पूर्वमा सुरक्षा चासोलाई थप आशंकित बनाएको छ ।
इटहरीसँग श्रीनिवासको बेग्लै साईनो गासिएको छ । इटहरीको मुख्य चौकमा उभिएर लाठी खाँदै हिन्दु आन्दोलन चर्काएका थिए उनले । उनलाई गोली हानेपछि फेरी एक पटक सबैको आँखा इटहरी तिर सोझिएको छ । उनलाई गोली हानेको विरोधमा इटहरीमा आन्दोलन पनि भयो । बृन्दाबन गौशालाका सन्त श्री दिनबन्धु शास्त्रीको अगुवाईमा केही दिन र्याली तथा सडक बन्द पनि गरिए । के अव फेरी इटहरीमा हिन्दु आन्दोलन चर्किन्छ भन्ने आशंका मिश्रित चर्चा इटहरीमा व्याप्त भयो ।
इटहरीलाई नै केन्द्र बनाएर क्रिश्चियन समुदायको गतिविधि पनि बढ्दो छ । बाढि प्रभावित र गरिब वस्तीहरुमा क्रिश्चियन सहयोगहरु धेरै पुग्ने गरेको छ । यस्तो अवस्थामा कट्टर हिन्दुवादी सन्त श्रीनिवास आचार्य माथीको गोली प्रहारले धेरै आशंकाहरु उब्जाएका छन् ।गोली काण्डले फेरी एक पटक इटहरीमा श्रीनिवास आचार्य चर्चामा आए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook