गृहपृष्ठ » चर्चाका चार » फागुन महिनाका चर्चितहरु

फागुन महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | १८५ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार, विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
हिजो सानो गाउँपञ्चायत रहेको इटहरी छोटो समयमा नै ठुलो फड्को मारेर अहिले उपमहानगरपालिका बनेको छ । जुन तिव्र गतिमा इटहरी विकास भईरहेको छ । योसँगै यहाँ हुने फरक प्रकृति र विकृतीजन्य गतिविधि पनि उत्तिकै बढि रहेको भान हुन थालेको छ ।ठुल ठुला शहरहरुमा हुने अपराधिक गतिविधि पनि इटहरीमा देखिन थालेको छ । हुन त पछिल्ला महिनाहरुमा इटहरीमा वादविवाद,आन्दोलन,हडताल हुँदै आएका छन् । यो दौरानमा ठुला राम्रा काम जसले इटहरीको नाम स्थापित गराउन पनि सफल भएका छन् ।
फागुन महिनामा पनि यस्तै विभिन्न गतिविधिले चर्चा पाए । विशेष गरी सँधै चर्चामा रहने मेयर द्वारिकलाल चौधरीको डोजर अभियानले निकै राम्रो चर्चा पायो । खोला सफाई र सार्वजनिक जग्गाको खोजी अभियान मेयरको हल्ला, हाँउगुजी मात्र हो,भन्नेहरुलाई राम्रै जवाफ दिएर मेयरले डोजर चलाए । डोजर काण्डले तातिरहेको इटहरीमा सिआईबी काण्डले भने आतंक नै सृजना गरिदियो । गैरवित्तिय कारोबार गरी बैंकिगं कसुर गरेको अभियोगमा इटहरीका ५ जनालाई पक्राउ गरे पछि इटहरीमा आतंक नै सृजना भएको थियो । सिआईबीले पासबुक नै राखेर गैरवित्तिय कारोबार गर्ने सुनपसलेलाई पनि पक्राउ गर्दैछ भन्ने खवरले सनसनी मच्चीए पछि इटहरीका सुनपसलेहरु भागभाग भएका थिए । यो महिना राम्रा काम पनि भए । पूर्वमै पहिलो पटक वृहतस्तरमा क्यान इन्फोटेक इटहरीमा आयोजना गरियो । क्यान सुनसरीको आयोजनामा भएको इन्फोटेकले सुचना प्रविधिको विकासका बारेमा आम सर्वसाधरणलाई देखाईदियो । क्यान इन्फोटेकले पनि राम्रो चर्चा पायो ।यहि महिना सय शैयाको इटहरी अस्पतालको पनि शिलान्यास भयो । मुख्यमन्त्रि शेरधनराईले इटहरी अस्पतालको शिलान्यास गरी आशाको सञ्चार नगरबासीलाई गराईदिए ।
यी र यस्तै गतिविधिहरुले फागुन महिनामा चर्चा पाए ।चर्चामा आएका विषयसँग जोडिएका चर्चीत मध्ये चर्चाका चारलाई यहाँ प्रस्तुत गरिएको छ ।
द्वारिकलाल चौधरी
द्वारिकलाल चौधरी इटहरीमा चासो र चर्चामा आईरहेन व्यक्ति हुन् । इटहरीको मेयर, नगरबासीको प्रत्यक्ष कामसँग जोडिएर मात्रै चर्चामा आउने होइन । उहाँका बोली र एक्सन नै चर्चामा आउने हुन्छन् । फागुन महिना पुनः द्वारिकलाल चर्चामा आए । इटहरीमा डोजर चलाएर उनी चर्चित भए । सार्वजनिक जग्गा खोजी गर्ने र डुवान रोक्न खोला सफाई गर्ने भन्दै आएका मेयरको कुरालाई हल्ला र हाउँगुजीको रुपमा मात्रै मानिसहरुले लिईरहेका थिए । तर मेयरले साँच्चै डोजर चलाएर देखाईदिए । डोजर लिएर आफै खेतीखोला सफाई गर्न गए पछि उनको चर्चाको पारो फेरी एक पटक माथी पुग्यो । खोला मिचेर बनाएका संग्रचना भत्काएपछि उनको पक्ष र विपक्षमा कुराहरु बाहिर आए । एक ठाउँमा मात्र नभएर सवै ठाउँमा भत्काउनुपर्ने, ठुला व्यापारी व्यवसायी र राजनितक दलका भवनहरु पनि भत्काउनुपर्ने मानिसहरुले तर्क गर्न थालेका छन् । डोजर काण्डलाई लिएर केही सञ्चारमाध्यमले पैनी मिचेर बनाएको एमालेको पार्टि कार्यालय अव के हुन्छ भन्दै समाचारबाट प्रश्न उठाए ।
हुन त सञ्चारमाध्यममा आउने आफ्नो बारेका आलोचनात्मक टिप्पणी खप्न नसक्ने मेयर द्वारिकले पछिल्लो समय न्यूजका नयाँ नयाँ स्टनहरु भने दिईरहेका छन् ।डोजर काण्डले चर्चा पाईरहेका बेला द्वारिकले इटहरी डुवान रोक्न भन्दै सेराखोला मै कार्यपालिकाको बैठक बसाएर नयाँ स्टन देखाए । सञ्चार माध्यमले त्यसलाई पनि राम्रै प्रचार गरे । अघिल्लो बर्ष आएको बाढिले हायल कायल भएका इटहरीबासी पुनः यस्तै बाढिको सामना गर्नुपर्ने त हैन भन्ने त्रसित अवस्थामै छन् । बैठक बसाएर काम सुरु गरियो भन्ने सुचना दिने राम्रै तरिका होला । तर यहाँ चर्चा भन्दा काम चाहिएको छ । काम सुरु नगर्दै चर्चा कमाउन खोज्नु भन्दा भोली बर्षाको समयमा इटहरी नडुबेको देखेर नगरबासीले गर्ने चर्चा बढि फलदायी हुनेछ ।जे होस् मेयर द्वारिकलाल चौधरी आफ्नै कार्यशैलीका कारण चर्चामा आईरहन्छन् ।
सुनिल गुरागाई
सुनिल गुरागाँई इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का वडा सचिव हुन् । उनी एका एक सबैको खोजीका पात्र बन्दै, चर्चामा आए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो( सिआईबी) ले अनुमति विना बैंकिगं कारोबार गरेको भन्दै पक्राउ गरे पछि सुनिल चर्चामा आए । प्रहरीले इन्भेष्टमेन्ट कम्पनी खोलेर राष्ट्र बैंकबाट अनुमति नलिई बचत तथा ऋणको कारोबार गरेको अभियोगमा इटहरीमा सुनिलसँगै ५ जनालाई पक्राउ गर्यो । सुनिल मनसुन इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक हुन् । कसैलाई थाहै नदिई एकै पटक सिआईबीले छापा मारेर सञ्चालकलाई पक्राउ गरेपछि इटहरीमा सनसनी मच्चियो । प्रहरीले अन्य इन्भेष्टमेन्ट कम्पनीमा पनि छापा मार्दैछ भन्ने खवर हावा झँै फैलिएपछि इटहरीमा मानिसहरुको भागाभाग चलेको थियो । इटहरी उपमहानगरपालिकाका वडा सचिव नै बैंकिग कसुर गरी पक्राउ परेपछि हंगामा नै मच्चीयो । पक्राउ परेका अन्य भन्दा सुनिल बढि चर्चामा आए । स्थानिय तहको कर्मचारी भएकाले उनको चर्चा बढि भयो । सिआईबी काण्डले इटहरी बजारमा ठुलै हलचल ल्याईदियो । त्यसको असर अझै सम्म कायमै छ । इन्भेष्टमेन्ट कम्पनी जस्तै इटहरीका प्राय सवै(एक दुई छाडेर) सुनपसलले पासबुक राखेर कारोबार गर्दै आएका थिए । उनीहरुलाई पनि सिआईबीले पक्राउ गर्दैछ भन्ने हल्ला चलेपछि सुनपसलेहरुमा पनि भागाभाग मच्चिएको थियो । भित्री रुपमा काँचो सुनको कारोबार गर्ने र बचत कारोबार पनि ठुलो परिमाणमा गर्ने सुन पसललेहरु त इटहरी छाडेर भागेको कतिपय सुनपसललेहरु नै बताउँछन् । सिआईबीको छापा काण्ड पछि अहिले सुन पसलेहरुले सवै पासबुक लुकाएका छन् । अहिले बचत कारोबार पनि गर्न छाडेका छन् । सुन पसल सुनसान झँै भएको छ ।
छोटो समयमा धेरै र सहज तरिकाले पैसा कमाउन मानिसहरु विस्तारै गलत काम गर्न उद्यत हुन थालेका छन् । हिजो अस्ती सम्म देशका ठुला शहरमा हुने यस्ता वित्तिय अपराधका समाचारहरु अचेल आफ्नै शहरमा देखिन थालेको छ । अवैध इन्भेष्टमेन्टमा सिआईबीको छापा काण्डले पनि इटहरीलाई एक पटक तरंगित बनाईदियो ।

नवराज मैनाली
नवराज मैनाली तरहरा निवासी हुन । उनी पनि फागुन महिना खोजी र चर्चाका पात्र बने । सिआईबी काण्डसँगै जोडिएर पक्राउ परेपछि मैनाली चर्चामा आए । उनीसँग जोडिएको कुरा निकै रोचक छ । अवैध इन्भेष्टमेन्ट कम्पनीले पासबुक नै राखेर बचत तथा ऋणको कारोबार गरेको भन्दै सिआईबीले छापा मारेपछि इटहरी तरंगित बनेको थियो । अर्को तर्फ त्यस्तै कारोबार गर्ने प्राय सबै सुनपसल(एक दुई छाडेर )ले पनि प्रहरीको निसानामा पर्ने डरले थुर थुर हुँदै कता भाग्ने हो भन्ने थालेका थिए । प्रहरीले चालाएको यो अभियान मैनालीलाई भने पैसा कमाउने समय लागेछ । होला पनि, सवैको नजर एकै कहाँ हुन्छ र ? कसैले ढुंगा देख्दा कसैले त्यहि ढुंगालाई देउता देख्छन् ।
एक पछि अर्को गर्दै सिआईबीले छापा मार्ने, सुनपसलेहरु त्राहिमाम हुँदै भाग्न खोज्ने र पत्रकारले धमाधम समाचार लेख्ने समयलाई मैनालीले भने पैसा कमाउने दाउ देखेछन् । म सिआईबीलाई चिन्छु, मेरा साथी छन् । पैसा दिए मिलाईदिन्छु भन्दै धम्क्याएर पैसा मागेछन् । पत्रकारसँग पनि मेरो राम्रै उठबस छ । मैले पत्रकार चिनेको छु, समाचार पनि रोक्न लगाईदिन्छु भन्दै मैनालीले सुनव्यवसायीलाई धम्क्याएछन् ।
साहित्यीक कार्यक्रममा हिड्ने, पत्रकारसँगै बसेर चिया खाने, सेल्फी खिचेर फेसबुकमा फोटो हाल्ने मैनालीको डरमा व्यवसायी पनि फसे । पासबुक राखेर अवैध काम गर्ने व्यवसायीलाई सिआईबी र पत्रकारसँग पनि बच्नु जो थियो । सिआईबी र पत्रकारको नाम मैनालीले राम्रैसँग बेचे ।
तर जब उनको पोल खुल्यो, प्रहरीले मैनालीलाई पक्राउ गर्यो । अनि पत्रकारीताकै बदनाम गराउने मैनालीकै फोटो राखेर पत्रकारले ठुलो अक्षरमा समाचार लेखिदिए । मैनालीले आफ्नो खुट्टामा आफँै बन्चरो हाने । चाँडै पैसा कमाउने सुर कसेका मैनाली प्रहरीको खोरमा पसे ।

बलराम भण्डारी 
पूर्वमै पहिलो पटक आयोजना गरिएको वृहत क्यान इन्फोटेक मेलाले बलराम भण्डारीलाई चर्चामा ल्याईदियो । क्यान सुनसरीका अध्यक्ष रहेका भण्डारी इन्फोटेकका कारण चर्चामा आए । काठमाण्डौँमा आयोजना हुने क्यान मेलामा सुचना प्रविधिको बारेमा चासो राख्ने र युवाहरुको विशेष आकर्षण हुने गर्छ । विश्व बजारमा आएका सुचना प्रविधिका आधुनिक प्रविधिकोबारेमा जानकारी लिने यो कार्यक्रमले पनि राम्रै चर्चा पायो । प्रविधि मेलाको अवलोकन गर्नेले क्यान सुनसरीलाई धन्यावाद दिए । क्यान सुनसरीको अध्यक्ष भएको नाताले अध्यक्ष बलराम भण्डारीले पनि त्यसको जस पाए । क्यान मेलामा देशका विभिन्न स्थानबाट प्रविधिको विषयमा काम गर्ने र व्यवसाय गर्नेले स्टल लिएर प्रविधिको प्रर्दशनी गरेका थिए । इन्फोटेकमा राखिएको प्रविधि संग्रालयले भने राम्रै चर्चा पायो । प्रविधि विकासको पहिलो चरण देखी हालको आधुनिक प्रविधि एकै स्थलमा संग्रालय बनाएर राखिएको थियो । प्रविधि मेलालाई विशेष गरी विद्यार्थीले राम्रै उपयोग गरे ।
तर जुन रुपमा क्यान इन्फोटेक मेलाको अवलोकन गर्नेछन् भन्ने अपेक्षा थियो त्यो भने पुरा हुन सकेन । इन्फोटकमा त्यति धेरै अवलोकनकर्ता नै आएनन् । इटहरीमै हुने अन्य मेला महोत्सव र गानाबजानामा मानिसको ठुलो भिड लाग्थ्यो । तरुनी नाचेको हेर्न सवै तँछाड मछाड गर्दै पुग्थे । तर प्रविधिको बारेमा जान्न र बुझ्न मानिसको चासो देखिएन । मेला महोत्सव भनेको खाने र तरुनी नाचेको हेर्ने मात्रै हो सोचले पनि काम गरेको देखियो । अर्को तर्फ क्यान सुनसरीले पनि इन्फोटेकको बारेमा प्रयाप्त प्रचारप्रसार नगरेको पाईयो । क्यान मेला लाग्दैछ भन्ने धेरै मानिसले थाहै नपाई मेला सकियो । तर जे होस् पूर्वमै पहिलो पटक क्यान मेला आयोजना भयो । इटहरीमा चर्चा राम्रै भयो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook